थकान बिर्साउने दुधकुण्ड

शनिबार, ४ असोज, २०८२
डिजिटल संस्करण

मध्य भदौताका पनि नियमितजसो वर्षा भइरहेकै थियो । त्यसले अधिक गर्मी हुने समयमा पनि शीतल अनुभूति भइरहेको थियो । तर, कतिखेर घाम लाग्ने र पानी पर्ने टुंगो थिएन । यो भदौ मासको विशेषता नै भयो । सामान्यतया, वर्षा पूर्ण रूपमा थामिएर आकाश नीलो–सफा नहुँदासम्म अत्यावश्यकबाहेक टाढाको यात्रा नगर्नु भनिन्छ । नियमित र कहिलेकाहीँ हुने अधिक वर्षाले जमिन गल्ने हुँदा बाढीपहिरोको जोखिम हुन्छ नै । तर, यो मौसमका आफ्नै सुन्दरता पनि छन् । 

आकासे वर्षा र धर्तीको मूलबाट पर्याप्त सिँचाइ पाउँदा बोटबिरुवा, वनस्पति हलक्कै हुन्छन् । उजाड जमिन हरियाली हुन जान्छ । वर्षाले हावाको शुद्धीकरण पनि गरिरहेको हुन्छ । पारखीहरूलाई यस्तो मौसम आफैँ पनि उत्सव हो । तुलनात्मक रूपमा जोखिम भए पनि यस्तोमा यात्रा गर्नुको आनन्द पनि उत्तिकै छ । 
यही बर्खे यात्राको अनुभूति सँगाल्ने चाहनाबिच यसपटक हिमाली यात्रामा निस्किएँ । गन्तव्य थियो, सोलुखुम्बुको दुधकुण्ड । 

दुधकुण्डबारे धेरै थाहा थिएन । कुण्डबारे सामान्य जानकारी पाउँदा जाऊँ भन्ने मनमा लागेको थियो । जानेबारे मेसो जुरेपछि गत साता हामी त्यतातिर लागेका थियौँ । तर, जतिखेर दुधकुण्ड जानेबारे योजना तय भयो, काठमाडौंमा दुई दिनदेखि नियमित वर्षा भइरहेको थियो । उपत्यकाबाहिर मधेशबाहेक अन्य प्रदेशमा पनि वर्षा निरन्तरझैँ थियो । नियमित वर्षाले टाढाको यात्रामा निस्किनेबारे केही संकोच भए पनि यात्रा अघि बढाइयो । 

सबै तय भएपछि काठमाडौंबाट बिहानै सोलुखुम्बु जाने गरी तयार भएँ । साढे ५ बजे यात्राका लागि निस्किँदा पानी परिरहेकै थियो । धेरै बाक्लो पानी नपरे पनि रुझाउने खालकै थियो । तर, यात्रा अगाडिदेखि भएरहेको नियमित वर्षाले दुधकुण्ड ‘ट्रेक’ पनि झरीमय हुने संकेत गरिरहेको थियो । त्यसैले झरीमा ओढ्ने प्लास्टिक किनेर कोटेश्वरबाट ओखलढुंगा बजारसम्मका लागि माइक्रोबसमा चढेँ । 

ओखलढुंगामा सबै सहयात्री भेटिएर सोलुखुम्बुको पत्तालेमा वास बसियो । काठमाडौंमा झरीकै बिच अघि बढाएको यात्रा सोलुखुम्बु पुग्दा त झन् भारी वर्षा भइरहेको थियो । भोलिपल्ट सबेरै पत्तालेबाट सल्लेरी अनि फाप्लु हुँदै फेरा, रिङमुबाट अघि बढ्यौँ । यो बिचमा उर्लेको सङ्लो सोलुखोला मनमोहक लाग्थ्यो । खोला–किनारमा झपक्कै फलेका राता घुँगरुको स्वाद लिँदै यात्रामा अघि बढ्यौँ । बिहान करिब १० बजेतिर टाक्सिन्दु–ला पुगियो । यो तीन हजार एक सय मिटर उचाइमा छ । दुधकुण्ड जाने मोटरबाटोको अन्तिम विन्दु हो यो । यसपछि पैदल हिँड्नुपर्छ । 

