नेपालमा कार्यालय नखोली ४९ विदेशी पुनर्बिमा दलाल कम्पनी (रि–इन्स्योरेन्स ब्रोकर)ले नियमविपरीत कारोबार गरिरहेको पाइएको छ । नेपाल बिमा प्राधिकरणमा सूचीकरण भएको ६ महिनाभित्रै नेपालमा कार्यालय स्थापना गर्नुपर्ने नियम रहेको छ । तर, बिमा प्राधिकरणमा सूचीकृत ५४ विदेशी रि–इन्स्योरेन्स ब्रोकर कम्पनीमध्ये पाँचवटाले मात्रै नेपालमा शाखा कार्यालय खोलेर कारबोर गरिरहेका छन् ।
प्राधिकरणमा सूचीकृतमध्ये भारतका जेबी बोडा इन्स्योरेन्स एन्ड रि–इन्स्योरेन्स ब्रोकर्स प्रालिले नक्सालमा, श्रीधर इन्स्योरेन्स ब्रोकर प्रालिले टेकुमा र फस्र्ट पोलिसी इन्स्योरेन्स ब्रोकर्स प्रालिले बालुवाटारमा शाखा कार्यालय खोलेका छन् । त्यस्तै, मलेसियाको सिनर्जी रि–इन्स्योरेन्स लवुअन लिमिटेडले हात्तीसारमा र सिंगाापुरको युआइबी एसिया रि–इन्स्योरेन्स ब्रोकर्स प्रालिले बखुन्डोरमा कार्यालय स्थापना गरेका छन् ।
प्राधिकरणले पटक–पटक ताकेता गर्दासमेत ४९ ब्रोकरले भने नेपालमा कार्यालय स्थापना गरेका छैनन् । केही कम्पनीले भने कार्यालय खोल्ने अनुमतिका लागि प्राधिकरणमा आवेदन दिएका छन् । प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले सूचीकृत बहुमत रि–इन्स्योरेन्स ब्रोकरले अझै पनि कार्यालय स्थापना नगरेको बताए ।
बिमा कम्पनीहरूले लिएको जोखिम (व्यवसाय) सबै आफैँ धारण गर्न सक्दैनन् । त्यो अवस्थामा उनीहरूले आफूले धारण गर्न सक्ने जोखिम राखेर बाँकीको पुनर्बिमा (बिमाको पनि बिमा) गर्छन् । नेपालबाट पुनर्बिमाका लागि वार्षिक करीब १४ अर्ब रुपैयाँ बाहिरिने गरेको बिमा कम्पनीहरूको अनुमान छ । नेपाली बिमा कम्पनीले ब्रोकर वा सीधै पुनर्बिमा कम्पनीमा गएर पुनर्बिमा गर्न सक्छन् । त्यसरी नेपाली बिमा कम्पनीसँग कारोबार गर्ने रि–इन्स्योरेन्स ब्रोकर तथा पुनर्बिमा कम्पनी प्राधिकरणमा सूचीकरण हुनुपर्छ । त्यसमा ब्रोकरले नेपालमै कार्यालय स्थापना गर्नुपर्ने व्यवस्था छ ।
बिमा कम्पनीहरूले ब्रोकरमार्फत पुनर्बिमा गरेका हुन्छन् । तर, ब्रोकरको कार्यालय नहुँदा उनीहरूलाई दाबी प्रक्रिया नै अघि बढाउन समस्या भइरहेको छ । त्यसमाथि दाबी प्रक्रियाको ताकेता गर्न पनि समस्या भइरहेको छ । साथै, पछिल्लो समय पुनर्बिमा कम्पनीबाट आउने दाबी भुक्तानीमा पनि ढिलाइ हुने गरेको छ । त्यस्ता समस्यालाई समाधान गर्ने उद्देश्यले रि–इन्स्योरेन्स ब्रोकरलाई नेपालमा शाखा कार्यालय खोल्न कडाइ गर्न लागिएको हो ।
