जेन–जी आन्दोलनको समाजशास्त्र

शनिबार, ४ असोज, २०८२
डिजिटल संस्करण
  • जेन–जीको विशेषता भनेको कोठाकोठामा सामाजिक सञ्जालको माध्यमबाट समाचार पुर्‍याउने र कोठाकोठाबाट परिवारलाई थाहै नदिई निस्कने हो । यस्तो आन्दोलनलाई राज्यले कम आँक्यो ।

२३ र २४ भदौमा भएको जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या ७३ पुगिसकेको छ । २८ वर्षमुनिका युवाले गरेको यो आन्दोलनको आधार के हो ? किन उनीहरूमा यति धेरै आक्रोश ? यो आन्दोलनबाट नेपाली समाजले के सिक्ने ? भक्तपुर बहुमुखी क्याम्पसमा अध्यापनरत समाजशास्त्री प्रकाश राईसँग शान्ति तामाङले गरेको कुराकानी :

जेन–जी डिजिटल्ली ‘ओभर सोसलाइज्ड’ पुस्ता हो । उनीहरू अन्तरक्रिया, सामाजिकीकरण, सिक्ने प्रक्रियालगायत सामाजिक सञ्जालमा निर्भर छन् । यो पुस्ता पहिलेको पुस्ताभन्दा फरक छ । उसले बोल्ने तरिका र मैले बोल्ने तरिका, उसको लवाइखुवाइ र मेरो लवाइखुवाइ, उसको सोच्ने तरिका र मेरो सोच्ने तरिका, उसको चाहना र मेरो चाहना, उसको अपेक्षा र मेरो अपेक्षा फरक छ । यो जेनेरेसन ग्याप हो । यो जेनेरेसन ग्याप मात्र होइन, बौद्धिक ग्याप पनि हो । उमेर मात्र होइन, सामाजिकीकरणको ग्याप पनि हो । यो पुस्ताले हिजोको पुरातन प्रणालीलाई विश्वास गर्दैन । किनभने, हिजोको प्रणालीले उनीहरूको चाहना, अपेक्षा, जेन–जी अस्तित्व, पहिचानलाई समावेश गर्नै सक्दैन । उनीहरू जे चाहन्छ, अहिलेको पुरातन प्रद्धतिले त्यसलाई वैध मान्दैन । 

यो पुस्ता ‘ग्लोबल भिलेज’मा बाँचेको पुस्ता हो । उसले आफ्नै कोठाबाट, अमेरिका, जापान, बेलायतलगायतको विकास देखेको छ । ती देशका राम्रो कुरा मात्र देखेको छ । तर, डिजिटल्ली मात्र देखेको छ । त्यसपछि उसले ती विकसित देश र नेपालको विकासबिच तुलना गर्छ । विकसित देशमा प्लेन दुर्घटना हुँदा मन्त्रीले नैतिकताको आधारमा राजीनामा दिन्छ । हाम्रोमा मन्त्रीको गाडीले बालिकालाई ठक्कर दिँदा सामान्यीकरण गरिन्छ । त्यस्तो गम्भीर घटनालाई प्रधानमन्त्रीले सामान्य घटना भन्दै सार्वजनिक कार्यक्रममा अभिव्यक्ति दिन्छन् । त्यो ठक्कर खाने बालिकाको अस्तित्व, पहिचानलाई यो पुस्ताले कसरी सोच्ने ? त्यो बालिकाको मनमा कति रिस होला ? त्यो रिस, त्यो बालिकाको एक्लो रिस होइन, त्यस्तै धेरै रिस वर्षौंदेखि थुप्रिदै आएको छ । 

जेन–जीलाई के लागेको छ भने, ‘राज्यको संयन्त्र स्वायत्त, स्वतन्त्र र निर्भीक ढंगले काम गरिरहेको छैन ।’ उनीहरूलाई राज्यको संयन्त्रले आफ्ना अपेक्षालाई समावेश गर्छ भन्नेमा विश्वास पनि छैन । त्यो विश्वास नहुनुको कारण, राज्य संयन्त्र त्यसरी नै विकसित हुँदै गए । ती संयन्त्र अत्यन्तै पार्टीकरण भएको छ । ती संयन्त्रले स्वतन्त्र ढंगले काम गर्न सकेका छैनन् । त्यसैले राज्यका संयन्त्र एकदमै कमजोर भएका छन् । पार्टीको नेताले त्यसलाई आफ्नो संस्थाको रूपमा प्रयोग गर्न खोजिरहेका छन् । हाम्रो सुरक्षा निकाय, कर्मचारीतन्त्र लगायतमा पनि त्यसरी नै चलिरहेको छ । त्यसैले जेन–जीलाई त्यसप्रति विश्वास हरायो । मान्छे निराशा भयो भन्छन्, यो निराशा होइन, आक्रोशित भएका हुन् । हाम्रो जेन–जी एकदमै आक्रोशित छन् । त्यो आक्रोश नेपालको मात्र होइन ।

