दोस्रो संस्करणको पर्वतीय दौड ४ असोजमा, पुरस्कार राशि दोब्बर

मंगलबार, २८ साउन, २०८२
डिजिटल संस्करण

तीन धार्मिक पर्यटकीय स्थललाई खेल पर्यटनका माध्यमबाट जोड्ने उदेश्यसँगै २७ सेप्टेम्बर अर्थात् विश्व पर्यटन दिवसको अवसरमा आयोजना हुने दोस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिता ०८२ को पुरस्कार राशि दोब्बर बनाइएको छ ।

पोखरा महानगरपालिका–२२ स्थित तीन धार्मिक पर्यटकीय स्थलहरू पुम्दी–भुम्दीमा रहेको विश्व शान्ति स्तूपा, पुम्दीकोटस्थित विशाल महादेव मूर्ति एवं निगाले डाँडास्थित बुद्धपार्कलाई खेल पर्यटनका माध्यमबाट जोड्ने उद्देश्यसहित पोखरा क्लिक प्रालिले ४ असोजमा आयोजना गर्ने दौडको राशि दोब्बर बनाएको प्रालिका अध्यक्ष एवं प्रतियोगिता संयोजक दीननाथ बरालले जानकारी दिए । 

बरालका अनुसार दौडको पुरस्कार राशि दोब्बर बनाइएसँगै खुलातर्फ प्रथम हुने धावकले ५० हजार, दोस्रोले ३०, तेस्रोले २०, चौथोले सात, पाँचौँले तीन हजार र छैटौँदेखि १०औं स्थान हात पार्ने धावकहरूले जनही एक हजार नगद, मेडल र प्रमाणपत्र पुरस्कार पाउने भएका छन्।

वडास्तरीय खुला, महिला र यू–१६ तर्फका विजेताले जनही १५ हजार र उपविजेताले सात हजार नगद, मेडल र प्रमाणपत्र पुरस्कार पाउने भएका छन् । यस वर्ष ४० वर्ष माथिका भेट्रान र विदेशी धावकलाई प्रोत्साहन पुरस्कारको समेत व्यवस्था गरेको संयोजक बरालले जानकारी दिए।

भेट्रान र विदेशीतर्फका विजेताले जनही १५ हजार नगद प्रोत्साहन पुरस्कार पाउने भएका छन् । बरालका अनुसार पहिलो संस्करणमा ६ जना धावकलाई पुरस्कृत गरिएकोमा यस वर्ष पुरस्कार राशि दोब्बरसँगै १८ जना धावक पुरस्कृत हुने भएका छन् । 

विश्व शान्ति स्तूपबाट सुरु हुने दौड पुम्दीकोटको महादेवको मूर्ति परिक्रमा गरी पोखरा वडा २२ कार्यालय हुँदै बुद्ध पार्कमा पुगेर समापन हुनेछ । खेल पर्यटनमार्फत पर्यटन प्रवर्द्धन गर्नेसँगै जोड्ने उद्देश्यसहित आयोजना गर्न लागिएको दौडको दूरी आठ किलोमिटर रहनेछ । दौडले समग्र पोखरा क्षेत्रको खेल पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने उनको दाबी छ। 
 

सुझावित समाचार