नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा आइतबारदेखि लामाचौर कप भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताअन्तर्गत अन्तरमावि छात्रा भलिबलमा टप्स र शान्त मावि फाइनल प्रवेश गरेका छन् । पहिलो सेमिफाइनलमा टप्सले सिर्जना माविलाई २–० सोझो सेटमा हरायो । शान्तले पोखरा युनाइटेडलाई २–१ सेटमा पराजित गर्दै उपाधि भिडन्त पक्का गर्यो ।
यसैगरी, खुलातर्फ आयोजकको टोली, ढुंगेदेउराली क्लब र एपिएफ क्लबले पहिलो जित निकाली समान ३ अंक बटुलेका छन् । ६ टोली सहभागी प्रतियोगितामा दुई खेल खेलेका माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समिति र कृष्णदल फूलबारी अंकविहीन हुँदै बाहिरिएका छन् । समूह ‘ए’मा आयोजकले माछापुच्छ्रेलाई ३–० को सोझो सेटमा हरायो ।
आयोजकको टोलीले पहिलो सेट ३३–३१ र दोस्रो सेट २५–१३ ले जितेको थियो । माछापुच्छ्रेले तेस्रो सेटमा पुनरागमनको प्रयास गरेको थियो । तर, आयोजक टोलीले अन्तिमतिर अंक नगुमाउँदै २५–१८ ले आफ्नो पक्षमा राख्यो । अर्को खेलमा जिएम समाजले कृष्णदललाई २५–२०, २५–१८ र २५–२३ सेटमा हरायो । तेस्रो खेलमा ढुंगेदेउरालीसँग माछापुच्छ्रेले अर्को हारको सामना गर्यो । चौथो खेलमा एपिएफले कृष्णदलमाथि २५–२०, २५–२१ र २५–१९ सेटमा जित निकाल्यो ।
समूह ‘ए’मा आयोजकसहित ढुंगेदेउराली छन् । समूह ‘बी’मा जिएम समाज र एपिएफ छन् । पुरुष भलिबल विजेताले तीन लाख र उपविजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । अन्तरमावि छात्रा भलिबल विजेताले एक लाख र उपविजेताले ५० हजार रुपैयाँसँगै सर्वोत्कृष्ट खेलाडीले पाँच हजार प्राप्त गर्नेछन् ।