विश्वभर नै जेन–जी आन्दोलन
सन् २०२० अमेरिकामा अफ्रिकी अमेरिकी समुदायका जर्ज फ्लोयडको प्रहरीले नियन्त्रणमा लिने क्रममा मृत्यु भएपछि अमेरिकालगायत विश्वका विभिन्न स्थानमा रंगभेदविरुद्ध ‘ब्ल्याक लाइभ्स म्याटर’ प्रदर्शन भयो । यस्तो माइक्रो प्रदर्शन पहिलेदेखि नै चलिआएको हो । दक्षिण एसियाकै बंगलादेश, श्रीलंकामा पनि यस्तै स्वरूप देखियो । नेपालमा केही समयअघि ‘ह्यास् ट्याग जस्टिस फर निर्मला’ भन्ने अभियान चल्यो । त्यो अभियान जेन–जी क्याम्पियन थियो । मिटु अभियान पनि जेन–जी क्याम्पियन हो । नेपालमा मात्र होइन, यस्तो क्याम्पियन विश्वभर चल्यो । हाम्रो राज्यले यस्ता माइक्रो प्रदर्शनलाई हलुका रूपमा लिए ।

उनीहरूले माइक्रो प्रदर्शन, डिजिटल प्रदर्शन वा यस्तो प्रदर्शनचाहिँ जीवित रहनका लागि गरेको रणनीति हो भन्ने राज्यले बुझ्दै बुझेन । जेन–जीहरूको सामाजिक सञ्जाललाई प्रयोग गरेर गरिएको प्रदर्शन ‘सरभाइभिङ रणनीति’ हो । जेन–जी भन्ने पहिचान उमेर समूहमा बनेको पहिचान हो । बाँच्नका लागि रणनीति बनाउँदै गर्दा त्यसैलाई सरकारले बन्द गरिदियो । आक्रोश पोख्ने, खुसी व्यक्त गर्ने ठाउँ जब रोकिदियो । यो त जेन–जीको मृत्युबराबर भयो । मृत्यु अगाडि देखेपछि आफ्नो लागि जो पनि भिड्छ । हो, त्यस्तै भयो । 

असमान सामाजिक, राजनीति र आर्थिक संरचना 
यो आन्दोलन नेपालमा मात्र चलेको होइन, नेपालमा रहिरहने आन्दोलन पनि होइन । विश्वभर चल्दै आएको आन्दोलन हो । यो समाजमा सतहमा देखिने आन्दोलन हो । यस्तो जन्माउने भूमि अर्कै छ । यसको भूमि हाम्रो सामाजिक, राजनीति र आर्थिक संरचना हो । हाम्रो आर्थिक संरचनाले समाजमा असमानताको खाडल पुर्न नसकिने गरी बढाएको छ । त्यो खाडल बढेको कारण ‘नेपो बेबी ट्रेन्ड्स’ देखियो । यो आन्दोलनलाई ठुलो पार्न ‘नेपो बेबी ट्रेन्ड्स’ले पनि सहयोग गर्‍यो । आममान्छेको थालमा सीता नहुने, केही मान्छे चाँदीको थालमा खाने, पाँचतारे होटेलमा रमाउने देखेपछि आक्रोश बढ्यो । हाम्रो आर्थिक संरचनाको एउटा रूप बिचौलिया अर्थतन्त्र हो, यसले ‘नेपो बेबी ट्रेन्ड्स’ जन्माउँछ । आममान्छे आर्थिक बहिष्करणमा पर्छ । आमजेन–जीले भविष्य पनि देख्दैन । वर्तमान पनि भताभुंग देख्छ । अनि आन्दोलित हुन्छ ।

