ताप्लेजुङ गोल्डकपमा सलहेशले फिदिम स्पोटिङ क्लबलाई ६–० हरायो

मंगलबार, २८ साउन, २०८२
डिजिटल संस्करण

ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको मंगलबार सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा सिरहाको सलहेश युवा क्लबले पाँचथरको फिदिम स्पोर्टिङ क्लबलाई ६–० को फराकिलो गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । 

चारजाना विदेशी खेलाडीसहित मैदानमा उत्रिएको सलहेस युवा क्लब सिराहाको तर्फबाट खेलको सुरुवातदेखि नै आक्रामक देखिएको सलहेश युवा क्लबले पाँचौँ मिनेटमै १ गोल गर्दै खाता खोलेको थियो । क्लबका विदेशी खेलाडी सोदिया आदमले सुरुमै गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसपछि खेलको ३५औं मिनेटमा सुजित बुढाथोकीले दोस्रो गोल थप्दा पाँचथरको दबाब अझै बढेको थियो । दुई मिनेटमै युसुफ मलिकले गोल गर्दै स्कोरलाई ३–० बनाए ।

खेलको ४२औं मिनेटमा पाँचथरका खेलाडीले आफ्नै पोष्टमा आत्मघाती गोल गरेपछि स्कोर ४–० पुग्यो । दोस्रो हाफमा पनि सहलेशले आक्रमण जारी राख्दै खेलको ६६औं मिनेटमा युसुफ मलिकले व्यक्तिगत दोस्रो तथा टिमको पाँचौं गोल लगाए । अन्ततः मोहित गुरुङले खेलको ८०औं मिनेटमा गोल गर्दै टिमलाई ६–० को ऐतिहासिक जित दिलाए ।

जितसँगै सलहेश युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ र अब बिहीबार रेड स्टार फुटबल क्लब, झापासँग भिड्नेछ । प्रतियोगिताको पहिलो सेमिफाइनल बुधबार हुनेछ, सुनसरीको द यङ ब्रदर्स क्लब र ललितपुरको चर्च ब्वाइज क्लबबिच प्रतिस्पर्धा हुनेछ । गत वर्ष उपविजेता बनेको सलहेश युवा क्लब यसपटक उपाधि उचाल्ने योजनामा रहेको देखिन्छ ।

लाखेजात्रा सञ्चालन समितिको आयोजनामा भइरहेको प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट आएका आठ उत्कृष्ट टिमहरूको सहभागिता छ । फाइनल खेल आगामी शनिबार हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेता टिमले नगद सात लाख दुई हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले तीन लाख ५० हजार ८२ रुपैयाँ प्राप्त गर्नेछ । यस्तै, प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले मोटरसाइकल पाउनेछन् भने विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई समेत नगद पुरस्कार प्रदान गरिनेछ ।
 

सुझावित समाचार