काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिकाले कोसेली घर सञ्चालनमा ल्याएको छ । गृहिणी महिलाहरूले उत्पादन गरेको सामाग्रीलाई बजारीकरण गर्न बेथानचोक ढुंखर्कको गेल्डुङ बजारमा ‘कोसेली घर’ सञ्चालनमा ल्याएको हो।
बागमती प्रदेश र बेथानचोक गाउँपालिकाको साझेदारीमा सञ्चालन भएको गृहिणी महिला सशक्तीकरण कार्यक्रमअन्तर्गत सिप विकास कार्यक्रम सञ्चालन भएको थियो। सिप सिकेका महिलाहरूले उत्पादन गरेको सामग्री बजारीकरण गर्न मासिक १० हजार भाडा तिर्ने गरी घर भाडामा लिएर कोसेली घर सञ्चालन गरेका हुन्।
आइतबार आयोजित कार्यक्रम बागमती प्रदेश सामाजिक विकासमन्त्री कञ्चनचन्द्र बादेले ‘कोसेली घर’को उद्घाटन गरेका छन्। सो अवसरमा मन्त्री बादेले कोसेली घरको लागि चालू आर्थिक वर्षमा गाउँपालिकाले जग्गा व्यवस्थापन गरे भवन निर्माणको लागि बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए। ‘सरकारले जग्गा किन्न मिल्दैन। यही आर्थिक वर्षमा गाउँपालिकाले जग्गा व्यवस्थापन गरे भवन निर्माणका लागि हामी बजेट व्यवस्थापन गर्नेछौँ,’ बादेले भने, ‘महिलाहरूले अत्यन्त राम्रो र दैनिक जीवनमा प्रयोग हुने सामाग्रीहरू उत्पादन गरेका रहेछन्। उनीहरूले उत्पादन गरेको सामग्री बिक्री-वितरणका लागि कोसेली घर बनेको छ। त्यसमा प्रदेश सरकारको पूरा सहयोग हुनेछ।’
कार्यक्रममा बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीले कोसेली घर भवन निर्माणको लागि सामाजिक विकास मन्त्रालयबाट रकम विनियोजन गर्न माग गरेका थिए। ‘कोसेली घरमा आज थोरै सामग्री छ र आगामी दिनमा बढ्दै जानेछ। कोसेली घर सञ्चालनमा आएको छ। कोसेली घर दीर्घकालीन सञ्चालनका लागि आफ्नै भवन आवश्यक छ,’ अधिकारीले भने। कोसेली घर सञ्चालनपछि गृहिणी महिलाको खल्तीमा पैसा, समाजमा इज्जत र समृद्ध अनि सक्षम महिला बन्ने विश्वास रहेको अधिकारीले जानकारी दिए।
गाउँपालिकाका उपाध्यक्ष तारा राना तिमल्सिनाले कार्यविधिअनुसार व्यवस्थापन समिति गठन गरेर कोसेली घर सञ्चालनमा ल्याएको बताइन्। दुई वर्षदेखि बेथानचोकको ६ वटै वडामा गृहिणी महिला सशक्तीकरण कार्यक्रम सञ्चालन भएको र उनीहरूलाई सिप विकास तालिम सञ्चालन गरेर उत्पादन गरेको सामग्रीहरू बजारीकरणका लागि कोसेली घर सञ्चालनमा ल्याएको उनले बताइन्।
कोसेली घरमा फलफूलसहित दैनिक जीवनमा प्रहयोग हुने सामग्रीहरू साबुन, स्याम्पु, चप्पल, जुत्ता, बास तथा निंगालोबाट बन्ने सामग्री रहेका छन्।
