जुम्लाकाे तातोपानी गाउँपालिका–५ लाम्रा ऐरेनीका ४२ वर्षीय टक्क नेपाली सानैमा तीक्ष्ण दिमागका थिए । बालापनमा उनी विज्ञान र प्रविधिसँग सम्बन्धित माटोबाट बनाउन सकिने विभिन्न किसिमका खेलौना गाडी, हवाईजहाज बनाउँथे ।
आफू उमेर समूहका साथीभाइ जम्मा गरेर गाउँघरमा आफूले बनाएका गाडी हवाईजहाजजस्ता खेलौना खेलाएर रमाउने गर्दथे । उनी सानै उमेरमा पनि विज्ञान र प्रविधिसँग जोडिएका कुरामा बढी चासो राख्ने गर्दथे । उनी दुर्गा माध्यमिक विद्यालय लाम्रामा अध्ययन गर्दथे । घरको आर्थिक अवस्था कमजोर भएका कारण उनले उच्च शिक्षा पढ्न भने पाएनन् । उनले एसएलसीसम्म मात्रै पास गरेका छन् ।
०५२ सालदेखि ०६०/६२ सालतिर नेपालमा द्वन्द्व चलेको थियो । त्यतिवेला नै पढ्ने–लेख्ने उमेर थियो । त्यतिवेला पढ्ने लेख्ने वातावरण पनि राम्रै थिएन । कहिले सरकार पक्ष त, कहिले विद्रोही पक्षबाट पढ्ने–लेख्ने वातावरण हुँदैनथ्यो । जेनतेन ०६०/६१ सालमा एसएलसी पास गरे । त्यसपछि उच्च शिक्षा अध्ययनका लागि घरको आर्थिक अवस्थाले धानेन । जीविकोपार्जनका लागि आफैँले कमाउनुपर्ने र पढ्नुपर्ने अवस्थाले उच्च शिक्षा हासिल गर्न सकेनन् ।
०६० सालतिर उनी हाउस वायरिङसम्बन्धी तालिम लिन नेपालगन्ज गए । तालिम लिँदैगर्दा साथीबाट उनले वैदेशिक रोजगारीका विषयमा जान्ने मौका पाए । विदेशमा राम्रो कमाइ हुने, उताबाट कमाएर ल्याएको पैसाले नेपालमै राम्रो काम गर्न सकिने भन्ने भएपछि उनले पनि विदेश जाने योजना बनाए । उनी ०६२ सालमा वैदेशिक रोजगारीका लागि मलेसिया गए । मलेसियामा जुन प्रकारको सम्झौता भएको थियो, त्योअनुसार काम भने पाएनन् । एक वर्षमै ०६३ सालमै उनी नेपाल फर्किए । उनी विदेश पुगेर पनि राम्रो काम नपाएको भन्दै पुन: नेपालमै फर्किएर केही स्वरोजगारमूलक काम गर्नुपर्दछ भन्ने सोच्न थाले ।
०६४ सालमा उनी एउटा स्कुलमा पढाउन थाले । आफ्नो घरबाट चार घण्टाको दूरीमा रहेको सिद्धिबाबा निम्न माध्यमिक विद्यालय जुम्लामा उनले विज्ञान शिक्षकको रूपमा जागिर पाए । उनको पढाइ एसएलसीसम्म मात्रै भए पनि कक्षा सातसम्म विज्ञान विषय पढाउँथे ।
आफ्नो रुचिअनुसारकै विषय पढाउन थालेका उनले विद्यार्थीलाई प्रयोगात्मक (शिक्षा) अभ्यासमा बढी जोड दिने गरेका थिए । स्कुलमा पढाउँदा–पढाउँदै उनले विद्युतीय भोटिङ मेसिन बनाएका थिए । उनले बनाएको भोटिङ मेसिनको चर्चा चुलियो । त्यतिवेला साबिकको लाम्रा गाविस कार्यालयले उनलाई १० हजार रुपैयाँ दिएर पुरस्कृत गर्यो । उनी भोटिङ मेसिन बोकेर जुम्लाबाट काठमाडौं आए । उनले भोटिङ मेसिन निर्वाचन आयोगमा देखाए । निर्वाचन आयोगले सबै कुरा परीक्षण गर्यो र एकदम राम्रो रहेको पनि भन्यो ।
