नेपाल बिमा प्राधिकरणले बिमालेख धितोमा दिने कर्जाबारे स्पष्ट जानकारी दिन बिमा कम्पनीहरूलाई निर्देशन दिएको छ । कम्पनीहरूले बिमालेख धितो राखेर बिमितलाई कर्जा दिँदै आएका छन् । अब त्यसबारे कम्पनीले बिमितलाई सम्पूर्ण जानकारी दिनुपर्ने प्राधिकरणको निर्देशन छ । कर्जा रकम, ब्याज गणना विधि, कर्जा भुक्तानी गर्नुपर्ने समयतालिका र भुक्तानी नगर्दा हुने परिणामबारे विद्युतीय माध्यम वा पत्रमार्फत स्पष्ट बुझिने गरी समयमै जानकारी दिनुपर्ने बताइएको छ ।
बिमा कम्पनीहरूले बिमालेख सुरक्षणमा प्रदान गरिएका कर्जा असुलीका क्रममा भुक्तान हुन बाँकी रहेको कर्जा रकम तथा ब्याजको गणना विधिका सम्बन्धमा बिमितलाई पर्याप्त जानकारी नदिने र अन्तिममा परिपक्व भुक्तानी तथा दाबी रकमबाट कट्टा गर्ने गर्दा बिमित तथा हिताधिकारीलाई मर्का परेको भनी गुनासो आएको सन्दर्भमा प्राधिकरणले बिमा कम्पनीहरूलाई त्यस्तो निर्देशन दिएको हो ।
‘बीमा कम्पनीहरूले बीमालेख सुरक्षणमा बीमितलाई कर्जा दिँदा कर्जा रकम, ब्याज गणना विधि, कर्जा भुक्तानी गर्नुपर्ने समय–तालिका र भुक्तानी नगर्दा हुने परिणामका बारेमा कर्जाको ब्याज भुक्तानी गर्ने अवधि समाप्त हुनुभन्दा कम्तीमा तीस (३०) दिन अगावै बीमितले स्पष्ट बुझ्ने गरी एसएमएस वा इमेल वा पत्रमार्फत अनिवार्य जानकारी गराउने व्यवस्था गर्न÷गराउन परिपत्र गरिएको छ,’ निर्देशनमा भनिएको छ ।