नेपालगन्ज भन्सारको राजस्व संकलन खस्किँदो, गत आवमा लक्ष्यभन्दा करिब सात अर्ब कम संकलन

मंगलबार, २० साउन, २०८२
डिजिटल संस्करण

गत आर्थिक वर्ष ०८१/८२ मा नेपालगन्ज भन्सार कार्यालयले लक्ष्यभन्दा २५.३६ प्रतिशत कम राजस्व संकलन गरेको छ । सरकारले नेपालगन्ज भन्सारलाई २७ अर्ब १८ करोड ३५ लाख ८९ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य दिएको थियो । तर, गत आवमा कार्यालयले २० अर्ब २८ करोड सात लाख मात्रै राजस्व संकलन गरेको हो । यो कुल लक्ष्यको ७४.६४ प्रतिशत मात्रै हो । 

कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलले लक्ष्यभन्दा ६ अर्ब ८९ करोड ६३ लाख ८९ हजार रुपैयाँ कम राजस्व संकलन भएको बताए । गत दुई आर्थिक वर्षदेखि लगातार लक्ष्यभन्दा कम राजस्व असुली गरेपछि राजस्व विभागले चालू आर्थिक वर्षका लागि लक्ष्य घटाएको उनले बताए । लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेको भएपनि अघिल्लो आर्थिक वर्षको तुलनामा भने बढेको देखिन्छ ।

‘अघिल्लो आर्थिक वर्षको तुलनामा दुई अर्ब १२ करोड ९९ लाख अर्थात् ११.७३ प्रतिशत बढी राजस्व संकलन भएको छ,’ उनले भने । अघिल्लो आवमा १८ अर्ब १५ करोड ७२ लाख असुली भएको थियो । चालू आवमा २४ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य कार्यालयले पाएको पौडेलले जानकारी दिए ।

भन्सार कार्यालयपरिसरमा रहेका सामान तथा गाडीको लिलाम बिक्री गरी तीन करोड ७६ लाख रुपैयाँ संकलन भएको छ । नेपालगन्ज हुँदै जडीबुटी र प्लाइउड निर्यात बढ्दा अघिल्लो आवको तुलनामा गत आवमा राजस्व बढेको उनले बताए । निर्यातबाट वार्षिक दुई करोड ९० लाख रुपैयाँ राजस्व संकलन भएको उनको भनाइ छ ।  

प्रमुख भन्सार अधिकृत पौडेलका अनुसार सबैभन्दा बढी खयर कत्था निर्यातबाट राजस्व संकलन भएको छ । 

सुझावित समाचार