स्कटल्यान्ड अर्को वर्ष भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्ने आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको छनोट चरणबाट बाहिरिएको छ । युरोपियन क्षेत्रीय छनोटअन्तर्गत शुक्रबार जर्सीसँग एक विकेटले स्तब्ध हुँदा स्कटल्यान्ड विश्वकपमा पुग्न असफल भएको हो । जितसँगै जर्सीले विश्वकपमा स्थान बनाउने सम्भावना बलियो बनाएको छ । हागे मैदानमा पहिलो ब्याटिङ गरेको स्कटल्यान्डले २० ओभरमा सात विकेट गुमाएर एक सय ३३ रन बनाएको थियो । जर्सीले २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ३४ रन जोड्दै स्कटल्यान्डमाथि सनसनी जित निकाल्यो । जर्सीका निक ग्रिनवोले लक्ष्य पछ्याएको इनिङ्समा ३६ बल खेलेर सर्वाधिक ४९ रनको योगदान दिए । उनले सात चौका प्रहार गरेका थिए । जर्सीका अन्य कुनै पनि ब्याट्सम्यानले गतिलो योगदान दिन सकेनन् । तर, दशौँ विकेटसम्म जर्सीले आवश्यक साभेदारी गरेको थियो । जाकले १४ रन, जोन्टिजेनेरले १२ रन तथा बेन्जमिन वाडले १७ रनको योगदान दिए ।
स्कटल्यान्डको कमजोर ब्याटिङ
विश्वकपको आशा जीवितै राख्न स्कटल्यान्डलाई जित आवश्यक थियो । अघिल्लो खेलमा इटालीसँग स्तब्ध भएको अनुभवी एसोसिएट राष्ट्र स्कटल्यान्डले जर्सीलाई हराउनुपर्ने थियो । स्कटल्यान्डलाई लगातार दुई हारले विश्वकपमा पुग्न नसक्ने थाहा थियो । यसकारण जर्सीमाथि जितबाहेक कुनै विकल्प स्कटल्यान्डसँग थिए । पहिलो ब्याटिङ गरेको स्कटल्यान्डले गतिलो प्रदर्शन गर्न सकेन । निर्णायक खेलमा ब्याट्सम्यान चुकेका थिए । शीर्ष पाँच ब्याट्सम्यान सस्तै रनमा आउट भए । स्कटल्यान्डले ६.६ ओभरमा पाँच विकेट गुमाउँदा स्कोर बोर्डमा ४३ रन मात्र जोडेको थियो । त्यसपछि म्याथ्यु क्रोसले ४० बलमा ४३ रनको योगदान दिए । मार्क वाटले २४ बलमा एक छक्का र दुई चौकाको सहयोगमा २८ रन बनाए । बलिङको क्रममा जर्सीका ह्यारिसन कार्लोनले २६ रन खर्चेर तीन विकेट हात पारे ।
इटाली पहिलोपटक विश्वकपमा
युरोपियन छनोटबाट अप्रत्याशित नतिजा निकालेको इटाली पहिलोपटक विश्वकपमा छनोट भएको छ । प्रतियोगिताअन्तर्गत शुक्रबार नेदरल्यान्ड्ससँग नौ विकेटले पराजित भए पनि इटाली रनरेटका आधारमा दोस्रो स्थानमा रहँदै विश्वकपमा पुगेको हो । युरोपियन छनोटमा नेदरल्यान्ड्स शीर्ष स्थानमा रहँदै लगातार विश्वकपमा छनोट भएको छ । नेदरल्यान्ड्सले चार खेलमा तीन जित र एक हारको सामना गरी सर्वाधिक ६ अंक बनायो । दोस्रो स्थानमा रहेको इटालीले ५ अंक जोड्दा दुई जित र एक हार सामना गरेको छ । जर्सीले समान खेलबाट ५ अंक बटुलेको छ । तर, रनरेटमा पछाडि रहँदा जर्सी विश्वकपमा पुग्न असफल भयो । युरोपको एसोसिएट एकदिवसीय मान्यताप्राप्त राष्ट्र स्कटल्यान्ड छनोट खेलमा कमजोर देखियो । स्कटल्यान्डले सन् २००७ र २००९ को विश्वकप खेलेको थियो । सन् २०२१ को विश्वकपमा स्कटल्यान्डले बंगलादेशमाथि सनसनी जित निकालेको थियो ।