मजदुरीमा भारत गएकी आमाले मध्यरातमा सुन्नुपर्‍यो छोराको मृत्युको खबर

शनिबार, २८ भदौ, २०८२
डिजिटल संस्करण

बझाङको खप्तडछान्ना गाउँपालिका– ७, गोर्खालीकी ४५ वर्षीया कैनीदेवी बोहरा पाँच महिनाअघि परिवारलाई सहारा दिन भारतको बेंग्लोर मजदुरी गर्न गएकी थिइन् । तर, जुन छोराको भविष्य बनाउन देश छोडेकी थिइन्, त्यही छोराको मृत्युको खबर रातको अन्धकारसँगै पाइन् ।

गाईवस्तु छिमेकीको जिम्मा लगाएर आफन्तका साथ भारतको बेंग्लोर हिँडेको पाँच महिना पूरा नहुँदै उनको परिवारमा बज्रपात पर्यो । कैनीदेवी जुन छोराको भविष्यका लागि मजदुरी गर्न भारत पसेकी थिइन्, गत सोमबार राति अबेर उनकै मृत्युको खबर सुनियो । भाइसहित काठमाडौंमा बस्दै आएका जेठो छोरा सुवासको प्रहरीको गोली लागेर मृत्यु भएको थियो । घरको जेठो छोरा सुवासले १२ कक्षा उत्तीर्ण गरेका थिए । उनी जापान गएर अध्ययन गर्ने तथा आमा र भाइलाई सुख दिने बताउँदै ६ महिनाअघि काठमाडौं आएका थिए । सोमबार उनको गोली लागेर मृत्यु भएपछि परिवारको मुख्य आधार नै भाँचिएको आफन्त गगन रावतले बताए ।

भारतमा मजदुरी गरेर पढाइ खर्च जुटाउँदै आएकी आमाले जहाजको टिकट काट्नै हम्मे परेको थियो । जसोतसो उनी बिहीबार बिहान काठमाडौं आइपुगेपछि र शुक्रबार साँझतिर पशुपति आर्यघाटमा छोराको अन्त्येष्टि गरिएको छिमेकी रावतले बताए ।

६ महिनादेखि भाइ सन्दीपसहित सुवास बोहरा काठमाडौंमा बसिरहेका थिए । मृतक बोहराका दुई अंकल र ठुलोबुवा सबै अलग–अलग बस्छन् । उनका बुवा भने ६ महिनाअघिदेखि सम्पर्कविहीन छन् । बोहरा परिवारको गाउँमा एउटा खरले छाएको घर छ । अर्काे टिनले छाएको अलि ठुलो आकारको घर छ । तर, दुवै घरमा ताला छ । 

See More On

सुझावित समाचार