निजी क्षेत्रमाथि भएको ध्वंसात्मक गतिविधिले लगानीकर्ता त्रसित : निर्माण व्यवसायी

आगजनी तथा लुटपाटमा संलग्नलाई तत्काल कारबाही गर्नुपर्ने, निर्माणाधीन संरचनामा भएको क्षतिको सम्बन्धित कम्पनीलाई सम्झौताबमोजिम राहत तथा सुविधा दिनुपर्ने महासंघको माग

सोमबार, ३० भदौ, २०८२
डिजिटल संस्करण

 नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान)ले उद्योग–व्यवसायमाथि भएको ध्वंसात्मक गतिविधिले सिंगो निजी क्षेत्र नै त्रसित भएको बताएको छ । जेन–जी आन्दोलनका क्रममा निजी क्षेत्रको मनोबल गिर्ने गरी र राष्ट्रिय अर्थतन्त्रमा दीर्घकालीन रूपमा गम्भीर असर पर्ने गरी गरिएका त्यस्ता क्रियाकलापप्रति महासंघले भत्र्सना गरेको छ । यस्ता गतिविधिले नेपालको पूर्वाधारलगायतका क्षेत्रमा लगानी गरेका स्वदेश तथा विदेशका तमाम उद्योगी–व्यवसायीसहितको निजी क्षेत्र त्रसित रहेको महासंघको निचोड छ ।

‘आन्दोलनका क्रममा जेन्जी पुस्ताको मागविपरीत सार्वजनिक तथा निजी सम्पत्तिसहित ऐतिहासिक धरोहरहरूमा भएको व्यापक आक्रमण, आगजनी, तोडफोड तथा लुटपाटका घटनाबाट महासंघ अत्यन्त दुःखी एवं मर्माहत भएको छ,’ महासंघको विज्ञप्तिमा उल्लेख छ । आक्रमण, आगजनी, तोडफोड तथा लुटपाटमा संलग्नलाई तत्काल कानुनअनुसार कारबाही गर्नुपर्ने बताउँदै महासंघले आन्दोलनका क्रममा निर्माणाधीन संरचनामा भएको क्षतिको सम्बन्धित निर्माण कम्पनीलाई सम्झौताबमोजिम राहत तथा सुविधा दिन पनि आग्रह गरेको छ । साथै, अहिलेको विषम परिस्थितिमा निजी क्षेत्रलाई सुरक्षित वातावरणमा व्यवसाय सञ्चालन गर्न दिनु राज्यको पहिलो दायित्व भएकाले त्यसतर्फ पहलकदमी लिन भनिएको छ । 

साथसाथै महासंघले पूर्वाधार विकास तथा पुनर्निर्माण कार्यलाई सहज हुने गरी नीतिगत व्यवस्था गरी यस्ता कार्यलाई तीव्रता दिन जवाफदेहितासहितका व्यावहारिक ऐन–कानुन एवं नीतिगत व्यवस्था कार्यान्वयनमा ल्याउनुपर्ने महासंघको माग छ । ‘पुँजीगत खर्चमा वृद्धि गरी अर्थतन्त्र चलायमान बनाउन र संकटग्रस्त अवस्थामा रहेको निर्माण उद्योगसहित सिङ्गो निजी क्षेत्रको मनोबल नगिर्ने गरी आर्थिक स्थायित्वलाई उच्च प्राथमिकतामा राखी अविलम्ब ठोस आर्थिक रणनीतिसहित अघि बढ्न महासंघ सरकारसमक्ष अपिल गर्दछ,’ विज्ञप्तिमा भनिएको छ । राष्ट्रले भोगिरहेको यस अकल्पनीय क्षतिपश्चात्को पुनर्निर्माणमा सहयोग गर्न अझ प्रतिबद्ध भएर लाग्ने पनि महासंघको भनाइ छ । 

सुझावित समाचार