रुपैठामा तनावः झन्डा उखेलेको विषयमा विवाद, एक दर्जन प्रहरी घाइते

आइतबार, १५ भदौ, २०८२
डिजिटल संस्करण

गणेश भगवानको मूर्ति विसर्जनका क्रममा मुस्लिम समुदायले राखेको झन्डा उखेले भन्दै उत्पन्न विवादमा एक दर्जन प्रहरी घाइते भएका छन् । शनिबार मूर्ति विसर्जनका क्रममा केही हिन्दु युवाले मुस्लिम समुदायले गाडेको झन्डा उखेलेको आरोप छ । 

उक्त विवाद आइतबार पनि जारी रहँदा प्रहरीले सार्वजनिक स्थानमा राखेका दुवै समुदायको झन्डा उखेलेको थियो । यही क्रममा प्रहरी र केही हिन्दु युवाबिच झडप भएको धनुषाका प्रहरी उरीक्षक (एसपी) नरहरि रेग्मीले जानकारी दिए । जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठामा झण्डा उखल्ने क्रममा विवाद आज विवाद भएको हो ।

उनका अनुसार, प्रहरीले विवाद नियन्त्रणमा लिन खोज्दा हिन्दु पक्षका युवाले ढुंगामुढा गरेपछि १२ जना प्रहरी घाइते भएका छन् । त्यस्तै हिन्दु पक्षका २९ वर्षीय पञ्चेश्वर मुखिया पनि घाइते भएका छन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गरेको थियो ।

यसैगबिच आज बिहान घाँस काट्न गएका दुई मुस्लिम महिलामाथि समेत हिन्दु युवाहरूले कुटपिट गरी घाइते बनाएको प्रहरीको भनाइ छ । शनिबारको विवादका क्रममा पनि प्रहरीले ११ राउन्ड अश्रुग्यास प्रहार गरेको थियो ।

किन भयो विवाद ?
स्थानीय गणेश युवा समितिले गणेश भगवानको मूर्ति बनाई शनिबार दिउँसो १ बजे विसर्जनका लागि ट्याक्टरमा राखेर नोचा ठाकुर पोखरीतर्फ लैजाँदै थियो । विसर्जन टोलीमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएका सुरक्षाकर्मी, वडाध्यक्ष भोला कवाडी र समितिका सदस्यहरूसमेत सहभागी थिए ।

वडाध्यक्ष कवाडीले आफू मुस्लिम भए पनि विसर्जन टोलीसँगै मोटरसाइकलमा रहेको बताए । उनका अनुसार टोली बसहिया मोड पार गरेपछि केही व्यक्तिले मुस्लिम समुदायले गाडेको झन्डा उखेलेपछि विवाद सुरु भएको हो ।

रुपैठास्थित सडक खण्डमा हिन्दु समुदायले भगवा (केशरी) र मुस्लिम समुदायले हरियो रङका झण्डा गाड्ने चलन छ । वडाध्यक्ष कवाडीले भने, ‘दुवै समुदायले आ–आफ्नो झन्डा गाडेका छन्, तर एकले अर्काको झन्डा उखेल्नुहुँदैन। बाहिरबाट आएका केही व्यक्तिले मुस्लिम समुदायको झन्डा उखेल्दा विवाद सुरु भयो ।’

सुझावित समाचार