तलबभत्ता बढाउने नियमावली संशोधन अघि बढाउन सेबोनका कर्मचारीको दबाब

बुधबार, ४ भदौ, २०८२
डिजिटल संस्करण

नेपाल धितोपत्र बोर्डका कर्मचारीहरूले सेवा–सुविधा बढाउने गरी प्रस्ताव गरिएको ‘कर्मचारी सेवा सर्त नियमावली २०६८’ को संशोधन अघि बढाउन दबाब दिएका छन् । लामो समयदेखि अर्थ मन्त्रालयमा अल्झिएको नियमावली संशोधन तत्काल स्वीकृत गराउन बोर्डका कर्मचारी युनियनले सेबोन अध्यक्ष सन्तोषनारायण श्रेष्ठको मंगलबार ध्यानाकर्षण गराएका हुन् ।

बोर्डमा भइरहेको अनियमितता र कर्मचारी अधिकारमाथि अतिक्रमण भएको भन्दै ध्यानाकर्षणपत्रमा गम्भीर आपत्ति जनाएको छ । युनियनले ध्यानाकर्षणपत्रमार्फत मूल्यांकन फारामदेखि तलबभत्ता रोकावट, नियमावली अल्झिने समस्या, तालिममा असमान अवसरलगायतका मुद्दा उठाउँदै तत्काल सुधार गर्न चेतावनी दिएको छ । ‘नियमावली तत्काल स्वीकृत गरी लागू गर्नुपर्ने र संशोधन नहुँदासम्म दरबन्दी र संगठन तथा व्यवस्थापन सर्वेक्षणजस्ता काम अगाडि नबढाइयोस्,’ पत्रमा उल्लेख छ। 

युनियनले ८ असोज ०८१ मा बोर्डसँग सम्बन्धित विषयमा औपचारिक ध्यानाकर्षण गराइसकेको थियो । तर, नयाँ अध्यक्ष नियुक्त भएपछि समेत उठाइएका विषय उपेक्षा भएको भन्दै पुन: ध्यानाकर्षण गराएको हो । बढुवामा ५० अंकभार हुने कार्यसम्पादन मूल्यांकन फाराम नियमविपरीत मनपरी भरिएको, कतिपयमा दोहोरो मूल्यांकन भएको र व्यक्तिविशेषलाई फाइदा पुग्ने गरी निर्णय भएको । यस्तो फाराम बदर गर्न माग गरिएको छ ।

प्रसूति/घर बिदामा रहेका कर्मचारीको तलब, पारितोषिक, औषधि खर्चलगायत नियमानुसार पाउने सुविधा रोकिएको उनीहरूको गुनासो छ । यस्तो कदम आपत्तिजनक भएकाले सबै सुविधा समयमै उपलब्ध गराउन माग राखेका छन् ।  कर्मचारीले लामो समयदेखि माग गर्दै आएको एकीकृत कर्जा कार्यविधि तत्काल स्वीकृत गरी लागू गर्नुपर्ने, बोर्डका उच्च तहका कर्मचारीलाई नीतिगत काममा केन्द्रित गराई, तालिम, सुपरिवेक्षण, प्राथमिक निष्कासन अवलोकनजस्ता ‘अपरेसनल’ काममा व्यवस्थापन तहका कर्मचारीलाई जिम्मेवारी दिने नीति अवलम्बन गर्न, करार नियुक्तिमा मनपरी नगर्न, लोकसेवा आयोगको सामान्य सिद्धान्तविपरीत हुने गरी मनपरी करार नियुक्ति नगर्न चेतावनी दिइएको छ ।

सुझावित समाचार