पूर्वभन्सारप्रमुखले भ्रष्टाचारबाट आर्जन गरेको कोटेश्वरस्थित दुई रोपनी जग्गा जफत

शुक्रबार, २० भदौ, २०८२
डिजिटल संस्करण
पूर्वभन्सारप्रमुखले भ्रष्टाचारबाट आर्जन गरेको कोटेश्वरस्थित दुई रोपनी जग्गा जफत

जग्गा अनुगमनको क्रममा कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागका कर्मचारी

मेची भन्सार कार्यालयका पूर्वप्रमुख केशरजंग खड्काको काठमाडौंको कोटेश्वरमा रहेको दुई रोपनी तीन आना दुई पैसा दुई दाम जग्गा जफत भएको छ । गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी फैसला कार्यान्वयनको क्रममा उनको जग्गा जफत भएको हो । 

भ्रष्टाचारबाट आर्जन गरेको ठहर गर्दै १३ वर्षअघि नै सर्वाेच्च अदालतले उनको सो जग्गा जफतका गर्ने फैसला गरेको थियो । कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले सो जग्गा आफ्नो नाममा ल्याएर हालै खाली गराएर संरक्षण गरेको हो । विभागका प्रवक्ता विश्वमित्र कुइँकेलका अनुसार १७ भदौमा सो जग्गामा अनुगमन गरी विभागको बोर्डसमेत राखिएको छ । ‘अदालतबाट भएको फैसला कार्यान्वयनको क्रममा सो जग्गा हाम्रो नाममा ल्याइएको हो,’ उनले भने । 

०५९ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खड्काविरुद्ध मुद्दा दायर गरेको थियो ।  विशेष अदालतले उनलाई एक वर्ष कैद र २५ लाख ३३ हजार ९१२ रुपैयाँ जरिवाना तोकेको थियो । १३ असार ०६९ मा सर्वाेच्चले  कैद घटाउँदै जरिवाना बढाएको थियो । उनलाई नौ महिना कैद सजाय गर्दै त्यतिवेलाको सरकारी मूल्यांकनअनुसारको ३२ लाख ४० हजार रुपैयाँबराबरको सम्पत्ति जफत र सोबराबर जरिवानाको फैसला भएको थियो । त्यस्तै, उनको महोत्तरीको बहादुरगन्जस्थित दुई कठ्ठा १० धुर जग्गा पनि जफतको फैसला भए पनि कार्यान्वयन हुन सकेको छैन । 

भ्रष्टाचारलगायत मुद्दामा जफत गर्न भनेर अदालतले गरेका दर्जनौँ फैसला कार्यान्वयन हुन सकेको छैन । पूर्वमन्त्री खुमबहादुर खड्कालगायतको जग्गा दबाबको भरमा जफतको निर्णय रोकिँदै आएको छ । जफत गर्ने निर्णय भएका अन्य केही घरजग्गाको पनि खाली गराउने कामसमेत भएको छैन । 
 

सुझावित समाचार