चालू आर्थिक वर्ष ०८२/८३ सुरु भएको एक महिनाभन्दा बढी समय बितिसक्दा पनि पर्साका स्थानीय तहहरूले बैंक खाता सञ्चालनमा ल्याउन सकेका छैनन्।
१४ पालिका रहेको जिल्लामा अहिलेसम्म कुनै पनि पालिका कार्यालयको खाता सञ्चालनमा नआएको पाइएको छ। आर्थिक वर्षको डेढ महिनासम्म पनि स्थानीय तहले बैंक खाता सञ्चालन गर्न नसक्दा विकास निर्माणसँगै आर्थिक कारोबार ठप्प भएको छ।
अहिलेसम्म पर्साका कुनै पनि पालिकाले चालू आर्थिक वर्षको रकम उपलब्ध गराउन माग नगरेका कोष तथा लेखा नियन्त्रक कार्यालय वीरगन्ज पर्साका प्रमुख मनोजकुमार जोशीले जानकारी दिए।
उनका अनुसार पालिकाले चालू आर्थिक वर्षको रकम खातामा माग गर्दा केही विवरण कोष तथा लेखा नियन्त्रक कार्यालयमा उपलब्ध गराउनुपर्नेहुन्छ। गाउँ सभा तथा नगर सभाबाट पारित भएको नीति कार्यक्रम तथा बजेट कार्यालयमा नबुझाउँदा आर्थिक गतिविधि प्रभावित भएका हुन्।
कार्यालयका प्रमुख कोष नियन्त्रक जोशीका अनुसार नीति कार्यक्रम र बजेट गाउँ–नगरसभाबाट पारित भएको विवरण नआएकाले स्थानीय तहमा जाने रकम फुकुवा नभएको हो।
गाउँसभा तथा नगरसभाबाट पारित भएको नीति कार्यक्रम तथा बजेट र गत आवको हिसाब मिलान भएको विवरण आउनेबित्तिकै स्थानीय तहमा जाने रकम फुकुवा हुने उनले प्रस्ट्याए।