विदेशी ब्रोकरले नेपालमा शाखा कार्यालय स्थापना गर्दा ५० हजार डलर जमानत राख्नुपर्छ । कार्यालय स्थापना र सञ्चालनमा पनि खर्च हुन्छ । जमानत र खर्चकै कारण उनीहरूले शाखा खोल्न आनाकानी गरिरहेको जानकारहरू बताउँछन् ।
पुससम्म कार्यालय खोल्नुपर्ने म्याद
नेपाल बिमा प्राधिकरणमा सूचीकरण भई नेपाली बजारमा कारोबार गर्दै आएका विदेशी पुनर्बिमा दलाल कम्पनी (रि–इन्स्योरेन्स ब्रोकर)ले आगामी पुस मसान्तभित्र यहाँ कार्यालय स्थापना गर्नुपर्ने भएको छ । प्राधिकरणले पटक–पटक निर्देशन दिँदा पनि विदेशी पुनर्बिमा दलाल कम्पनीले नेपालमा कार्यालय स्थापना गर्न आनाकानी गर्दै आएका थिए । प्राधिकरणले ‘बिमाको पुनर्बिमा निर्देशका, २०८०’ संशोधन गर्दै उनीहरूलाई पुस मसान्तसम्म शाखा कार्यालय खोल्न निर्देशन दिएको हो ।
प्राधिकरणले गत चैत १० गते नै तीन महिनाको समय अवधि दिएर कार्यालय स्थापना गर्न निर्देशन दिएको थियो । त्यसपछि त्यो म्याद थप गरेर असार मसान्तसम्म पुर्याइयो । त्यसपछि निर्देशिका नै संशोधन गरेर पुस मसान्तसम्मको म्याद दिइएको हो । यो अन्तिम अल्टिमेटम भएको प्राधिकरणको भनाइ छ । ‘प्राधिकरणबाट सूचीकरण नम्बर प्राप्त गर्ने पुनर्बिमा दलालले ०८२ साल पुस मसान्तभित्र शाखा तथा सम्पर्क कार्यालय वा संयुक्त लगानीमा कार्यालय स्थापना गरिसक्नुपर्नेछ,’ संशोधित निर्देशिकामा भनिएको छ । विदेशी रि–इन्स्योरेन्स ब्रोकरले नेपालमा शाखा, सम्पर्क वा संयुक्त लगानीका रूपमा कार्यालय स्थापना गर्न सक्नेछन् ।
प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले रि–इन्स्योरेन्स ब्रोकरले पुस मसान्तसम्म कार्यालय स्थापना गर्नुपर्ने बताए । ‘केही ब्रोकरहरूले शाखा कार्यालय नखोलेको देखियो । अझै केही बाँकी छन्,’ उनले भने, ‘त्यसैले पुससम्म शाखा खोल्न निर्देशन दिएका हौँ ।’
प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदी भन्छन्–
प्राधिकरणमा सूचीकृत बहुमत रि–इन्स्योरेन्स ब्रोकरले अझै पनि कार्यालय स्थापना गरेका छैनन् । पुनर्बिमाबाट आउने दाबी भुक्तानीलाई प्रभावकारी बनाउन उनीहरूलाई शाखा कार्यालय खोल्न अनिवार्य गरिएको छ । पुससम्म अन्तिम म्याद छ ।
नेपालमा कार्यालय नखोलेका विदेशी रि–इन्स्योरेन्स ब्रोकर
- एक्सपेरिट्स इन्स्योरेन्स ब्रोकर्स प्रालि (भारत)
- पायोनियर इन्स्योरेन्स तथा पुनर्बिमा ब्रोकर्स प्रालि (भारत)
- महिन्द्रा इन्स्योरेन्स ब्रोकर्स लिमिटेड (भारत)
- अलर्ट इन्स्योरेन्स ब्रोकर्स प्रालि (भारत)
- इन्टरलिंक इन्स्योरेन्स तथा पुनर्बिमा ब्रोकिङ प्रालि (भारत)
- केएम दस्तुर पुनर्बिमा ब्रोकर्स प्रालि (भारत)
