ओसिएको लोगो दुरुपयोग नगर्न तदर्थ समिति संयोजक प्रधानलाई चेतावनी

आइतबार, १५ भदौ, २०८२
डिजिटल संस्करण

ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए)ले आफ्नो लोगो दुरुपयोग नगर्न सरकारद्वारा गठिन नेपाल ओलम्पिक कमिटीको तदर्थ समितिलाई चेतावनी दिएको छ । 

आइतबार ओसिएका जेनेरल डाइरेक्टर हुसैन अल मुसालामले संयोजक ध्रुवबहादुर प्रधानलाई पत्र लेख्दै यसअघि गरिएको लोगो दुरुपयोग नगर्न निर्देशन दिएका छन् । उनले यो पत्र नै आधिकारिक रहेको दाबी गरेका छन् । यदि दिएको निर्देशन अवज्ञा गरेको खण्डमा कानुनी कारबाही अगाडि बढाउने पनि चेतावनी हुसैनले दिएका छन् । 

गत पुसमा विधान संशोधन गर्दै जीवनराम श्रेष्ठ नेपाल ओलम्पिक कमिटी (एनओसी)को तेस्रोपटक अध्यक्ष भएका थिए । यसपछि यो कमिटीलाई नेपाल सरकारले मान्यता दिएको छैन । 

प्रधानमन्त्री केपी शर्मा अोलीको निर्देशनपछि खेलकुदमन्त्री तेजुलाल चौधरीको सक्रियातामा तदर्थ समिति गठन भयो । प्रधानको संयोजकत्वमा नाै सदस्यीय कमिटी बनेको छ । यही कमिटीले एनओसी, ओसिए र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)को लोगो प्रयोग गर्दै आएको छ । 

यस्तै, तदर्थ समितिले सातदोबाटोस्थित एनओसीको भवन नै प्रयोगमा ल्याएको थियो । यसअघि सरकारले यो भवनमा ताला लगाएको थियो । यो सबै घटनापछि आइतबार प्रधानलाई ओसिएले पत्र काटेको हो । प्रधान यसअघि एनअोसीको स्वायत्तताका लागि लड्दै आएका थिए । प्रधान यसअघि एनओसीमा दुई कार्यकाल समान अध्यक्ष र महासचिव रहिसकेका छन् ।

सुझावित समाचार