उनले पछिल्लो समयमा कर्णाली इनोभेटिभ टेक्नोलोजी डेभलपमेन्ट नामक कम्पनी दर्ता गरेका छन् । अहिले उनले यही कम्पनीमार्फत काम गर्दै आएका छन् ।
सुरुवातमा उनले पाँच लाख रुपैयाँ ऋण लिएर कम्पन्नी सञ्चालन गरेका थिए । अहिले उनले एक करोड बढीको कारोवार गर्दै आएका छन् । २०७७ सालमा प्याराग्लाइडिङसमेत बनाएका थिए । त्यो बनाएबापत उनले राष्ट्रिय युवा प्रतिभा पुरस्कार पनि प्राप्त गरेका थिए । उनले युट्युब हेरेरै बनाएको प्याराग्लाइडिङको परीक्षण सफल भएको थियो । त्यो बेला उनले विभिन्न निकायबाट सात लाख रुपैयाँ जतिको पुरस्कार समेत पाएका थिए । तर, व्यावसायिक उडान अनुमति नपाएपछि उनले बनाएको प्याराग्लाइडिङ त्यत्तिकै थन्किएको छ । ७५ हजार रुपैयाँ नगदसहित श्रम मन्त्रालयले २०८० सालको उद्यमी राष्ट्रिय पुरस्कारबाट उनी सम्मानित भएका थिए ।
उनले पछिल्लो समयमा आफैँ घरको छतमा राष्ट्रिय ध्वजावाहक हवाईजहाज बनाएका छन् । पर्यटकलाई लोभ्याउने दृश्य देखिने हवाईजहाजको प्रतिमा बनाएका हुन् । हेर्दा भर्खरै उड्लाजस्तो देखिने नेपाल एयरलाइन्सको हवाईजहाज आकर्षक देखिन्छ । प्रयोगमा नआएका फलामका टुक्रा, सकेसम्म प्रयोग गर्न मिल्ने जे भेटिए पनि संकलन थाले । रातदिन मिहिनेत गर्दै उनको सिर्जनशीलता र लगनशीलताले फरक बनायो । घरको छतमै उनले नेपाल एयरलाइन्सको हवाईजहाज बास्तविक आकार दिन थाले ।
उनको आकाशमै उड्ने जहाज बनाउने सपना भए पनि भर्खरै उड्लाजस्तो देखिने नेपाल एयरलाइन्सको जहाज बनाएरै छाडे । तर, चाइनाबाट सामान ल्याएर जहाज बनाउने उनको सपना भने मरेको छैन । चाइनाबाट सामान पनि मगाएका छन् । उड्ने जहाजका लागि उनले झण्डै ३ लाख जति खर्च समेत गरिसकेका छन् । घरको छतमा जहाजको प्रतिमा बनाउन करिब एक लाख रुपैयाँति खर्च गरेका छन् । जब घरको छतमा हावा चल्छ । तब त्यो जहाजको पंखा उड्लाजस्तै गरेर घुम्छ । त्यसमा कुनै इन्धन छैन । तर, वायु ऊर्जाले पंखा घुम्ने गर्दछ । असाधारण कल्पना गरेरै उनले जहाज बनाए । अबको लक्ष्य भनेको उड्न सक्ने जहाज बनाउने हो । लक्ष्य पूरा गरेरै छाड्ने अठोट लिएका उनले पहिला उड्ने जहान नै बनाउने योजना बनाएका थिए ।
पहिलोपटक चाइनाबाट सामान ल्याउने कम्पनीको ठगीमा परेर समयमै सामान आएन । दोस्रोपटक पुन: अर्काे कम्पन्नीमार्फत सामान मगाएका छन् । चाइनाबाट सामान आउने समय लाग्ने भएकाले घरकै छतमा पर्यटक लोभ्याउने हवाईजहाजको प्रतिमा बनाएका हुन् । कर्णाली राजमार्गको लाम्रा एैरेनी सडक खण्डमा उनको घर छ । आप्mनै घरको छतमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवाको विमान हवाईजहाज बनाएका हुन् ।