- विलिस इन्स्योरेन्स ब्रोकर्स कम्पनी लिमिटेड (चीन)
- केएम दस्तुर एन्ड कम्पनी प्रालि (मलेसिया)
- मनोज पुनर्बिमा ब्रोकर्स लिमिटेड (संयुक्त अरब इमिरेट्स)
- लकटन कम्पनिज इन्स्योरेन्स ब्रोकर्स लिमिटेड (चीन)
- प्रोटेक्सन इन्स्योरेन्स सर्भिसेस डब्ल्युएलएल (बहराइन)
- रिस्क केयर इन्स्योरेन्स ब्रोकिङ सर्भिसेस प्रालि (भारत)
- सलासर सर्भिसेस इन्स्योरेन्स ब्रोकर्स प्रालि (भारत)
- प्रुडेन्ट इन्स्योरेन्स ब्रोकर्स प्रालि (भारत)
- युनिलाइट पुनर्बिमा ब्रोकर्स प्रालि (भारत)
- विलिस टावर्स वाटसन इन्स्योरेन्स ब्रोकर्स प्रालि (भारत)
- बिकन इन्स्योरेन्स ब्रोकर्स प्रालि (भारत)
- इन्फिना पुनर्बिमा ब्रोकिङ प्रालि (भारत)
- फल्क्रम ग्लोबल पुनर्बिमा ब्रोकर्स प्रालि (माउरिसस)
- एसिई इन्स्योरेन्स ब्रोकर्स प्रालि (भारत)
- जेबी बोडा एन्ड कम्पनी (एस) प्रालि (सिंगापुर)
- जेबी बोडा एन्ड कम्पनी (युके) लिमिटेड (लन्डन)
- हेरिटेज इन्स्योरेन्स ब्रोकर्स प्रालि (भारत)
- सिम्बो ब्रोकर्स प्रालि (सिंगापुर)
- भारत पुनर्बिमा ब्रोकर्स प्रालि (भारत)
- झोङहुई इन्टरनेसनल इन्स्योरेन्स ब्रोकर्स कम्पनी लिमिटेड (चीन)
- युनिसन अनप्यारालल इन्स्योरेन्स सोलुसन्स (भारत)
- एलायन्स ब्रोकर्स प्रालि (भारत)
- जियाङ टाई इन्स्योरेन्स ब्रोकर्स कम्पनी लिमिटेड (चीन)
- जेके इन्स्योरेन्स ब्रोकर्स लिमिटेड (भारत)
- इन्डिया इन्स्योर रिस्क म्यानेजमेन्ट एन्ड इन्स्योरेन्स ब्रोकिङ सर्भिसेस प्रालि (भारत)
- चेडिड युरोप इन्स्योरेन्स एन्ड पुनर्बिमा ब्रोकरेज लिमिटेड (साइप्रस)
- हाउडेन इन्स्योरेन्स ब्रोकर्स इन्डिया प्रालि (भारत)
- ल्होजोङ इन्स्योरेन्स ब्रोकर्स प्रालि (भुटान)
- कन्टिनेन्टल इन्स्योरेन्स ब्रोकर्स लिमिटेड (चीन)
- एस्पायर इन्स्योरेन्स ब्रोकर्स प्रालि (भारत)
- विलिस लिमिटेड (लन्डन)
- जेनिसिस रिस्क म्यानेजर्स (माउरिसस)
- सिनो इन्स्योरेन्स ब्रोकर्स लिमिटेड (हङकङ)
- के इन्टरनेसनल एएमइए लिमिटेड (संयुक्त अरब इमिरेट्स)
- विलिस टावर्स वाटसन ब्रोकर्स प्रालि (सिंगापुर)
- चार्टर गिलम्यान इन्स्योरेन्स ब्रोकर्स लिमिटेड (हङकङ)
- टङचाङ इन्स्योरेन्स ब्रोकर्स कम्पनी लिमिटेड (चीन)
- टाइजरस् इन्स्योरेन्स ब्रोकर्स लिमिटेड (लन्डन)
- एयर युनियन इन्स्योरेन्स ब्रोकर्स कम्पनी लिमिटेड (चीन)
- एमएनके री लिमिटेड (डिआइएफसी) (संयुक्त अरब इमिरेट्स)
- प्रोटेक्सन री (बहराइन)
- अकुर्रा इन्टरनेसनल लिमिटेड (मलेसिया)
- रिस्क एक्सचेन्ज (डिआइएफसी) लिमिटेड (संयुक्त अरब इमिरेट्स) ।