१० वाणिज्य बैंकको सम्पत्ति गुणस्तर परीक्षणको जिम्मा बंगलादेशी कम्पनीलाई

हौलादार युनुस एन्ड कम्पनीले पाँच महिनाभित्र नेपालका १० वाणिज्य बैंकको विस्तृत सम्पत्ति गुणस्तर परीक्षण गर्नेछ नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूको ऋण पोर्टफोलियोको अवस्थाबारे समग्र मूल्यांकन गर्ने लक्ष्य राखेको छ

सोमबार, १६ भदौ, २०८२
डिजिटल संस्करण

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूको सम्पत्ति गुणस्तर परीक्षण गर्ने जिम्मेवारी बंगलादेशको ढाकास्थित हौलादार युनुस एन्ड कम्पनी नामक चार्टर्ड एकाउन्टेन्ट्सलाई दिएको छ । उक्त कम्पनीले नेपालका १० वाणिज्य बैंकको सम्पत्तिको विस्तृत गुणस्तर परीक्षण गर्नेछ । 

राष्ट्र बैंकले गत वर्ष ५ मंसिरमा वेबसाइटमार्फत आशयपत्र आह्वान गरेको थियो । आशयपत्रमा सहभागीमध्येबाट मूल्यांकनमा ७१.३४ अंक प्राप्त गर्दै हौलादार युनुस एन्ड कम्पनीले बैंकहरूको सम्पत्ति गुणस्तर परीक्षण गर्ने जिम्मेवारी पाएको हो । राष्ट्र बैंकले उक्त कम्पनीलाई आइतबार इओआई दिएको हो । सम्झौताअनुसार कम्पनीले पाँच महिनाभित्र नेपालका १० वाणिज्य बैंकहरूको विस्तृत सम्पत्ति गुणस्तर परीक्षण गर्नेछ । यसका लागि कम्पनीलाई भ्याटबाहेक ६२ लाख ५४ हजार नौ सय १२ रुपैयाँ ५० पैसा र अमेरिकी डलर दुई लाख ७१ हजार ६७०.०५ उपलब्ध गराइनेछ । 

नेपाल राष्ट्र बैंकले यस अध्ययनमार्फत वाणिज्य बैंकहरूको ऋण पोर्टफोलियोको अवस्थाबारे समग्र मूल्यांकन गर्ने लक्ष्य राखेको छ । वित्तीय विवरणका आधारमा हुने यो समीक्षाका लागि बैंकहरूले सन् २०२४ को जुलाई १५ सम्मको लेखा परीक्षण प्रतिवेदन, सन् २०२५ को १५ अप्रिलसम्मको वित्तीय प्रतिवेदन, आफ्ना नीति तथा कार्यविधि पेस गर्नुपर्नेछ । त्यसैगरी बाँकी बुझाइएका ऋण, असुल नहुने ऋण, पुनर्संरचना वा पुनर्तालिकीकरण गरिएका ऋण तथा ती ऋणहरूसम्बन्धी प्रावधानको विवरण, कर्जा असुलीको विवरण पनि उपलब्ध गराउनुपर्ने कार्यसर्तमा उल्लेख छ ।

यसबाहेक बैंकहरूले ऋणसम्बन्धी फाइलहरू र धितो सम्पत्तिको मूल्यांकनसम्बन्धी कागजात प्रस्तुत गर्नुपर्नेछ । यस्तै, परामर्शदाताले आवश्यक ठानेका अन्य विवरण, प्रतिवेदन, सहायक तथ्यांक र विश्लेषणसमेत उपलब्ध गराइनुपर्ने व्यवस्था छ । 

 यस्तो छ परीक्षण गर्ने प्रक्रिया
राष्ट्र बैंकले शीर्ष १० वाणिज्य बैंकहरूको ऋण पोर्टफोलियोको स्वतन्त्र गुणात्मक र परिमाणात्मक मूल्यांकन गर्नेछ । लोन पोर्टफोलियो रिभ्यु गर्दा बैंकले ऋण दिने नीतिगत व्यवस्था (नियम, मार्गदर्शन र योजनाहरू) के–कस्ता छन् भन्ने मूल्यांकन गरिनेछ । त्यस्तै, ऋणको जोखिम व्यवस्थापन गर्ने नीति, त्यसका लागि बनाइएको विभागको संरचना र त्यसले अपनाएको अभ्यास कस्तो छ भन्ने परीक्षण हुनेछ ।

