हिमाली जिल्ला मनाङ औषधीय जडीबुटी उत्पादनको केन्द्र मानिन्छ । पछिल्लो समय यहाँबाट आयुर्वेदिक औषधीय गुण भएका जडीबुटी निकासी बढ्दै गएको छ ।
आर्थिक वर्ष ०८१/८२ मा यार्सागुम्बा, वन लसुन र जिम्बु निकासीबाट रु. ३५ लाख ९१ हजार ९४० राजस्व संकलन गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इकाइ कार्यालयले जनाएको छ । इकाइ कार्यालयका प्रमुख ढकबहादुर भुजेलले गत वर्ष यार्सागुम्बा ११२.६९३ किलोग्राम निकासी गरिएको जानकारी दिए ।
उनका अनुसार उक्त परिमाणको यार्सागुम्बा निकासी गरेबापत रु. ३४ लाख ८५ हजार ९० राजस्व संकलन भएको छ । वन लसुन तीन हजार १८६.३०० किलोग्राम निकासीबापत रु. ९७ हजार ७५० र जिम्बु ९१० किलोग्राम निकासी गरेबापत रु. नौ हजार एक राजस्व संकलन भएको भुजेलले बताए।
उनले भने, ‘गत वर्ष तीन प्रकारका औषधीय जडीबुटी निकासी गरिएको छ । विगतमा जस्तो गुची च्याउ संकलन भएको पाइएन, तर पनि राजस्व बढेको छ ।’
यार्सागुम्बा टिप्न जिल्लाका ४८८ र बाह्य एक हजार ३६ र वन लसुनका लागि २१४ स्थानीय र ७१५ बाह्य व्यक्तिले पुर्जी लिएका थिए ।
आव ०८०/८१ मा यार्सागुम्बा, वन लसुन, जिम्बु र गुची च्याउ निकासी गरिएको थियो । जिम्बु ९३३ किलोग्राम निकासी गर्दा रु. १० हजार २८०, वन लसुन दुई हजार २०५ किलोग्राम निकासी गरी रु. ६६ हजार १५०, यार्सागुम्बा ७२.५४२ किलोग्राम निकासी गर्दा रु. २२ लाख ४८ हजार ९०२ र गुची च्याउ चार किलोग्राम निकासी गर्दा रु. दुई हजार गरी रु. २३ लाख २७ हजार ३३२ राजस्व संकलन गरिएको थियो ।
यस्तै, आव ०७९/८० मा औषधीय जडीबुटी निकासीबापत रु. २६ लाख २२ हजार ६६९ राजस्व संकलन गरिएको थियो । जिम्बु ११०८.१०० केजी निकासीबापत रु. ११ हजार ८१, वन लसुन १५६६.२०० केजी निकासीबापत रु. ४६ हजार ९९६, निगालो तीन हजार ३५० प्रतिगोटा निकासीबापत रु. तीन हजार ३५०, यार्सागुम्बा ८२.२०० केजी निकासीबापत रु. २५ लाख ४८ हजार २००, साधारण च्याउ ३३९ केजी रु. तीन हजार ३९० र टिम्बर २२.९८ क्युफिट निकासीबापत रु. नौ हजार ६५२ राजस्व संकलन भएको थियो ।
गत वर्षको तुलनामा केही जडीबुटी निकासी नगरिँदा पनि परिमाण वृद्धि हुँदा राजस्व बढेको प्रमुख भुजेलले बताए । ‘कम मूल्य पर्ने औषधीय जडीबुटी बढी परिमाणमा निकासी गरिएको छ भने केही जडीबुटीको निकासी नै गरिएको छैन । यस्तो अवस्थामा बढी मूल्य पर्ने जडीबुटीको परिमाण बढेको छ,’ उनले भने ।