लुम्बिनी करिडोरका उद्योग स्थानान्तरणमा सहजीकरण गर्न सरकारलाई आग्रह

बुधबार, १८ भदौ, २०८२
डिजिटल संस्करण

लुम्बिनी कोरिडोरमा रहेका उद्योगलाई स्थानान्तरण गर्नुपर्ने सर्वोच्च अदालतको आदेशप्रति बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले धारणा सार्वजनिक गरेको छ ।

११ भदौ ०८२ मा अदालतले दिएको आदेशअनुसार तोकिएको क्षेत्रभित्र रहेका उद्योगलाई दुई वर्षभित्र स्थानान्तरण गर्ने वा पूर्णरूपमा बन्द गर्ने अवस्था आएपछि संघका अध्यक्ष हरिप्रसाद अर्यालले बुधबार विज्ञप्ती जारी गर्दै सरकारलाई समन्वय र सहजीकरण गर्न आग्रह गरेका हुन् । 

जारी गरेको विज्ञप्तिमा २०३२ सालपछि देशमा नयाँ औद्योगिक क्षेत्र स्थापना र सञ्चालन हुन नसकेको अवस्थामा निजी लगानीकर्ताले अरबौँ रुपैयाँ खर्च गरेर पुर्वाधार निर्माण गरी सञ्चालनमा ल्याएका उद्योगलाई उचित विकल्प नदिई स्थानान्तरण गर्नुपर्ने अवस्था चुनौतीपूर्ण रहेको उल्लेख छ । विज्ञप्तिमा विश्व सम्पदा सूचीमा रहेको लुम्बिनी र वरिपरिको वातावरणीय मापदण्डलाई ध्यानमा राख्दै आवश्यक उद्योगलाई स्थानान्तरण गर्नुपर्ने भए पनि सरकारले वैकल्पिक रुपमा पुर्वाधारसहितको औद्योगिक क्षेत्र उपलब्ध गराउनु पर्ने माग गरिएको छ ।

संघले रुपन्देहीको तिनाउ नदी उकास क्षेत्रमा निर्माणाधीन मोतिपुर औद्योगिक क्षेत्रलाई द्रुतगतिमा सम्पन्न गरी त्यहाँ जग्गा सुनिश्चित गर्ने र उद्योग स्थानान्तरणमा लाग्ने खर्चसमेत सरकारकै व्यवस्थापनमा उपलब्ध गराउनुपर्नेमा जोड दिएको छ । संघले उद्योगमा भएको लगानी सुरक्षित गर्न सकिने अवस्था सिर्जना भए मात्र आयात प्रतिस्थापन, निर्यात प्रवद्र्धन र समृद्धिको यात्रा अगाडि बढ्ने विश्वास व्यक्त गरेको छ ।

सुझावित समाचार