ओलम्पिक विवाद चर्किँदै : आठ महिनापछि खुल्यो ओलम्पिक भवनको ताला

बुधबार, ४ भदौ, २०८२
डिजिटल संस्करण
  • गत हप्ता मात्रै एनओसी तदर्थ समिति गठन गरेको खेलकुद मन्त्रालयले प्रहरीको कडा सुरक्षाबिच ताला खोलेको छ

खेलकुद मन्त्रालयले गठन गरेको नेपाल ओलम्पिक कमिटी (एनओसी)को तदर्थ समितिले मंगलबार सातदोबाटोस्थित ओलम्पिक भवनमा लागेको ताला खुलेको छ । आठ महिनापछि ओलम्पिक भवनभित्र खेल संघका पदाधिकारी भित्र प्रवेश गरेका छन् । गत माघमा खेलकुदमन्त्री तेजुलाल चौधरीले अवैधानिक रूपमा ओलम्पिक निर्वाचन गरेको भनी जीवनराम श्रेष्ठ नेतृत्वको एनओसीले दैनिक काम सञ्चालन गर्दै आइरहेको ओलम्पिक भवनमा तालाबन्दी गराएका थिए ।

आठ महिनापछि ओलम्पिक भवनको ताला खुलाउन मन्त्रालयमार्फत जिल्ला प्रशासनमा पत्राचार भएको तदर्थ समितिका संयोजक समिम मियाँ अन्सारीले बताए । उनले समितिले केही दिनमा ओलम्पिक भवनबाट काम थालनी गर्ने बताएका छन् । ‘ओलम्पिक भवनको ताल्चा खोल्न राष्ट्रिय खेलकुद परिषद् र खेलकुद मन्त्रालयमा पत्राचार गरेका थियौँ । त्यसपछि मन्त्रालयले गृह मन्त्रालयलाई सहजीकरण गर्न आग्रह गरेको थियो । गृहले जिल्ला प्रशासनलाई ताल्चा खुलाउन निर्देशन दिएको होे,’ अन्सारीले भने, ‘हामीले बल लगाएर ओलम्पिक भवनभित्र प्रवेश गरेका होइनौँ ।’

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का कार्यकारी सदस्यद्वय कमलबहादुर भट्टराई, भानबहादुर चन्द र राखेपका कर्मचारी ताल्चा खोल्न पुगेका थिए । गत माघमा भट्टराईको नेतृत्वमा नै गृह मन्त्रालयको आदेशमा सरकारले ओलम्पिक कमिटीको भवनमा ताल्चा लगाएको थियो । एनओसीको मुख्य भवनको ताला खोल्नका लागि ओलम्पिकमा आबद्ध ब्याडमिन्टन, फेन्सिङ, ट्रायोथलन, कुस्ती, जिम्न्यास्टिक र बक्सिङ संघका पदाधिकारी थिए । गत २६ साउनमा खेलकुद मन्त्रालयले नेपाल ओलम्पिक कमिटीका पूर्वअध्यक्ष ध्रुवबहादुर प्रधानको अध्यक्षतामा नौ सदस्यीय तदर्थ समिति गठन गरेको थियो । प्रधानको अध्यक्षतामा गठन भएको समितिलाई २३ वटा संघले समर्थन गरेका छन् । यसअघि प्रधानले अध्यक्षमा एनओसीमा दुई कार्यकाल अध्यक्ष र महासचिवका रूपमा काम गरेका थिए । उनी अहिले पनि एनओसीका मानार्थ अध्यक्ष हुन् ।

तदर्थ समितिले यसै साता पत्रकार सम्मेलन गरी आफ्नो नीति तथा योजना सार्वजनिक गर्ने कार्यक्रम रहेको अन्सारीले जानकारी दिएका छन् । ‘नेपाल ओलम्पिक कमिटीले आगामी दिनमा आयोजना हुने ओलम्पिक कार्यक्रमअन्तर्गतका बृहत् खेलकुद प्रतियोगितादेखि नेपालको अन्तर्राष्ट्रिय सहभागितालाई निधो गरी खेलाडीको खेल्न पाउने अधिकार र भविष्यलाई सुनिश्चित गर्न काम गर्नेछ,’ उनले भने, ‘अहिले एनओसी नेतृत्वविहीन अवस्थामा रहेको छ । वर्तमान उत्पन्न समस्यालाई दिगो समाधान गरी खेलाडीहरूको भविष्य सुनिश्चित गर्न छिट्टै कामको थालनी हुनेछ ।’ अर्को वर्ष जापानमा हुने २०औँ एसियन खेलकुद प्रतियोगितामा नेपालको सहभागिता सुनिश्चित भएको उनको भनाइ छ ।

तीन महिनाभित्र निर्वाचन
तदर्थ समितिले तीन महिनाभित्र निर्वाचन गरी अन्तर्राष्ट्रिय मान्यताप्राप्त गर्ने दाबी गरेको छ । प्रवक्ता अन्सारीले ९० दिनभित्र ओलम्पिकमा देखिएका विवाद समाप्त गरी आधिकारिक ओलम्पिक कमिटी बन्ने बताए । ‘मन्त्रालयले हामीलाई तीन महिनाभित्र निर्वाचन गराउन निर्देशन दिएको छ । यसैअनुसार हामी काम गरिरहेका छौँ । 
समिति बनेपछि हामीले अहिलेसम्म गरेका काम पनि छिट्टै सार्वजनिक गर्दै छौँ,’ उनले भने, ‘निर्वाचनपछि नेपालमा एक मात्र आधिकारिक एनओसी हुनेछ । जुन कमिटीलाई आइओसी र ओसिएले मान्यता प्रदान गर्नेछ ।’ तर, अहिले पनि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) र ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए)ले एनओसीको अध्यक्षमा जीवनराम श्रेष्ठ र महासचिवमा राजीव श्रेष्ठलाई आधिकारिक प्रदान गरेका छन् । 

See More On

सुझावित समाचार