दुधकुण्डतर्फको पैदल यात्रा 
टाक्सिन्दुमा खाना खाइवरी सबा ११ बजेतिर हामी दुधकुण्डतर्फ अघि बढ्यौँ । टाक्सिन्दुबाट करिब एक घण्टा जंगलको तेर्सो बाटो हिँडेपछि फेरि पानी पर्न सुरु भयो । धन्न सबैले ‘रेनकोट’ बोकिएको थियो र ! घना जंगलका बिच झरीमा यात्रा अघि बढाइयो । केरुङपाटीबाट नाकै ठोकिने ठाडो उकालो लाग्यौँ । सरकारीपाटी हुँदै दिउँसोको ३ बजे कामुडाँडा पुगियो । यो तीन हजार आठ सय ८० मिटरको उचाइमा छ । यहाँबाट सगरमाथा छ्यांगै देखिने भएकाले यसलाई ‘एभरेस्ट भ्यु प्वाइन्ट’ मानिँदोरहेछ । तर, झरी र बाक्लो हुस्सुका कारण हामीले भने केही देख्नै पाएनौँ । त्यहाँ १५ मिनेटपछि आराम गरेर अघि बढियो । अब हामी पुग्नुपर्ने थियो, दुधकुण्ड आधारशिविर । 

कामुडाँडाबाट ओरालो–उकालो गर्दै झ्याम्ले खोला हुँदै सानोबेनी पुगियो । बिचमा गुराँसको बाक्लो जंगल, नागबेली खोला–झरना र घाँसेफूलले यात्रामा मिठास दिइरहेको थियो । सानोबेनी पुग्दा करिब पाँच बजिसकेको थियो, झरी र कुहिरोका बिच अँध्यारो पनि हुँदै गइरहेको थियो । सानोबेनीको अलिसम्म परेको ठाउँमा केही चौँरीगोठ थिए, चौंरीहरू चरिरहेका थिए । त्यहाँबाट सहस्रबेनी पुग्नु थियो । देख्नलाई नजिकै देखिए पनि हिँड्न समय लाग्ने । उचाइको यो विशेषता नै हो कि नजिकै देखिएको उकालो यात्रा गर्न पनि घण्टौँ लाग्छ । झरीले बाटोभरि पानीको भल बगिरहेकै थियो । करिब सबा ६ बजेतिर हामी सहस्रबेनी पुग्यौँ । जहाँ हाम्रा लागि होटेल पहिले नै तय गरिएको थियो । यो करिब तीन हजार आठ सय ५० मिटर उचाइमा छ । 

सहस्रबेनीमा वास बसेपछि भोलिपल्ट हामी दुधकुण्ड पुग्ने गरी हिँड्यौँ । बिहानै साढे ३ बजेदेखि नै दुधकुण्डतर्फ जाने तयारीमा लाग्यौँ । र, चार बजे यात्रा अघि बढायौँ । 

दुधकुण्ड जाने दिन पानी नपरिदिएहुन्थ्यो भन्ने हाम्रो कामना थियो । तर, बिहान ४ बजे तयारी गरेर यात्रा अघि बढाउन लाग्दा त व्यापक पानी परिरहँदा केही निराश भए पनि रेनकोट ओढेर गन्तव्यतर्फ लाग्यौँ । मोबाइलको टर्च बालेर दुधकुण्डतर्फ अघि बढ्यौँ । 

करिब एक घण्टा टर्चको उज्यालोमा हिँड्यौँ । दुधकुण्डबाट बहेर आएको स्फटिकसमान हिमच्छादित खोलाको छङछङ आवाजले यात्रालाई संगीतमय बनायो । खोलाको तिरतिरै ठाडो उकालो हिँड्नुपर्ने थियो । झरी र उकालोका बिच यात्रा कठिन भए पनि भिरमा फुलेका रंगीचंगी घाँसेफुलले मन भुलाइरहेको थियो । पाखाभरि फुलेका रातो, नीलो, सेतो, पहेँलो, गुलाबी, बैजनीलगायत विभिन्न रंगका फूल मनै प्रफुल्ल बनाउने थिए । 

