भूमि, निजामती र शिक्षा विधेयक भदौभित्रै पारित गरिने

प्रधानमन्त्री ओलीले शुक्रबार संसदमा सम्बोधन गर्ने, चीन भ्रमणबारे जानकारी गराउने

शुक्रबार, १३ भदौ, २०८२
डिजिटल संस्करण

संघीयतासँग जोडिएका महत्वपूर्ण विधेयक चालू अधिवेशनबाटै पारित गर्ने गरी प्रतिनिधिसभाको भदौको क्यालेन्डर तयार भएको छ । सभामुख देवराज घिमिरेले बिहीबार पाँच दलका प्रमुख सचेतकसँग छलफल गरी संघीय निजामती, संघीय शिक्षालगायत विधेयक टुंग्याउने गरी कार्यतालिका पारित गराएका छन् । शुक्रबार बस्ने कार्य व्यवस्था तथा परामर्श समिति बैठकले कार्यतालिका अनुमोदन गर्नेछ । 

एमाले मुख्य सचेतक महेश बर्ताैलाका अनुसार अब प्रतिनिधिसभा बैठक १३, १८, १९, २५, २६ र २७ भदौमा बस्ने तय भएको छ । शुक्रबार बस्ने बैठकले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा दफावार छलफल गरी पारित गर्नेछ । बैठकमा प्रधानमन्त्री केपी ओलीले सम्बोधन गरेर आसन्न चीन भ्रमणबारे जानकारी गराउने तय भएको छ । 

बर्तौैलाका अनुसार १८ भदौको बैठकले आमाको नाममा नागरिकता पाउने प्रावधान रहेको नागरिकतासम्बन्धी विधेयक र संवैधानिक परिषद्सम्बन्धी विधेयक पारित गर्नेछ । संवैधानिक परिषद् विधेयक संविधानको भावना र सन्तुलनको सिद्धान्तविपरीत रहेको भन्दै राष्ट्रपति रामचन्द्र पौडेलले पुनर्विचार गर्न सन्देशसहित ८ साउनमा फिर्ता पठाएका छन् । एक महिना बितिसक्दा पनि विधेयक पुनर्विचारको प्रक्रिया अगाडि बढेको छैन । कांग्रेसले बहुमतका नाममा दुईजनाले पनि निर्णय गर्न सक्ने प्रावधान संविधानविपरीत रहेको भन्ने राष्ट्रपतिको चासोलाई सम्बोधन गर्नुपर्ने अडान लिएको छ । एमालेले विधेयकमा कुनै समस्या नरहेको र राष्ट्रपतिको चासो गलत भन्दै हुबहु पारित गरेर पठाउनुपर्ने पक्षमा छ । 

कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेका अनुसार राष्ट्रपतिबाट फिर्ता आएको विधेयक कसरी अगाडि बढाउने भनेर सत्तागठबन्धनमा छलफल नभएको बताए । ‘संवैधानिक परिषद् विधेयकमा कुनै छलफल भएको छैन । प्रधानमन्त्री चीन भ्रमणबाट फर्केपछि छलफल होला । राष्ट्रपतिको चासो सम्बोधन गर्नुपर्छ भन्नेमा छौँ । के गर्ने भन्ने प्रधानमन्त्री आएपछि नै टुंगिन्छ,’ उनले भने । एमाले मुख्य सचेतक बर्ताैला पनि विधेयक अगाडि बढाउने विषयमा दुई दलबिच छलफल भई नसकेको बताउँछन् । ‘राष्ट्रपतिज्यूले छलफल गर्न फिर्ता गरेकाले के उपयुक्त हुन्छ, त्यसलाई हाउसमा छलफल गरेर निष्कर्षमा पुग्छौँ । कुनै अडान वा यही गर्नुपर्छ भन्ने छैन । प्रतिनिधिसभाले पठाएको गणपूरक संख्यासम्बन्धी व्यवस्थामा कुनै समस्या छैन । राष्ट्रिय सभाबाट व्याख्या भएर आएकोमा राष्ट्रपतिबाट अध्ययन गर्न भनेर आयो । त्यस विषयमा हाउसमै छलफल गर्छाैँ,’ उनले भने । 

बर्ताैलाका अनुसार १७ भदौमा संघीय निजामती विधेयक राष्ट्रिय सभाबाट पारित भई सन्देशसहित फिर्ता आएपछि १८ गते प्रतिनिधिसभामा सन्देश टेबुल हुनेछ । १९ गते निजामती विधेयक पारित गर्ने कार्यतालिका तय भएको छ । २६ भदौको प्रतिनिधिसभा बैठकले शिक्षा विधेयक पारित गर्ने तय भएको उनले बताए । माओवादी प्रमुख सचेतक हितराज पाण्डेले भदौको कार्यतालिका तय भएको र शुक्रबार प्रधानमन्त्रीले सम्बोधन गरेर वैदेशिक भ्रमणबारे जानकारी गराउने निर्णय भएको बताए । ‘यो महिनाभरिको कार्यतालिका कसरी लैजाने कुरा भयो । अब पाँचवटा बैठक बस्छन् । भोलि (शुक्रबार) साढे ११ बजे बस्ने कार्य व्यवस्था तथा परामर्श समितिको बैठकले क्यालेन्डर अनुमोदन गर्छ,’ उनले भने ।

