- एएफसीले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता गर्न अयोग्य भनेको दशरथ रंगशालामै २१ र २४ भदौमा फिफाको आधिकारिक नेपाल–बंगलादेशबिचको मैत्रीपूर्ण खेल हुँदै
एसियन फुटबल महासंघ (एएफसी)ले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न अयोग्य भनेको दशरथ रंगशालामै २१ र २४ भदौमा फिफाको आधिकारिक खेल हुँदै छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल–बंगलादेशबिचको दुई मैत्रीपूर्ण खेलको आयोजना गर्दै छ ।
गत साता एएफसीले मापदण्ड नपुगेको भन्दै दशरथ रंगशालामा प्रतियोगिता गर्न नमिल्ने एन्फालाई बताएको थियो । एएफसीले आवश्यक सबै मापदण्ड पूरा गरेको अवस्थामा मात्र दशरथ रंगशालामा आफ्नो प्रतियोगिता आयोजना गर्न दिने भनेको छ । मापदण्ड पूरा नहुँदा एएफसीले यसै वर्ष हुने मलेसिया र भियतनामविरुद्धको खेल गर्न नमिल्ने निर्णय गरेको हो । ‘रंगशालामा सिट नम्बर व्यवस्थित नभएको, दर्शक, भिआइपी, मिडिया प्रवेश गर्ने एउटै गेट रहेको छ,’ एएफसीको भनाइ छ, ‘रंगशालाको फ्लडलाइट र मैदानको सतहसमेत नमिलेको, डे«नेज पनि ठिक छैन । यसैकारण दशरथ रंगशालामा अन्तर्राष्ट्रिय खेल आयोजना गर्न मिल्दैन ।’
एन्फाले नेपाल र बंगलादेशबिचको फिफा विन्डोमा हुने खेलअघिको प्रशिक्षण भद्रकालीस्थित नेपाली सेनाको मैदान र च्यासलमा रहेको च्यासल रंगशालामा प्रबन्ध मिलाएको छ । नेपालविरुद्ध खेल्ने बंगलादेशी टोली बुधबार काठमाडौं आइपुग्नेछ । यद्यपि, एएफसीले यी दुवै मैदानमा पनि अभ्यास गर्न नमिल्ने बताएको छ ।
एसियन कप छनोटको तयारी
नेपालले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेललाई एएफसी एसियन कप छनोटको तयारीका रूपमा लिएको छ । एसियन कप छनोटमा नेपाल समूह ‘एफ’मा छ । समूहमा नेपालसँगै मलेसिया, लाओस र भियतनाम छन् । नेपालले अहिलेसम्म समूह चरणमा खेलेका दुईवटै खेल गुमाएको छ । नेपाल आफ्नो समूहमा अंकविहीन छ । नेपालले पहिलो खेल मलेसिया र दोस्रो खेल लाओसविरूद्ध हारको सामना गरेको थियो । इतिहासमै पहिलोपटक नेपाल लाओससँग पराजित भएको थियो ।
नेपालले २३ असोजमा भियतनामसँग उसैको मैदानमा खेल्ने तालिका छ । यसैबिच मुख्य प्रशिक्षक म्याट रोसले किरणको कप्तानीमा नेपाली टोली घोषणा गरेका छन् । पछिल्लो फिफा वरीयतामा नेपाल १७६औँ स्थान र बंगलादेश १८४औँ स्थानमा छ । यस मैत्रीपूर्ण खेलले फिफा वरीयतामा समेत प्रभाव पार्नेछ ।
एन्फा आफैँले टिकट बेच्ने
नेपाली राष्ट्रिय पुरुष फुटबल टोली र बंगलादेशबिचको दुई मैत्रीपूर्ण खेलको टिकट एन्फा आफैँले बेच्ने भएको छ । एन्फाले पहिलो टिकट बिक्री टेन्डरमार्फत गरेको थियो । पछिल्लोपटक अन्तर्राष्ट्रिय खेल हुँदा टिकट बिक्री गरेको कम्पनीले व्यवस्थित बनाउन सकेन । कम्पनीको क्षमतामाथि प्रश्न उठेपछि एन्फा आफैँले यसपटक टिकट बिक्री गर्न लागेको प्रवक्ता सुरेश शाहले बताए ।
‘हामीले यसअघि अरूलाई बिक्रीको जिम्मेवारी दिएका थियौँ, तर क्षमताभन्दा बढी टिकट बिक्री गर्नेलगायतका विषय आउन थालेपछि योपटक एन्फा आफ्नै स्रोतसाधन प्रयोग गरी टिकट बिक्री गर्ने पक्षमा पुगेको हो,’ उनले भने । प्रवक्ता शाहका अनुसार भिआइपीतर्फ एक हजार र सामान्य पारापिटतर्फ ५ सय रूपैयाँ राखिएको छ । एन्फाले टिकट बिक्री फिजिकल र अनलाइनमध्ये कुन तरिकाले बिक्री गर्ने भन्ने विषयमा निर्णय गरेको छैन ।
मैत्रीपूर्ण खेलका लागि एन्फाले आठ हजार दुई सय टिकट बिक्री गर्ने छ । जसमध्ये १२ सयसम्म भिआइपी प्यारापिटका छन् । मैत्रीपूर्ण खेल आयोजना गर्न एन्फाले एक करोड २७ लाख ५८ हजार १६८ रुपैयाँ बजेट छुट्याएको छ ।
प्रशिक्षणमा फर्किए किरण
नेपाली राष्ट्रिय टोलीका कप्तान तथा गोलरक्षक किरणकुमार चेम्जोङ प्रशिक्षणमा फर्किएका छन् । यसअघि किरण बंगलादेशको लिगमा आबद्ध थिए । उनी प्रिसिजनका खेल खेलेर फर्किएका हुन् । ३५ वर्षीय किरण हालै मात्र बंगलादेशको पुलिस क्लबमा अनुबन्ध भएका थिए । यो उनको चौथो विदेशी क्लब होे ।
किरणले यसअघि माल्दिभ्सको ट्रस्ट एन्ड केयर स्पोर्टस् क्लब, भारतको मिनर्भा पन्जाब र माल्दिभ्सको माजिया क्लबबाट खेलिसकेका छन् । सन् २००७ देखि उनी नेपाली राष्ट्रिय टोलीकै पहिलो रोजाइका गोलरक्षकका रूपमा छन् ।
नेपाली टोली
किरण चेम्जोङ (कप्तान), दीप कार्की, टिकेन्द्र थापा, अभिषेक लिम्बू, आदित्य शाक्य, अमित लामा, अनन्त तामाङ, अन्जन विष्ट, अरिक विष्ट, दिनेश हेन्जन, जिलेस्पीजंग कार्की, कुशल देउवा, लकेन लिम्बू, मणि कुमार लामा, मनीष डाँगी, रन्दीप पौडेल, रोहन कार्की, रोहित चन्द, समीर तामाङ, सृजन राज, सुभाष ठकुरी बम, सुमन श्रेष्ठ र योगेश गुरुङ ।