०८४ मा मेरो अवस्था के हुन्छ भन्ने चिन्ता होइन, जिम्मेवारीमा ध्यान दिनुपर्छ : गगन थापा

सोमबार, ९ भदौ, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र रहेको डर, लोभ र अन्योलको मानसिकता त्याग्नुपर्ने बताएका छन्।

सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पार्टीले आगामी निर्वाचन (२०८४ साल) मा आफ्नो व्यक्तिगत अवस्था के हुन्छ भन्ने चिन्ताबाट मुक्त भएर राष्ट्रप्रति उत्तरदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

‘यो वेला कांग्रेसले सबैभन्दा पहिले ०८४ मा मेरो अवस्था के होला भन्ने मानसिकता त्याग्नुपर्छ,’ थापाले भने, ‘प्रधानमन्त्रीको आलोपालो भन्ने ओलीजीको कुरा पनि बिर्सिनुपर्छ। उहाँले हप्ता–हप्तामा सम्झाउनुहुन्छ, त्यो बाटो हाम्रा लागि होइन।’

उनले प्रधानमन्त्री केपी ओलीले आलोपालो सरकारको कुरा बारम्बार उठाउने गरेको चर्चा गर्दै, कांग्रेसले त्यसप्रति धेरै ध्यान दिनु आवश्यक नरहेको बताए। ‘उहाँले पद छाड्नुहुन्छ कि हुन्न भन्ने अन्योलमा बस्न जरुरी छैन,’ उनले स्पष्ट पारे।

थापाले कांग्रेसले आफ्नो भूमिकालाई स्पष्ट पार्दै लोभ, डर र अन्योलबाट बाहिर निस्केर काम गर्नुपर्ने आवश्यकता औँल्याए। ‘यदि हामी यी सबै कुराबाट मुक्त भएर काम गर्छौँ भने कांग्रेसले आफ्नो कर्तव्य पूरा गर्न सक्छ,’ उनले थपे।

कार्यक्रममा उनले पार्टीभित्र पठन संस्कृतिको विकास आवश्यक रहेको बताउँदै साहित्य र अध्ययनको प्रवर्द्धनका लागि साहित्यकारलाई सक्रिय बनाउनुपर्ने धारणा पनि व्यक्त गरे।

सुझावित समाचार