बैंकहरूले ऋण दिँदा अपनाउने मापदण्ड, नियन्त्रण, असुल नहुने ऋण व्यवस्थापन गर्ने तरिका, धितो सम्पत्तिको मूल्यांकन, त्यसको लागत, कागजात पूरा छ कि छैन भन्ने मूल्यांकन गरिने केन्द्रीय बैंकले जानकारी दिएको छ । ऋण दिइसकेपछि त्यसको प्रयोग कहाँ भयो र त्यसको निगरानी कसरी गरिन्छ भन्ने परीक्षण पनि हुनेछ । 

त्यसबाहेक कर्जा वर्गीकरण, जोखिमको भार र प्रावधान कस्तो छ भन्ने परीक्षण गर्ने कार्यसर्त छन् । यो मूल्यांकन नेपाल राष्ट्र बैंकका नियम तथा निर्देशनसँगै अन्तर्राष्ट्रिय मानकहरूबिच तादात्म्य गर्नुपर्ने सर्तमा उल्लेख छ । बैंकमा लुकाइएका विभिन्न जोखिमहरू, एउटै समूहभित्रका बैंक वा कम्पनीबिचको सम्बन्ध, सम्बन्धित व्यक्तिहरू वा भित्री कारोबारको समेत अध्ययन हुनेछ । परीक्षणमा समावेश हुने १० वटा बैंक १५ अप्रिल २०२५ सम्मको वित्तीय विवरणका आधारमा छनोट गरिनेछन् । 

 कस्ता कर्जा परीक्षणमा पर्छन् ?
परीक्षणमा सहभागी हुने प्रत्येक बैंकका कुल ऋणमध्ये कम्तीमा ३५ प्रतिशत भागको समीक्षा अनिवार्य गरिएको छ । परामर्शदाताले यस कामलाई जोखिममा आधारित विधिबाट सम्पन्न गर्नेछन् । समीक्षा प्रक्रियामा बैंकका सबैभन्दा ठुला ५० निष्क्रिय कर्जा, ५० ठुला पुनर्संरचना गरिएको ऋण र ५० ठुला सक्रिय कर्जालाई समेटिनेछ । त्यसैगरी, बैंकसँग सम्बन्धित पक्षलाई दिइएका, नियामक पुँजीको ५ प्रतिशतभन्दा माथि पर्ने ऋण तथा आपसी रूपमा सम्बन्धित ऋणीलाई दिइएका कर्जा, नियामकीय पुँजीको ५ प्रतिशतभन्दा माथि पर्ने ऋण पनि मूल्यांकनको दायरामा पर्नेछन् । यसबाहेक अन्य ऋणलाई पनि जोखिममा आधारित नमुना छनोटमार्फत परीक्षण गरिनेछ ।

ऋण पोर्टफोलियोलाई समूहमा विभाजन गरेर सम्भावित जोखिमपूर्ण क्षेत्रहरू जस्तै, लक्षित ऋण, अनुदानमा आधारित ऋण र घुम्ती ऋणलाई विशेष प्राथमिकता दिइनेछ । चयन भएका ऋण नमुनामा फाइल समीक्षा गरिने र नमुना छनोट तथा मूल्यांकनका सबै प्रक्रिया अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यास, विशेष गरी लेखा परीक्षणको अन्तर्राष्ट्रिय मापदण्डअनुसार हुने बताइएको छ ।

१० ठुला बैंकका कस्ता ऋण परीक्षणमा पर्नेछन् ?

  • १५ अप्रिल २०२५ सम्मको वित्तीय विवरणका आधारमा १० ठुला वाणिज्य बैंक
  • प्रत्येक बैंकका कुल ऋणमध्ये कम्तीमा ३५% भाग
  • नियामकीय पुँजीको ५ प्रतिशतभन्दा माथि पर्ने ऋण
  • आपसी रूपमा सम्बन्धित ऋणीलाई दिइएका कर्जा
  • सबैभन्दा ठुला ५० निष्क्रिय कर्जा
  • ५० ठुला पुनर्संरचना गरिएका ऋण
  • ५० ठुला सक्रिय कर्जा

सुझावित समाचार