दुधकुण्डको महक
दुधकुण्ड पुग्नुअघि बाटोमै अन्य तीन–चारवटा तालको अवलोकन गर्दै अघि बढ्यौँ । तीन घण्टामा नै दुधकुण्ड पुगियो । चार हजार ६ सय मिटरमा अवस्थित यो ताल यात्राको हाम्रो अन्तिम गन्तव्य थियो । छ्याङ्ग खुलेको कुण्डले यात्राका तमाम थकान बिर्साइदियो । उत्तर र पूर्वका हिमाल र पहाडबाट झरेका हिउँ र पानीले ताल भरिएको छ । हिउँ पग्लेर र मूलबाट आएको शुद्ध दुधझैँ पानी भएरै दुधकुण्ड नामांकन भएको अनुभूति हुन्छ । भलै, यससँग जोडिएका अनेकौँ किंवदन्ती किन नहोऊन् । कुण्डको दक्षिण–पश्चिमतर्फ पनि अरू ताल देखिए । यसले दुधकुण्डवरिपरि झन्डै दर्जनजति कुण्ड देख्न सकिन्छ । 

यात्राभर पानी परिरहे र हुस्सु लागिर पनि कुण्ड पुग्दा भने पानी थामिएर मौसम सफा भयो । घामको न्यायो अनुभूति गर्‍यौँ । यात्रामा निरन्तरको झरी र मौसमी प्रतिकूलताले यस्तो होला भन्ने कल्पनै थिएन । कुण्डमा पुग्दाको मौसमी सुलभताले भाग्यमानी भएको महसुस दिलायो । मौसमी सहजता भएपछि करिब दुई घण्टा हामीले दुधकुण्डमै बितायौँ । 

जनैपूर्णिमामा दुधकुण्डमा विशेष मेला लाग्छ । यो हिन्दु र बौद्धहरूको साझा तीर्थस्थल हो । जनैपूर्णिमामा यहाँ आउने तीर्थयात्रीका लागि स्थानीय तहले नै आवासलगायतको आधारभूत व्यवस्थापन गरिदिनेरहेछ । दुधकुण्ड बढी तीर्थस्थलका रूपमा परिचित स्थल हो । त्यसैले जनैपूर्णिमाबाहेकका अरू समयमा भने त्यति धेरै मानिसको आउजाउ देखिँदैन ।

झरीदेखि झरीसम्मको यात्रा 
हाम्रो दुधकुण्ड यात्रा झन्डै पूरा अवधिभर नै झरीमय भयो । यात्रामा पाइला चाल्दादेखिकै झरी करिब अन्त्यसम्म नै जारी रह्यो । यात्रा अवधिभर रेनकोट खोलेर फुक्काफाल हिँड्ने अवस्था थिएन । पानी र बाक्लो हुस्सुले चिसोपन पनि बढाइरहेको थियो ।

तर, एउटा फाइदा के भयो भने वर्षाले यात्रालाई छोट्याउन भने मद्दत गर्‍यो । परिणामस्वरूप केही कठिनता भए पनि हामी तीन हजार आठ सय ५० मिटरको उचाइबाट चार हजार ६ सय उचाइको दुधकुण्ड पुगिवरि त्यसै दिन तीन हजार एक सय मिटरको टाक्सिन्दु–लामा झर्न सम्भव भयो । चौथो दिन हामीले यात्रालाई बिट मार्‍यौँ ।

घाम लागेको भए सायदै यात्रा यति चाँडो पूरा हुन्थ्यो । वर्षाले सामान्य असहज भए पनि यात्रालाई शीतल बनाइदियो ।

दुधकुण्डको यात्रा बाटोघाटोको हिसाबले सामान्य अवस्थामा धेरै असहज छैन । तर, आवास व्यवस्थापनका लागि त्यति सहज पनि रहेनछ । लामो दूरीका बिचमा ओत लाग्ने सामान्य पाटी पनि देखिँदैन । बिचबिचमा होटेल खुले पनि पर्याप्त छैन । सामान्य पानी पर्दा पनि बगिहाल्ने बाटो र सडकको अवस्था भने सुधार्नुपर्ने देखिन्छ । यसका बाबजुद पनि दुधकुण्डको यात्राले दिव्य अनुभूति दिलायो ।

सुझावित समाचार