एएफसी महिला च्याम्पियन्स लिग छनोट : खराब प्रदर्शनपछि एपिएफको सकियो सम्भावना

शुक्रबार, १३ भदौ, २०८२
डिजिटल संस्करण
  • छनोट प्रतियोगितामा लगातार दुई हार सामना गरेको नेपालबाट प्रतिनिधित्व गरेको एपिएफ क्लब समूह ‘बी’मा अंकविहीन 

लगातार दोस्रो हार व्यहोरेपछि नेपालबाट प्रतिनिधित्व गरेको विभागीय टोली नेपाल एपिएफ क्लब एएफसी महिला च्याम्पियन्स लिगको छनोट चरणबाटै बाहिरिएको छ । लगातार दोस्रोपटक एएफसी महिला च्याम्पियन्स लिगको पहिलो चरणमा स्थान बनाएको एपिएफ दोस्रो प्रयासमा पनि समूह चरणभन्दा माथि पुगेन । छनोट चरणअन्तर्गत बिहीबार उज्वेकिस्तानको मार्काजी रंगशालामा थाइल्यान्डको कलेज अफ एसियन स्कलर्स फुटबल क्लबले एपिएफलाई ४–० ले पराजित गर्यो ।

स्कलर्सका लागि चारै गोल कानियानाथले गरेकी हुन् । उनले पहिलो तथा दोस्रो हाफमा समान दुई गोल गरिन् । लगातार दोस्रो जितसँगै स्कलर्स ६ अंकका साथ समूह ‘बी’को शीर्ष स्थानमा छ । एपिएफ अंकविहीन छ । यसअघि एपिएफ पहिलो खेलमा उज्वेकिस्तानको एफसी नासाफसँग ३–० ले पराजित भएको थियो । स्कलर्सले साउदी अरेबियाको अल नासर क्लबलाई २–० ले हराएको थियो ।

अब, एपिएफले समूह चरणको अन्तिम खेलमा अगामी आइतबार अल नासरको सामना गर्नेछ । समूहको एक टोलीले मात्रै च्याम्पियन्स लिगमा स्थान बनाउनेछ । चेतन घिमिरेको प्रशिक्षणमा रहेको एपिएफ नेपालको लिग च्याम्पियनका रूपमा प्रारम्भिक छनोटमा सहभागी भएको हो । यसपटक एपिएफ महŒवपूर्ण दुई खेलाडी सावित्रा भण्डारी र प्रीति राईविना नै प्रतियोगितामा सहभागी भएको हो ।

सावित्रा र प्रीति विदेशी क्लबमा आबद्ध हुँदा एपिएफको अट्याकिङ थर्ड निकै कमजोर बन्यो । एपिएफले पहिलो तथा दोस्रो खेलमा गतिलो अवसर नै बनाउन सकेन । मिडफिल्डर र डिफेन्सले पनि सोचेजस्तो प्रदर्शन गर्न नसक्दा एपिएफले लगातार दुई खेलमा हारको सामना गरेको हो ।

एपिएफका प्रशिक्षक घिमिरेले सोचेजस्तो खेल्न नसकेको प्रतिक्रिया दिए । ‘पहिलो हाफमा राम्रो खेले । तर, अन्तिममा गोल खायौँ,’ घिमिरेले भने, ‘दोस्रो हाफमा पनि राम्रो हुन सकेन । अब, अन्तिम खेल जित्न खेल्छौँ ।’

प्रीतिआबद्ध इत्तिहादको जित
नेपाली राष्ट्रिय टोलीकी मिडफिल्डर प्रीति राईआबद्ध इत्तिहाद क्लबले एएफसी च्याम्पियन्स लिगको प्रारम्भिक चरणमा सड्युसोर एसआई–एसियालाई ३–१ ले पराजित गरेको छ । हाङ जेबात रंगशालामा इत्तिहादलाई जित दिलाउन युजेनियाले दुई गोल गरेकी थिइन् । सिडालियाको नाममा एक गोल रह्यो । पहिलो जितसँगै समूह ‘सी’को इत्तिहादले दुई खेलमा ३ अंक जोडेको छ । पहिलो खेलमा इत्तिहाद लायन सिटी साइलर्ससँग २–१ ले पराजित भएको थियो । 

सोचेजस्तो खेल्न सकेनौँ : चेतन घिमिरे, प्रशिक्षक, एपिएफ
पहिलो हाफमा निकै राम्रो खेल भयो । तर, डिफेन्समा कमजोर हुँदा विपक्षीले दुई गोल गर्यो । यद्यपि, हामीले गोलका लागि राम्रो प्रयास नगरेका होइनौँ । दोस्रो हाफमा सोचेजस्तो खेल्न सकेनौँ । तर, केही अवसर पनि बनायौँ । हामीले बारम्बार गल्ती गरिरह्यौँ । पहिलो खेलको तुलनामा दोस्रो खेल राम्रो भयो । 

सुझावित समाचार