जापानका पूर्वफुटबल खेलाडी ताडा टिपटो स्पोर्टस् हबको उद्घाटनका लागि नेपालमा

शनिबार, ४ असोज, २०८२
डिजिटल संस्करण

जापानका पूर्वफुटबल खेलाडी ताडा टिपटो स्पोर्टस् हबको उद्घाटनका लागि नेपालमा आएका छन्। हबको उद्घाटन सोमबार (घटस्थापना) का दिन हुनेछ। शुक्रबार साँझ त्रिभुवन विमानस्थलमा अवतरण गरेका ताडालाई टिपटो स्पोर्टस् एकेडेमीका सिइओ सुवार न्यौपानले र अध्यक्ष गौरव बस्नेतले स्वागत गरेका थिए। 

सोही अवसरमा ताडाले टिपटो स्पोर्टस् एकेडेमीसँगको सहकार्यका लागि सम्झौता गर्नेछन्। ताडाले हाल थाइल्यान्डमा सिली स्पोर्टस् क्लब सञ्चालन गरिरहेका छन्। गोलकिपर ताडाले जापानको यू–१५ देखि २३ सम्मको राष्ट्रिय टिमको प्रतिनिधत्व गरेका छन्। यसैगरी, उनले जापानी टोलीबाट ओलम्पिकमा पनि सहभागिता जनाइसकेका छन्। 

उनको भ्रमणले नेपाल र अन्तर्राष्ट्रिय एकेडेमीबिच खेलकुद कूटनीतिक सम्बन्ध विस्तार गर्ने लक्ष्य राखेको छ। सम्झौतामा नेपाल र अन्तर्राष्ट्रिय एकेडेमीबिच खेलाडी आदान–प्रदान कार्यक्रम, प्रशिक्षक शिक्षा कार्यक्रममार्फत आधुनिक प्रशिक्षण विधि आदान–प्रदान, एकेडेमी खेलाडीका लागि फुटबल क्लिनिक सञ्चालन, एकेडेमीका लागि  खेल सामग्री तथा आवश्यक सहयोग प्रदान, हरेक वर्ष थाइल्यान्डमा हुने एसियन च्याम्पियनसिपमा सहभागी हुने अवसरलगायतका बुँदा समावेश हुनेछन्।

उनले नेपाल बसाइको क्रममा टिपटो स्पोर्टस् एकेडेमी हब अवलोकन गर्ने, प्रशिक्षण सत्र हेर्ने र खेलाडी तथा प्रशिक्षकसँग प्रत्यक्ष अन्तर्क्रिया गर्ने कार्यक्रम छ। ताडाको आगमनसँगै टिपटपले अन्तर्राष्ट्रिय सञ्जाल विस्तार गर्ने, नेपाली युवा खेलाडीलाई थप अवसर दिलाउने तथा ग्रुरुट फुटबललाई बलियो बनाउने आपेक्षा राखेको छ। गत जनवरीमा टिपटो स्पोर्टस् एकेडेमीले थाइल्यान्डमा भएको एसियन च्याम्पियनसिपको यू–१२ र १४ उमेर समूहमा सहभागिता जनाई फेयर प्ले ट्रफी जितेको थियो।

सुझावित समाचार