कैलाली प्रशासनमा जले दुई लाख थान राष्ट्रिय परिचय पत्र

सोमबार, ३० भदौ, २०८२
डिजिटल संस्करण

जेनजी आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालय कैलालीमा आगजनी गरिँदा करिब दुई लाख थान राष्ट्रिय परिचय पत्र जलेर नष्ट भएका छन् । प्रशासकीय अधिकृत शिवराज जोशीले केन्द्रबाट छापिएर आएका करिब दुई लाख थान राष्ट्रिय परिचय पत्र र करिब पाँच हजार थान राहदानी जलेर नष्ट भएका जानकारी दिए । 

जोशीका अनुसार स्थानीय तह तथा वडा कार्यालयहरूबाट वितरण गर्नुपर्ने एक लाख ६० हजार थान तथा जिल्ला प्रशासनबाट वितरण गर्नुपर्ने करिब ४० हजार थान राष्ट्रिय परिचय पत्र जलेका हुन् । राष्ट्रिय परिचय पत्रका लागि यसअघि वडा कार्यालयहरूबाट पनि नागरिकको विवरण संकलन गरिएको थियो ।

आगजनीबाट जिल्ला प्रशासन कार्यालयको पुरानो र नयाँ दुवै भवन जलेका छन् । राष्ट्रिय परिचय पत्रसम्बन्धी र राहदानीसम्बन्धी सबै तथ्यांक र प्रणाली जलेर नष्ट भएपछि यी सेवा अहिले पूर्ण रूपमा अवरुद छन् । राष्ट्रिय परिचय पत्र सेवा सञ्चालनमा रहेको पुरानो भवन आगजनीबाट पूर्ण रूपमा ध्वस्त भएको छ । नयाँ भवनमा पनि ठुलो क्षति पुगेको छ

प्रशासनमा रहेका महत्वपूर्ण अभिलेख र कागजातहरू सदाका लागि नष्ट भएका प्रशासकीय अधिकृत जोशीले जानकारी दिए । त्यस्तै कम्प्युटर, प्रिन्टरलगायतका सामान पनि जलेर नष्ट भएका छन्। प्रशासनले विभिन्न निकायले सहयोगस्वरूप दिएको  कम्प्युटर र प्रिन्टरको सहायताले नागरिकता सेवा आइतबारबाट सुरु गरेको छ । तर राष्ट्रिय परिचय पत्र, राहदानीलगायत सेवा भने तत्काल सुरु गर्न सकिने अवस्था नरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जिल्लाका अधिकांश सरकारी कार्यालयमा आगजनी भएको बताए । उनले सामाजिक संघसंस्था र नागरिकसँग मिलेर सेवा प्रवाह सुचारु बनाउने प्रयास भइरहेको बताए । जिल्लाभरि सरकारी कार्यालय, पार्टी कार्यालय र व्यक्तिका घरसमेत गरी एक सय ३७ वटा भवनमा आगजनी भएको प्रारम्भिक विवरण आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
 

सुझावित समाचार