मुख्य प्रशिक्षक वाइल्डले पठाए राजीनामा

३० असारमा एन्फाले मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डलाई उज्वेकिस्तानको घटनाका सम्बन्धमा विवरण पठाउन भन्दै स्पष्टीकरण सोधेको थियो, तर उनले सहकार्य गर्न नसक्ने भनी राजीनामापत्र पठाएका छन्

सोमबार, ६ साउन, २०८२
डिजिटल संस्करण

नेपाली महिला राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले पदबाट राजीनामा दिएका छन् । वाइल्डले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई पत्र पठाउँदैे मुख्य प्रशिक्षकबाट राजीनामा दिएको जनाएका छन् । गत ३० असारमा एन्फाले उज्वेकिस्तानमा भएको घटनाको विवरण पठाउन भन्दै उनलाई स्पष्टीकरण सोधेको थियो । तर, वाइल्डले उज्वेकिस्तानको घटनाबारे केही उल्लेख नगरी एन्फालाई राजीनामापत्र पठाएका हुन् । 

एन्फाले उनको राजीनामा स्वीकृत गरेकौ छैन । एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ अमेरिकामा छन् । नेम्वाङ आएपछि मुख्य प्रशिक्षकको राजीनामाबारे छलफल हुने एन्फा स्रोतले बताएको छ । ‘अध्यक्षज्यू अमेरिकामा हुनुहुन्छ । उहाँ आएपछि यसबारे छलफल हुन्छ,’ एन्फा स्रोतले भन्यो, ‘एक साताभित्र छलफल गरेर निर्णयमा पुग्छौँ ।’ एन्फाले मुख्य प्रशिक्षक वाइल्डलाई आफ्नो निर्णय पुनर्विचार गर्न एक साताको अवधि दिएको छ ।‘प्रशिक्षक वाइल्डलाई एक साताको समय दिएका छौँ । त्यसपछि के गर्ने भन्नेबारे एन्फा कार्यसमिति बैठकले औपचारिक निर्णय गर्नेछ,’ स्रोतले भन्यो, ‘उहाँसँग एक वर्षको सम्झौता छ ।’ 

कप्तान छनोटबारे विवाद
एएफसी एसियन कप छनोटअन्तर्गत उज्वेकिस्तानमा भएको खेलमा कप्तानीको विषयमा विवाद भएपछि एन्फाका अफिसियल र मुख्य प्रशिक्षक वाइल्डबिच विवाद भएको थियो । वाइल्डले कप्तानको नाम नदिँदा नेपाली टोलीका अफिसियलले आयोजकलाई रेनुका नगरकोटीलाई कप्तानसहित टोलीको नाम दिएका थिए । लाओसविरुद्धको पहिलो खेलमा नेपाली टोली मैदानभित्र प्रवेश गर्दा मुख्य प्रशिक्षक वाइल्डले स्ट्राइकर सावित्रा भण्डारीलाई कप्तानीको जिम्मेवारी दिए ।

यसै विषयमा मुख्य प्रशिक्षक र अफिसियलबिच विवाद भएको हो । नेपाली टोली फर्केपछिको एन्फाका अफिसियल र टोलीले पत्रकार सम्मेलन गर्दै उज्वेकिस्तानमा भएको घटनाको सबै दोष मुख्य प्रशिक्षक वाइल्डलाई लगाए । उज्वेकिस्तानमा पुगेको नेपाली टोलीकी हेड अफ डेलिगेट्स सरिला श्रेष्ठ, व्यवस्थापक विन्द्रा देवान र सहायक प्रशिक्षक राजेन्द्र तामाङसहितले पत्रकार सम्मेलनमा वाइल्डले लगाइएका आरोपलाई खण्डन गरेका थिए । 

२२ जेठमा नियुक्त
एन्फाले पहिलोपटक प्रो लाइसेन्सप्राप्त वाइल्डलाई नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त दिएको थियो । एन्फा र उनीबिच एक वर्षको सम्झौता भएको छ । तर, पछिल्लो विवादका कारण उनले कार्यभार सम्हालेको दुई महिना बित्न नपाउँदै पदबाट राजीनामा दिएका छन् । अर्को वर्ष अस्ट्रेलियामा हुने एसिया कपमा स्थान बनाउन नसकेपछि नेपाली टोली घर फर्किंदा वाइल्ड आएनन् । उनी उज्वेकिस्तानबाटै बेल्जियम फर्केका थिए । 

सुझावित समाचार