भुटानको थिम्पुमा भएको दक्षिण एसियाली क्षेत्रीय ब्याडमिन्टन प्रतियोगितामा नेपालले सर्वाधिक २१ पदक जितेको छ । ३० साउनदेखि ६ भदौसम्म भएको प्रतियोगितामा नेपाली टोलीले एक स्वर्ण, नौ रजत र ११ कांस्यसहित कुल २१ पदक हात पारेको हो । प्रतियोगितामा नेपाल, भुटान, श्रीलंका र पाकिस्तानका खेलाडीले सहभागिता जनाएका थिए । च्याम्पियनसिपअन्तर्गत पुरुष एकलमा नेपालले स्वर्ण हात पारेको थियो । नेपालका लागि सुदेश राजकोटीले स्वर्ण पदक दिलाएका थिए । यसै विधामा नेपालका दीप थिङले कांस्य जिते ।
प्रतियोगितामा यू–२३ को मिक्स टिम इभेन्ट्समा रसिला महर्जन, आयुष्मा नेपाल, प्रिन्स दाहाल र क्षितिज खनालले कांस्य पदक जिते । पुरुष एकलमा प्रिन्स दाहाल र क्षितिज खनाल कांस्यमै सीमित भए । पुरुष डबल्समा प्रिन्स दाहाल र क्षितिज खनालले रजत जिते । महिला एकलमा रसिला महर्जनले कांस्य जितिन् ।
महिला डबल्समा रसिला महर्जन र आयुष्मा नेपालको जोडी दोस्रो भयो । यसैगरी, यू–१७ मिक्स टिम इभेन्ट्समा रिहाना शेरचन, दिलासा राना, सुविन श्रेष्ठ र सदीप राईले रजत पदक जितेका छन् । यसै विधाको पुरुष एकलमा सुविन श्रेष्ठ ‘बी’ले कांस्य जिते । महिलातर्फको एकलमा रिहाना शेरचन र दिलासा राना कांस्य पदकमा सीमित भए । पुरुष डबल्समा दीप र सुदेशले रजत र महिला एकलमा स्वर्लिन श्रेष्ठले कांस्य हात पारेको आयोजकले जनाएको छ ।