एमालेले शुक्रबारको प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन ह्विप जारी गरेको छ । एमाले मुख्य सतेचक बर्ताैलाले प्रधानमन्त्रीको सम्बोधन र भूमि विधेयक पारित गर्नुपर्ने भएकाले अनिवार्य उपस्थित हुन भनेको बताए । ‘प्रधानमन्त्रीज्यूले सम्बोधन गर्ने कार्यक्रम छ । बिचमा लामो समय संसद् ग्याप भयो । यसपछि पनि चार दिनपछि बैठक छ । सांसदहरू नआउन सक्छन् । फेरि भोलि भूमि विधेयक पारित गर्नुपर्नेछ,’  उनले भने । 

रास्वपाले संसद्मा अवरोध कायमै राख्ने
सभामुख र प्रमुख सचेतकहरूको बैठकमा रास्वपाले भिजिट भिसा प्रकरणमा आफ्नो अवरोध कायमै राख्ने जानकारी गराएको छ । रास्वपा प्रमुख सचेतक सन्तोष परियारले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय न्यायिक छानबिन आयोग गठनको माग राख्दै अवरोध कायमै राख्ने जानकारी गराएका हुन् । सत्तापक्षले भने महत्वपूर्ण विधेयकहरूमा छलफल भइरहेका वेला नियमित संसदीय प्रक्रियामा सहभागी हुन अनुरोध गरेको थियो । 

उपसभामुखविरुद्ध आचरणको प्रस्ताव नआउने
सत्तारूढ दलहरूले उपसभामुख इन्दिरा रानाविरुद्ध आचरणअनुकूल काम नगरेको प्रस्ताव नल्याउने भएका छन् । यसअघि ३ भदौमा उपसभामुख रानाविरुद्ध प्रस्ताव दर्ता गर्न खाली कागजमा हस्ताक्षर अभियान चलाएका कांग्रेस र एमाले ‘ब्याक’ भएका हुन् । त्यतिवेला दुवै दलले उपसभामुख वैदेशिक भ्रमणमा रहेकाले प्रस्ताव दर्ता गराउँदा नराम्रो सन्देश जाने भन्दै उनी फर्किएपछि १३ भदौमा दर्ता गर्ने प्रतिक्रिया दिएका थिए । उपसभामुख राना शुक्रबार स्वदेश फर्किँदै छिन् । 

एमाले भने अझै पनि प्रस्ताव दर्ता गराउनुपर्ने लबिङमा छ । तर, कांग्रेसभित्र नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्माको सशक्त विरोधले सभापति शेरबहादुर देउवा पछि हटेका हुन् । खासगरी रुपन्देही ३ मा हुन लागेको उपनिर्वाचन, उपसभामुखमाथि कमजोर अभियोग, कांग्रेसभित्र पदाधिकारीकै प्रतिवाद र सरकारप्रतिको चौतर्फी असन्तुष्टिका कारण प्रस्ताव अगाडि नबढ्ने भएको हो । कांग्रेस महामन्त्री शर्माले उपसभामुखविरुद्धको आचरणको प्रस्ताव सम्बन्धमा च्याप्टर क्लोज भएको बताए । शर्माले बालुवाटारमा पाक्ने र बुढानीलकण्ठमा पस्किने कुरा मान्य छैन भनेर सार्वजनिक रूपमै बोलेका थिए । ‘यो उपयुक्त समय सन्दर्भ होइन । उपसभामुखको च्याप्टर क्लोज भयो,’ उनले भने । 

कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले उपसभामुखविरुद्ध कुनै प्रस्ताव नआउने बताए । ‘उपसभामुखविरुद्ध त्यस्तो केही प्रस्ताव छैन । त्यो विषयमा केही भएको छैन । यो विषयमा ठोस निर्णय नै केही भएको होइन । संसद् बन्द हुँदै छ । हस्ताक्षर संकलन कुनै वेला केही पर्न सक्छ भनेर गरेको हो । उपसभामुख हटाउने निर्णय भएको छैन । कुनै प्रस्ताव आउँदैन,’ उनले भने । 

एमाले मुख्य सचेतक महेश बर्तौलाले पदअनुकूल आचरण नगरेको भनेर उपसभामुखलाई पदबाट बर्खास्त गर्ने भन्नेबारे अहिले कुनै छलफल नभएको बताए । ‘उहाँको बारेमा पदअनुकूलको आचरण गर्नुभएन भन्ने सन्दर्भबाट कुनै प्रस्ताव दर्ता गर्न हामी सत्तारूढ दलका बिचमा कुनै छलफल पनि भएको छैन, कुनै निर्णय पनि भएको छैन । कुनै प्रस्ताव दर्ता गर्ने त्यो निष्कर्षमा पनि हामी पुगेका छैनौँ । त्यो ठाउँबाट सोचेका छैनौँ । त्यो बाटोतर्फ हामी जाँदैनौँ । यो प्रस्ट हो,’ उनले भने । 

See More On

सुझावित समाचार