नेपालको सहमतिविना भारत र चीनले भूमि प्रयोग गर्न खोज्नु अनुचित : महासचिव पोखरेल

शनिबार, ७ भदौ, २०८२
डिजिटल संस्करण

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको सहमतिविना चीन र भारतले नेपाली भूमि प्रयोग गर्न खोज्नु अनुचित हुने बताएका छन् ।

शनिबार घोराहीमा प्रेस चौतारी नेपाल दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालकै भूमि भएको स्पष्ट उल्लेख गर्दै सहमतिविना प्रयोग गर्ने प्रयत्नलाई अस्वीकार्य बताए।

उनले भने, 'दुई छिमेकी राष्ट्रहरूले नेपालको भूमि प्रयोग सन्दर्भमा नेपालकै सहमतिविना लिम्पियाधुरा, लिपुलेक, कालापानी प्रयोग गर्न खोजेका छन्। नेपालले कूटनीतिक नियोगमार्फत असहमति जनाएको छ। नेपालको सहमति र सहभागिताविना गरिने कुनै पनि समझदारी अनुचित हुन्छ। 

सुगौली सन्धि सन् १८१६ तिरको सिमानै वास्तविक सीमा भएको दाबी गर्दै उनले नेपालले राखेको अडान तथ्य र प्रमाणमा आधारित रहेको बताए।

सरकारको कार्यक्षमता र उपलब्धिबारे बोल्दै पोखरेलले भने, ‘अघिल्लो अवस्था र अहिलेको अवस्थालाई तुलना गर्दा यो सरकार सफल देखिएको छ। राजस्व बढेको छ, खर्च गर्ने क्षमता मजबुत भएको छ, लगानीयोग्य वातावरण बनेको छ र निजी क्षेत्र उत्साहित छ,’ उनले भने, ‘विकास निर्माणमा गति आएको छ, रोकिएका आयोजनाहरू अघि बढेका छन् र संघीयता कार्यान्वयनसँग जोडिएका कानुन निर्माण पनि अघि बढेका छन् ।’

यसैबिच, पोखरेलले एमालेको दोस्रो विधान महाधिवेशन यही भदौ २१, २२ र २३ गते हुने जानकारी दिए। महाधिवेशनमा राजनीतिक, संगठनात्मक र विधान संशोधनसहित तीनवटा प्रस्तावमाथि छलफल हुने उनले बताए। उनका अनुसार साढे ६ लाख सदस्य छलफलमा सहभागी हुनेछन्।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीको सक्रिय राजनीतिमा आउनु उचित नरहेको बताए। ‘पूर्वराष्ट्रपतिजस्तो सम्मानित व्यक्तिलाई कुनै गतिविधि गर्न नदिएर घरभित्रै बन्धक बनाउनुहुँदैन। सामाजिक रूपमा सक्रिय हुन कुनै रोकतोक छैन,’ उनले भने, ‘सामाजिक जीवनका क्रियाकलापमा आउनै हुन्न भन्ने होइन, बन्धक नै बस्नुपर्छ भन्नै छैन।’

सुझावित समाचार