जेन–जीमा जतिपटक निर्वाचन भए पनि उही मान्छे आउने हो, यसले कहिले विकास गर्दैन, हाम्रो भविष्य कहिले पनि बनाउँदैन भन्ने गढेको छ । माओवादी आन्दोलनपछिका उनीहरूले नेपालमा मुक्तिको लडाइँको अलि–अलि कथा सुनेको छ । सबैको अधिकार समान हो भन्ने कथा सुनेको छ । त्यो कथा सुनेर हुर्किएको पुस्ताको अहिलेको राजनीतिक प्रणालीले कुनै पनि अपेक्षा पूरा गरेन । हाम्रो राजनीतिलाई निश्चित कुलीन वर्गले कब्जामा राखेको छ । जेन–जी यो सबै देखिरहेको छ । यो त्यसको विरुद्धको आन्दोलन हो । 

हाम्रो सामाजिक सम्बन्ध आजभन्दा २० वर्षअगाडि जस्तो थियो, अहिले पनि त्यस्तै छ । दलित र गैरदलितबिचको सामाजिक सम्बन्धमा कति परिवर्तन भएको छ ? महिला–पुरुषबिचको सामाजिक सम्बन्ध कति फरक भएको छ ? धनी र गरिबबिचको सामाजिक सम्बन्ध कति परिवर्तन भएको छ ? यस्तो किसिमको असमान सम्बन्ध जेन–जी पुस्ता चाहँदैन । अहिलेको आन्दोलन यो किसिमको सामाजिक सम्बन्धविरुद्धको आन्दोलन हो । सामाजिक सञ्जाल बन्द यसको ‘टिगरिङ फ्याक्टर’ भयो ।

नेतृत्वविहीन जेन–जी विशेषता
जेन–जीलाई मसिनो घटनाले छुन्छ र जेन–जी आन्दोलनको एउटा विशेषता भनेकै यो नेतृत्वविहीन हुन्छ । यो भिड हो । मान्छे आफैँ–आफैँ आएका हुन् । पुरातन हिसाबले सोच्नेले मात्र संगठन, पार्टी, नेतृत्वबारे सोच्ने हो । जेन–जीको विशेषता भनेको कोठा–कोठामा सामाजिक सञ्जालको माध्यमबाट समाचार पुर्‍याउने र कोठा–कोठाबाट परिवारलाई थाहै नदिई निस्कने हो । यस्तो आन्दोलनलाई राज्यले कम आँक्यो ।

धिमा गतिमा पुस्तान्तरण भयो । सामाजिक नीति, नियम, सांस्कृतिक नियमको पुस्तान्तरण अपेक्षित भएन । धिमा गतिमा भयो । त्यो रोकिएकोबराबर हो । एक्काइसौँ शताब्दीमा रहेको जेन–जीले उसले देखेको छ, अमेरिकाको तत्कालीन राष्ट्रपति बाराक ओबामाले सत्ता छाडेपछि निजी कम्पनीमै जागिर खाए । बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनकले चर्चित अन्तर्राष्ट्रिय लगानी बैंक गोल्डम्यान स्याक्समा जागिर सुरु गरे । यी सबैलाई देखेको जेन–जीले हाम्रा र ती देशका नेताको तुलना गर्छ । हाम्रोमा पनि हुनुपर्ने यस्तो हो भन्ने खाका बनाउँछ । त्यो अपेक्षा कहीँ पनि मिल्दैन । अनि यस्तो आन्दोलन हुन्छ । विश्वका देश विकासको रफ्तारमा छ । त्यसैले जेन–जीहरूको आन्दोलनले समाज, सामाजिक प्रक्रियालाई युवाको अपेक्षाअनुसार चलाउनुपर्छ भन्ने कुरालाई ध्यान देऊ भनेको छ । हाम्रो राजनीतिक, सामाजिक र आर्थिक प्रक्रियाको गति धिमा भइरहेको छ । यसको रफ्तार बढाउनुपर्छ । करिब ४० प्रतिशत युवापुस्ताको अपेक्षालाई समावेश गर्दै लैजाउनुपर्छ । 

कस्तो हुन्छ जेन–जीको मनोविज्ञान ?

