दोस्रो एभरेस्ट महिला भलिबल लिग: घरेलु टोली पोखराको खराब प्रदर्शन

लुम्बिनीले लिगमा लगातार तेस्रो जित निकाल्दा पोखराले भने तीनवटै खेल गुमायो

सोमबार, २३ भदौ, २०८२
डिजिटल संस्करण

साबिक उपविजेता ललितपुर क्विन्सले दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिगमा तेस्रो जित निकालेको छ । घरेलु टोली पोखरा निन्जाजले भने लगातार तेस्रो खेलमा हारको सामना गरेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आइतबार भएको पहिलो खेलमा काठमाडौं स्पाइकर्सले मधेश युनाइटेडलाई ३–१ को सेटले हराउँदै पहिलो जित निकाल्यो । दुई खेल खेलेको काठमाडौंले यसअघिको खेल गुमाएको थियो । 

काठमाडौंले पहिलो सेट २६–२४ ले आफ्नो पक्षमा पारेको थियो । तर, दोस्रो सेटमा काठमाडौं २३–२५ ले पराजित भयो । १–१ को बराबरी अवस्थामा काठमाडौंले उत्कृष्ट पुनरागमन गर्दै त्यसपछिका दुई सेट आफ्नो पक्षमा पार्यो । काठमाडौंले तेस्रो सेट २५–२३ र चौथो सेट २५–१९ ले जितेको थियो । लिगमा तीन खेल खेलेको मधेशले एकमा जित र दुईमा हारको सामना गरेको छ । 

दोस्रो खेलमा लुम्बिनी लाभाजले पोखरालाई ३–२ को सेटले पराजित ग¥यो । पहिलो सेटमा पोखरा २५–१३ ले पछि परेको थियो । त्यसपछिका दुई सेट २३–२५ र १०–२५ ले पोखराले आफ्नो पक्षमा पारेको थियो । एक सेटले अग्रता लिएको पोखराले आफ्नो अग्रता रक्षा गर्न सकेन । त्यसपछिका दुई सेटमा पराजित हुँदा लिगमा तेस्रो हारको सामना गर्न पुग्यो । 

लुम्बिनीले पोखराविरुद्ध चौथो सेट २६–२८ र पाँचौँ सेट १०–१५ ले आफ्नो पक्षमा पार्दै लिगमा अपराजित यात्रा जारी राख्यो । लुम्बिनीको लिगमा लगातार तेस्रो जित हो । प्रतियोगिताअन्तर्गत सोमबार पहिलो खेल कर्णाली र काठमाडौंबिच हुनेछ । ललितपुरले दोस्रो खेलमा लुम्बिनीको सामना गर्नेछ । 

सुझावित समाचार