राजनीतिक दाउपेचले अलपत्र झापाको आदिवासी रंगशाला

तत्कालीन रक्षामन्त्री विद्या भण्डारीले ०६७ मा शिलान्यास गरेको रंगशालामा बार लगाउने काम पनि अधुरै

बिहिबार, १६ साउन, २०८२
डिजिटल संस्करण
राजनीतिक दाउपेचले अलपत्र झापाको आदिवासी रंगशाला

कमल– ५ मा निर्माणाधीन आदिवासी रंगशालाको कम्पाउन्ड वाल ।

प्रधानमन्त्री केपी ओली र झापाको कमल गाउँपालिकास्थित आदिवासी रंगशालाबिच गजबको संयोग छ । ओली सत्ताको नेतृत्वमा रहँदा आदिवासी रंगशालाका लागि बजेट नआउने र उनी सत्ताबाहिर रहँदा बजेट पर्ने गरेको छ । कांग्रेस र माओवादीबिचको गठबन्ध सरकारले ०८०/८१ आर्थिक वर्षमा आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानमा रंगशाला निर्माणका लागि एक करोड रुपैयाँ बजेट विनियोजन भएको थियो । अहिलेसम्म यो रंगशालाको नाममा चार करोड बजेट विनियोजन गरिसकेको छ । 

आदिवासी रंगशालाका नाममा आर्थिक वर्ष ०६७/६८ मा एक करोड ०७०/७१ मा डेढ करोड, ०७१/७२ मा ३५ लाख रुपैयाँ विनियोजन भएको थियो । तत्कालीन सरकारले ०७२/७३ मा आदिवासी रंगशालाको नामै परिवर्तन गरेर मदन भण्डारी रंगशालाको नाममा ४० लाख बजेट विनियोजन गरेसँगै विवाद भएको थियो । त्यसपछि भने रंगशाला निर्माणको काम हुन सकेको थिएन । आर्थिक वर्ष ०८०/८१ मा सरकारले आदिवासी रंगशालाकै नाममा एक कारोड बजेट विनियोजन गरेपछि बार लगाउने काम भएको छ । आर्थिक वर्ष ०८०/८१ मा उपभोक्ता समिति बनाएर राष्ट्रिय खेलकुद परिषद्को ७६ लाख ५२ हजार २३६ र उपभोक्ताबाट ८ लाख ५४ हजार ६९२ गरी कुल ८५ लाख ४६ हजार ९२९ रुपैयाँमा ३७३ मिटरको वाल लगाइएको थियो । आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानका अध्यक्ष एवं कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई बताउँछन् । ३४३ मिटरको वाल लगाउने भनिएको भए पनि स्टिमेटभन्दा बढी काम भएको अध्यक्ष राईको भनाइ छ । 

आर्थिक वर्ष ०८१/८२ देखि भने यो रंगशालालाई बजेट नै परेन । ओली प्रधानमन्त्री भएपछि ०८२/८३ को बजेटमा यो रंगशालाको नामोनिसाना देखिएन । सरकारले आदिवासी रंगशालादेखि १० किलोमिटर पश्चिम उत्तरमा रहेको ओलीको गृहनगर दमक– ३ स्थित हम्सेदुम्से सामुदायिक वन क्षेत्रमा भव्य मदन भण्डारी रंगशाला बनाउन बजेट राख्यो । चालू आर्थिक वर्ष ०८२/८३ को बजेटमा झापा स्पोर्टस् भिलेज (मदन भण्डारी रंगशाला) दमक झापाको नाममा तीन करोड बजेट विनियोजन भएको छ । यो रंगशाला निर्माणका लागि ओलीले आफू प्रधानमन्त्री हुँदा ०७८/७९ को बजेटमै दमक– ३ को यो ठाउँमा अन्तर्राष्ट्रियस्तरको मदन भण्डारी रंगशाला दुई वर्षभित्र सम्पन्न गर्ने भनेर योजना ल्याइएको थियो ।  

यसकारण अलपत्र आदिवासी रंगशाला 
यो रंगशालाको मैदान सम्याउनुअघि यहाँ आदिवासीको समाधिस्थल थियो । सशस्त्र प्रहरीको गण नै नजिक भएका कारण समाधिस्थल हटाएर रंगशाला बनाउने योजना अघि बढ्यो । रंगशालाको नाम आदिवासी रंगशाला राखिने भएपछि पुर्खाको चिहान भत्काउन आदिवासी जनजाति सहमत भएका थिए । रंगशाला बनाउन सुरु भए पनि सरकारले नाम परिवर्तन गरेपछि रंगशाला निर्माणको काम अलपत्र रह्यो ।

तत्कालीन रक्षामन्त्री विद्यादेवी भण्डारीले ०६७ मा आदिवासी रंगशालाको नाममा शिलान्यास गरेकी थिइन् । तर, ०७२ मा ओलीको दबाबमा सरकारले रंगशालाको नाम परिवर्तन गर्दै मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशालाको नाममा बजेट विनियोजन गरेको थियो । ०६७ देखि प्रत्येक वर्ष आदिवासी रंगशालाको नाममा बजेट निकासा हुन्थ्यो । त्यसयता प्रत्येक वर्ष सरकारले मदन भण्डारी रंगशालाको नाममा बजेटमा समावेश गरे पनि आदिवासी जनजातिले विरोध गरेपछि कार्यान्वयन भने हुन सकेको थिएन ।

मदन भण्डारी रंगशाला दुई वर्षमै सक्ने योजना
दुई वर्षभित्र सम्पन्न गर्ने भनिएको दमक– ३ स्थित मदन भण्डारी रंगशालाको काम शून्य छ । ०७९ मा ठेक्का प्रक्रिया विवादित बन्दा सम्झौता चरणमा पुगेर रद्द भएको थियो । सार्वजनिक खरिद ऐनविपरीत आर्थिक प्रतिस्पर्धाविना नै साढे चार अर्बको ठेक्का लागेर राखेपले मुन्ना एन्ड आचार्य कन्स्ट्रक्सन, अल्कोर र ग्रेट स्पोर्टस् टेक ज्वाइन्ट भेन्चरलाई ठेक्का दिन आशयपत्रसमेत जारी गरिसकेको थियो । श्रेष्ठले जग्गासम्बन्धी विवादका कारण ठेक्का प्रक्रिया रद्द भएको दाबी गरेका छन् । कमलमा शिलान्यास भएको रंगशाला मदन भण्डारी रंगशालाको नाममा परिणत हुँदा आदिवासी रंगशाला वर्षौँदेखि अलपत्र भएको हो । सरकार परिवर्तनसँगै बजेट आउने र नआउने समस्याबाट दिक्क लागेको आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानका महासचिव दिपेन वाला राईले बताए । ‘सरकार परिवर्तनसँगै यस रंगशालाको नाममा कहिले बजेट आउने र कहिले नआउने गर्छ । यो घटना क्रमले हामीलाई दु:खी बनाएको छ,’ राईले भने । 

See More On

सुझावित समाचार