विजय ज्ञवाली, मनोविद् 

जेन–जी आजको विश्वको सबैभन्दा नवीन पुस्ता हो । जो पुस्ता डिजिटल युगमा हुर्किरहेको छ । उनीहरूको व्यवहार, सोचाइ, जीवनशैली र मनोविज्ञान अघिल्ला पुस्ताहरूभन्दा फरक हुन्छ । यो पुस्ता प्रविधिमा मात्र होइन, सामाजिक, भावनात्मक र वैचारिक दृष्टिले पनि भिन्न हुन्छन् । जेन–जी साधनस्रोत सम्पन्न, ऊर्जावान् र प्रविधिमैत्री छन् । मोबाइल, इन्टरनेट, सामाजिक सञ्जालजस्ता एपमा उनीहरूको सहज पहुँच छ । मनोवैज्ञानिक रूपमा उनीहरू संवेदनशील, सामाजिक रूपमा जागरुक, राजनीतिक रूपमा सचेत हुन्छन् । विश्वको राजनीतिक, आर्थिक, सामाजिक, जलवायुजस्ता मुद्दामा उनीहरू सजग छन् । जलवायु परिवर्तनको मुद्दामा जेन–जीहरूले विश्वलाई सचेत गराएको पाइन्छ । समानतामूलक समाजको कल्पना गर्छन् । पुराना मान्यता तथा संरचनालाई भत्काउन चाहन्छन् । सामाजिक सञ्जालमा रमाउने यो पुस्ताको खाना, फेसन र जीवनशैली अघिल्लो पुस्ताभन्दा धेरै भिन्न हुन्छ । उनीहरूका आफ्नै सौख पनि हुन्छन् । घुम्ने, रमाउने, फुर्सद लिएर आराम गर्न चाहन्छन् । उनीहरूको काम गर्न परम्परागत शैलीको कार्यस्थल रुचाउँदैनन् । जेन–जीहरू घर वा कार्यालयबाहिरबाटै काम गर्न रुचाउँछन् ।

फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युबजस्ता प्लाटफर्महरू उनीहरूको दैनिकीको हिस्सा बनेको छ । डिजिटल प्लाटफर्मबाट आफूलाई रचनात्मक र सिर्जनात्मक पनि बनाएका हुन्छन् । उनीहरूलाई पराम्परागत रूपमा काम गरेको मन पर्दैन । उनीहरू फ्रिलान्सिङ, डिजिटल प्लाटफर्म र स्मार्ट वर्कमा विश्वास राख्छन्, जसले उनीहरूलाई स्वतन्त्रता र रचनात्मकता महसुस गराउँछ । यो पुस्ता समाजबाट पनि फरक अपेक्षा गर्छ । यो पुस्ताले ठुलो आशा र आइडिया लिएको हुन्छ । यो पुस्ता महत्वाकांक्षी पनि छ । सामाजिक सञ्जालको धेरै प्रयोगले उनीहरूमा एन्जाइटी (चिन्ता), डिप्रेसन (उदासी) पनि निम्त्याउन सक्छ । उनीहरूमा महत्वाकांक्षा, आशावादी र एन्जाइटी एकैसाथ देखिन्छ । अनिश्चित भविष्यले उनीहरूमा भय सिर्जना गरेको हुन्छ । यो पुस्ताले संसारभर नै पुराना सामाजिक संरचनालाई चुनौती दिएको पाइन्छ । उनीहरू मानसिक स्वास्थ्यप्रति सचेत, खुला र सहयोगी पनि छन् । उनीहरू केवल समस्याको कुरा मात्र गर्दैनन्, समाधान खोज्न पनि सक्रिय देखिन्छन् । योग, मेडिटेसन, थेरापीजस्ता अभ्याससँग उनीहरूमा परिचित छन् । उनीहरू जिज्ञासु हुन्छन् । कहिलेकाहीँ जिज्ञासा रिस, खुसी, ईष्र्याको रूपमा प्रकट हुन सक्छ । मुड अस्थिर हुने हुँदा सही निर्णय लिन नसक्ने, ध्यान केन्द्रित नहुने, सजिलै विश्वास गर्ने आदि व्यवहार देखाउँछन् । मानसिक स्वास्थ्य एकदमै महŒवपूर्ण हुन्छ । उमेर, ज्ञान र भोगाइका कारणले उनीहरूकोे सोच्ने तरिका पनि अघिल्ला पुस्ताभन्दा निकै फरक हुन्छ ।

See More On

सुझावित समाचार