केन्द्रीय कमिटी छल्दै एमालेको विधान महाधिवेशन

सचिवालय बैठक मात्र आह्वान, फरक मत राख्न दिइने

मंगलबार, १७ भदौ, २०८२
डिजिटल संस्करण

एमालेको संस्थापन पक्षले पार्टी पंक्तिको सुझावसहितको अन्तिम प्रतिवेदनहरू केन्द्रीय कमिटीमा छलफलै नगराई केन्द्रीय सचिवालय हुँदै विधान महाधिवेशन हलमा लैजाने भएको छ । केन्द्रीय कमिटीमा मत विभाजन हुन नदिने रणनीतिअनुसार संस्थापन पक्षले काम गरिरहेको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पक्षधर नेताहरूको भनाइ छ । 

१३ भदौमा बोलाइएको केन्द्रीय कमिटी बैठक स्थगित गरेको एमालेले अब १९ भदौमा केन्द्रीय सचिवालयको मात्र बैठक बोलाएको छ । एमालेको विधान महाधिवेशन २० देखि २२ भदौमा ललितपुरको गोदावरीमा हुँदै छ । विधान महाधिवेशनअघि केन्द्रीय कमिटी बैठक नबस्ने भएपछि प्रतिवेदनहरू सचिवालय हुँदै महाधिवेशन हलमा पुग्ने निश्चित भएको हो । 

स्थायी समिति सदस्य तथा प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले विधान महाधिवेशनमा प्रस्तुत हुने अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान मस्यौदा प्रतिवेदन र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रस्तावमाथि छलफल गर्न सचिवालय बैठक बोलाइएको छ । विद्याको सदस्यता नवीकरण गर्ने निर्णय नसच्याए फरक मत राख्ने उनी पक्षधर नेताहरूको तयारी छ । 

पूर्वराष्ट्रपति विद्याको सदस्यता नवीकरण रोक्ने केन्द्रीय कमिटीको निर्णयविरुद्ध वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीलगायतले फरक मत लैजाने गृहकार्य गरिरहेका छन् । केन्द्रीय कमिटी बैठक बोलाउँदै त्यस विषयमा मत विभाजन हुने गरी छलफल हुने र त्यसबाट महाधिवेशनका प्रतिनिधि धेरै प्रभावित हुन सक्ने सम्भावना बढेपछि संस्थापनले सचिवालय बैठक मात्र राख्ने रणनीति अख्तियार गरेको हो । 

प्रधानमन्त्री ओली पाँचदिने भ्रमण टुंग्याएर चीन भ्रमणबाट बुधबार स्वदेश फर्किँदै छन् । उनी फर्किएको भोलिपल्ट दिउँसो ३ बजे बस्ने गरी सचिवालय बैठक बोलाइएको छ । स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख गौतमले पार्टीमा फरक मत आउँछ भनेर केन्द्रीय कमिटी बैठक छलिएको आरोप गलत भएको बताए । ‘खासमा अध्यक्ष चीन भ्रमणमा जानुभएको र समय अभाव भएकाले गर्दा केन्द्रीय कमिटी बैठक नराखिएको हो । प्रतिवेदनमाथि २६४ जना केन्द्रीय सदस्यले धारणा राखिसक्नुभएकै छ,’ गौतमले भने, ‘त्यसैले केन्द्रीय कमिटी कसरी छलेको हुन्छ ? ’

फरक मतलाई केन्द्रीय सचिवालय बैठक र महाधिवेशन हलमा राख्न दिइने गौतमको भनाइ छ । ‘प्रतिनिधिलाई फरक मत राख्ने मात्र होइन, मतदानमा भाग लिने मताधिकारसमेत छ,’ गौतमले भने ।
 

सुझावित समाचार