कोशी प्रदेश सभाका ३२ महिना : दुई सांसद बोल्दै बोलेनन्, चारजना एकचोटि मात्र बोले

मंगलबार, २१ साउन, २०८२
डिजिटल संस्करण

११ पुस ०७९ मा सुरु भएको कोशी प्रदेश सभाको दोस्रो कार्यकालको ३२ महिनामा यतिवेला सातौँ अधिवेशन सञ्चालन भइरहेको छ । १८ साउनसम्म सभाको १२१ बैठक सम्पन्न भइसकेका छन् । तर, जनताका लागि आवाज उठाउन निर्वाचित भएर आएका ९३ सांसदमध्ये दुईजना सांसद एकपटक पनि बोलेका छैनन् ।

३२ महिनाको अवधिमा कोशी प्रदेश सभामा एकपटक पनि नबोल्ने सांसदमा एमालेका नम्बरलाल धिमाल र कांग्रेसकी लीलाकुमारी राई छन् । शून्य समय, विशेष समय, सैद्धान्तिक र अन्य छलफलमा दुवैजना एकपटक पनि बोलेका छैनन् ।

प्रदेश सभामा सांसदहरूले आ–आफ्नो निर्वाचन क्षेत्रका समस्या तथा सुधारका सुझावसहित प्रदेशका मुख्य समस्याबारे सरकारको ध्यानाकर्षण गराउने गरेका छन् । अधिवेशनभरि एकपल्ट मात्र बोले सांसदमा मोरङ ५ (१) बाट निर्वाचित कांग्रेस सांसद अमृतकुमार अर्याल, मोरङ ६ (१)बाट निर्वाचित माओवादी सांसद जीवन आचार्य, मोरङ ३ (२)बाट निर्वाचित एमाले सांसद ज्ञानेन्द्र सुवेदी र मोरङ ३(१) बाट निर्वाचित कांग्रेस सांसद मानबहादुर लिम्बू छन् ।

झापाका कांग्रेस सांसद मोहन महर्जन, पूर्वसभामुखसमेत रहेका बाबुराम गौतम र सुनसरी १(२)का एमाले सांसद विजयकुमार राई तीनपटक बोलेका छन् । सोलुखुम्बुकी कांग्रेस समानुपातिक सांसद डोल्मा तामाङ ११ पटक, संखुवासभा १ (१)का माओपादी सांसद राजेन्द्र कार्की चारपटक सुनसरीकी कांग्रेस सांसद ममता तामाङ मगर चारपटक र मोरङकी एमाले सांसद नुरसदी बेगम चारपटक बोलेका छन् ।

प्रदेश सभाको अभिलेखअनुसार सोलुखुम्बु १(१)  बाट निर्वाचित माओवादी सांसद गोम्बु शेर्पा सबैभन्दा बढी ४६ पटक बोलेका छन् । तेह्रथुम १ (१) बाट निर्वाचित एमाले सांसद किशोरचन्द्र दुलाल ३६ पटक, मोरङबाट समानुपातिक कांग्रेस सांसद शोभा चेम्जोङ ३३ पटक, सुनसरीकी समानुपातिक एमाले सांसद मीना श्रेष्ठ २६ पटक, सुनसरी २ (२)बाट निर्वाचित एमाले सांसद रामप्रसाद महतो २५ पटक, तेह्रथुमबाट समानुपातिक एमाले सांसद कमला दर्नाल २४ पटक र झापा ४(१) बाट निर्वाचित सांसद राधाकृष्ण खनालले २४ पटक बोलेका छन् ।

कोशी प्रदेश सभामा रहेका ९३ जना सांसदमध्ये सांसदहरूले ५२४ पटक शून्य समयमा सामाजिक, प्रशासनिक तथा आर्थिक सवालमा पनि सांसदहरूले आफ्नो धारणा राख्दै जनहितका विषय उठाएका छन् । कोशी प्रदेश सभाको अवधिमा सांसदहरूले शून्य समयमा ५२४ पटक, विधेयकको सैद्धान्तिक छलफलमा ४३० पटक, विशेष समयमा ९३ पटक, दलको तर्फबाट ५७ र अन्य छलफलमा ३२ पटक गरी जम्मा ३२ महिनाको ९६० दिनमा ११ सय ३६ पटक बोलेका छन् ।

सामाजिक विकास मन्त्रालयको कानुनी परामर्शदाता रहिसकेका अधिवक्ता कोषराज न्यौपानेले सांसद भएपछि एकपल्ट पनि नबोल्नु र बोले पनि एक–दुईपटक मात्र बोल्नु नागरिकहरूको अधिकारका पक्षमा मौन बस्नुजस्तै भएको बताए । ‘लोकतान्त्रिक अभ्यासमा जनप्रतिनिधिले संसदमा नबोल्नु जनतासामु प्रत्यक्ष जवाफदेहिताको कमी मानिन्छ, यसैले जति धेरै प्रभावकारी रूपमा सांसदरूले संसद्को बैठकमा बोलेर सहभागिता जनाउँछन्, उति नै संसद् जनउत्तरदायी बन्छ र समस्या समाधान गर्न सरकार पनि बाध्य हुन्छ,’ उनले भने । 

मुख्यमन्त्री हिक्मतकुमार कार्की दुईपटक, पूर्वमुख्यमन्त्री केदार कार्की १० पटक र पूर्वमुख्यमन्त्री उद्धव थापा आठपटक बोलेका छन् । माओवादी नेता इन्द्र आङ्बो १९ पटक, एकीकृत समाजवादीका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राई १६ पटक, राप्रपा नेता भक्तिप्रसाद सिटौला १७ पटक, जसपा नेता सिर्जना लिम्बू सातपटक बोलेका छन् ।

सुझावित समाचार