बराबरीमा रोकियो चर्च ब्वाइज

सोमबार, १३ साउन, २०८२
डिजिटल संस्करण

चर्च ब्वाइज युनाइटेडले एन्फा यू–१६ युथ लिगमा संकटा क्लबसँग २–२ को बराबरी नतिजा निकालेको छ । यस नतिजासँगै ९ खेलमा १९ अंक जोडेको संकटा दोस्रो स्थानमा उक्लिएको छ । चर्च ब्वाइज समान खेलबाट १४ अंकका साथ सातौँ स्थानमा छ । सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा आइतबार चर्च ब्वाइजका स्वप्निल दर्लान र अप्सन गुरुङले एक–एक गोल गरेका थिए । संकटका लागि पेम्बा तामाङ र प्रजलकुमार लुम्रेले गोल गरे । 

खेलको १९औँ मिनेटमा स्वप्निलले चर्च ब्वाइजलाई १–० को अग्रता दिलाए । खेलको ६०औँ मिनेटमा पेम्बाले पेनाल्टीमा गोल गरी संकटालाई १–१ को बराबरीमा ल्याए । खेलको ७६औँ मिनेटमा अप्सनले चर्च ब्वाइजलाई २–१ ले अगाडि राखे । खेलको ८९औँ मिनेटमा चर्च ब्वाइजका प्रजलले २–२ को बराबरीका लागि गोल गरे । 

अर्को खेलमा न्युरोड टिम (एनआरटी)ले प्लानिङ ब्वाइज युनाइटेडमाथि ५–१ को जित निकाल्यो । जितसँगै ९ खेलमा ८ अंक जोडेको एनआरटी नवौँ स्थानमा उक्लिएको छ । प्लानिङ ब्वाइज समान खेलबाट ६ अंकका साथ १३औँ स्थानमा छ । एनआरटीका नीराजन दुलाल, ऋतिक फडेरा, सुनील घर्तीमगर, सुगम राना र प्रिन्स दुधराज विकले गोल गरे । प्लानिङ ब्वाइजका लागि ओम खड्काले गोल गरे ।

खेलको चौथो मिनेटमै ओमले प्लानिङलाई अग्रता दिलाएका थिए । खेलको २६औँ मिनेटमा नीराजनले एनआरटीलाई बराबरीमा ल्याए । त्यसपछि एनआरटीले उत्कृष्ट प्रदर्शन गर्यो । पहिलो हाफमा एनआरटीले ३–१ को अग्रता लिएको थियो । अर्को खेलमा फ्रेन्ड्सले एपिएफल क्लबलाई ३–१ ले हरायो । 

सुझावित समाचार