आयोजक बंगलादेशले पाँचौँपटक साफ यू–२० महिला च्याम्पियनसिपको उपाधि जितेको छ । ढाकाको किंग्स रंगशालामा सोमबार भएको राउन्ड रोबिन लिगको अन्तिम खेलमा बंगलादेशसँग एकपक्षीय खेलमा ४–० ले पराजित नेपाल उपविजेतामा सीमित भएको छ । समग्रमा नेपाल तेस्रोपटक उपविजेता बनेको हो । यसअघि नेपाल सन् २०१८ र ०२३ को संस्करणमा पनि दोस्रो भएको थियो । नेपाल तीनैपटकको अवसरमा बंगलादेशसँग पराजित हुँदा दोस्रो स्थानमा सीमित रह्यो ।
यो साफ प्रतियोगिता बंगलादेश र भारतबाहेक अन्य राष्ट्रले जितेका छैनन् । यसपटक नेपालसमक्ष उपाधि जित्ने राम्रो अवसर थियो । घरेलु टोलीविरुद्ध जित निकाल्दा नेपाल पहिलोपटक विजेता बन्ने थियो । दोहोरो राउन्ड रोबिन लिगको निर्णायक खेलअघिसम्म नेपालले बंगलादेविरुद्ध गोलअन्तर उत्कृष्ट बनाएको थियो । तर, निर्णायक मोडमा नेपाल बंगलादेशसँग चुक्यो । यसअघि पहिलो चरणमा पनि नेपाल बंगलादेशसँग ३–२ ले पराजित भएको थियो ।
खेलअघि नेपालविरुद्ध प्रस्ट तीन अंकको अग्रता बनाएको बंगलादेशलाई बराबरीले पनि उपाधि उचाल्न काफी थियो । लगभग ड्राइभिङ सिटमा रहेको बंगलादेशले नेपालविरुद्ध रक्षात्मक खेल खेलेन । सुरुदेखि नै घरेलु टोलीले आक्रामक रणनीति अपनाउँदै नेपालमाथि दबाब बनाएको थियो । पाँचौँपटक बंगलादेशलाई च्याम्पियन बनाउन स्ट्राइकर सागोरिकाले ह्याट्रिक गरिन् ।
यसअघि राउन्ड रोबिन लिगमा सागोरिकाले नेपालसँगकै खेलमा रातो कार्ड व्यहोरेकी थिइन् । जसका कारण उनले तीन खेल गुमाइन् । नेपालविरुद्धको निर्णायक खेलमा उनी उपलब्ध भइन् । उनले आफ्नो सार्थकता पूरा गरिन् । नेपाली खेलाडीले उनलाई डिबक्सभित्र रोक्न सकेनन् ।
समग्रमा बंगलादेशले प्रतियोगितामा अपराजित रहँदै उपाधि रक्षा गर्यो । बंगलादेशले ६ खेलबाट सर्वाधिक १८ अंक जोड्यो । उसले विपक्षी पोस्टमा २८ गोल गर्दा चार गोल व्यहोरेको छ । दोस्रो स्थानमा रहेको नेपालले ६ खेलमा चार जितसहित १२ अंक जोडेको छ । नेपाल दुवै खेलमा बंगलादेशसँग पराजित भएको हो । तेस्रो स्थानमा रहेको भुटानको ६ अंक बनायो । श्रीलंका अंकविहीन रहँदै पुछारमा रह्यो । उसले ३८ गोल व्यहोरेको छ ।
पूर्णिमा सर्वाधिक गोलकर्ता
नेपालकी पूर्णिमा राई प्रतियोगिताकै सर्वाधिक गोलकर्ता बनेकी छिन् । उनले समग्रमा १० गोल गरिन् । प्रतियोगितामा दुई ह्याट्रिक लगाएकी थिइन् । दोस्रो स्थानमा बंगलादेशलाई च्याम्पियन बनाउन महŒवपूर्ण योगदान दिएकी सागोरिका रहिन् । उनी समग्रमा आठ गोल गर्न सफल भइन् । नेपालकी मीना देउवाको नाममा सात गोल रह्यो । बंगलादेशका शान्ति मार्दी र श्रीमोती तृष्णा रानीले समान चार गोल गरेका छन् ।
सागोरिकाको ह्याट्रिक
स्ट्राइकर सागोरिकाले नेपालको पोस्टमा ह्याट्रिकसहित चार गोल गर्न सफल भइन् । यसै खेलमा सागोरिकासँगै र नेपालकी सिमरन राई प्रतिस्पर्धामा उत्रिएका हुन् । अघिल्लो खेलमा दुवै खेलाडी एकआपसमा झडप हुँदा रातो कार्ड पाएका थिए । खेलको सातौँ मिनेटमा बंगलादेश १–० ले अघि रह्यो । पूजा दासको थ्रु पासमा तीन नेपाली डिफेन्डर र गोलरक्षक सुजता तामाङलाई बिट गर्दै सागोरिकाले बंगलादेशलाई १–० को अग्रता दिलाइन् । पहिलो हाफमा बंगलादेशलाई नेपालले १–० को गोलमा रोकेको थियो । मध्यान्तरपछि बंगलादेशले थप सुधारिएको प्रदर्शन गर्यो । नेपालले गोल अवसर निकाल्न नसक्नु र कमजोर डिफेन्स बनाउँदा बंगलादेशले थप तीन गोल गर्यो । खेलको ५१औँ मिनेटमा सागोरिकाले २–० का लागि गोल गरिन् । उनले थ्रु बलमा उत्कृष्ट ड्रिब्लिन गर्दै उत्कृष्ट गोल गर्न सफल भइन् । खेलको ५८औँ मिनेटमा उनले नेपालविरुद्ध ह्याट्रिक पूरा गरिन् । यसपटक उनले काउन्टरमा गोलरक्षक सुजतालाई चिप गोल गर्न सफल भइन् । खेलको ७८औँ मिनेटमा बंगलादेशले ४–० को अग्रता बनायो । नेपाली डिफेन्डर र गोलरक्षकलाई समेत बिट गर्दै सागोरिकाले व्यक्तिगत चौथो गोल गरेकी हुन् । खेलमा नेपालले एकपटक मात्र बंगलादेशको पोस्टमा चार्ज गरेको थियो । खेलको १९औँ मिनेटमा पूर्णिमा राईको हेडिङ क्रसबारमा लाग्यो । पछिल्लो खेलमा उत्कृष्ट प्रदर्शन गरेका पूर्णिमा र मीना यसपटक चल्न सकेनन् ।