गण्डकी थन्डर्सबाट पोखरा निन्जाज बनेको टोलीकी मार्कीमा सेटर प्रगति नाथ
पोखरा निन्जाजले सर्बियाकी ३१ वर्षीया आउटसाइड हिटर ल्युबिका केकमानलाई अनुबन्धन गरेको छ । पोखराले केकमानलाई पहिलो विदेशी खेलाडीको रूपमा घोषणा गरेको हो ।
उनी शनिबार नै नेपाल आइपुगेकी छिन् । केकमानले यसअघि टर्की, फ्रान्स (लिग र कप), ग्रिस, पोल्यान्ड, जर्मन बुन्डेसलिगा, रोमानियालगायतका शीर्ष लिगमा खेलिसकेकी छिन् । यस्तै, उनले सर्बियाको यू–२० र यू–२१ राष्ट्रिय टिमबाट समेत खेलिसकेकी छिन् । लिगको हिस्सा हुन पाउँदा केकमानले आफू निकै हर्षित भएको बताएकी छिन् । यो फ्रेन्चाइज टोलीले दोस्रो संस्करणका लागि आफ्नो नाम र मार्की खेलाडी परिवर्तन गरेको छ ।
गत संस्करणमा चौथो भएको टोली गण्डकी थन्डर्सबाट पोखरा निन्जाज बन्दा मार्कीमा सरस्वती चौधरीको स्थान प्रगति नाथले लिएकी छिन् । प्रगति पहिलोपटक मार्कीको भूमिकामा देखिन लागेकी हुन् । टोलीले प्रशिक्षकमा रुपेशकुमार विष्टलाई नै निरन्तरता दिएको छ । पोखराले अक्सनबाट पुनम चन्द, मीना सुनार, सुनिता खत्री, गरिमा बोहरा, अञ्जिला प्रधान, निशा महर र भावना तामाङलाई भित्र्याएको छ । प्रतियोगिता पोखरामा भदौ २० देखि २८ गतेसम्म हुँदै छ । यसअघि भएको प्रतियोगिताको फाइनलमा ललितपुरलाई हराउँदै कर्णालीले उपाधि जितेको थियो ।
लुम्बिनीबाट रसियन जुवरेभले खेल्ने
फ्रेन्चाइज टोली लुम्बिनी लाभाजले दोस्रो एभरेस्ट महिला भलिबल लिगका लागि रसियन खेलाडी भेरोनिका जुवरेभलाई अनुबन्ध गरेको छ । शनिबार लुम्बिनीले पहिलो विदेशी खेलाडीका रूपमा आउटसाइड हिटर जुवरेभलाई सार्वजनिक गर्यो । जुवरेभलेसँग रसिया, किर्गिस्तान, मंगोलिया र माल्दिभ्सको लिग खेलेको अनुभव छ । उनले पछिल्लो समय माल्दिभ्सको हुरा कम्युनिटी क्लबबाट खेल्दै आएकी थिइन् ।
नेपाली महिला भलिबल टोलीका कप्तान अरुण शाही मार्की रहेको लुम्बिनीले अन्य दुई विदेशी खेलाडीको नाम केही दिनमा नै सार्वजनिक गर्ने तयारी गरेको छ । टोलीले अक्सनबाट कामना विष्ट, एलिसा मानन्धर, शान्तिकला तामाङ, अनुशा चौधरी, रोमा महतो, जेनिशा विश्वकर्मा र रिकजना माझीलाई किनेको थियो । अनुबन्ध गरेको छ ।