बाढीपीडितको उद्धार, राहत तथा पुनर्स्थापनामा सांसदहरूको जोड

बिहिबार, २६ असार, २०८२
डिजिटल संस्करण

सांसदहरूले ‘सुप्राग्लेसियल लेक’ (हिमताल) फुट्दा गत मंगलबार बिहान रसुवास्थित नेपाल–चीन सीमास्थित ल्हेन्दे खोलामा आएको बाढीबाट धनजनको क्षति भएकाले उद्धारको पर्खाइमा रहेकाको तत्काल उद्धार, राहत व्यवस्थापन र पुनर्स्थापनामा जोड दिएका छन् ।

आज संघीय संसद्, राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उनीहरूले विपतसँग जुध्न, प्रकोपपूर्व, प्रकोप परिसकेपछि आपतकालीन चरण र पुनर्स्थापनाको चरणमा सरकारले प्राथमिकताका साथ नीति कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

समितिका सभापति मायाप्रसाद शर्माले बाढीपीडितलाई समयमा उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माण गर्नुपर्ने तथा बस्ती र पूर्वाधार विपतमैत्री निर्माण गर्नुपर्नेमा जोड दिए । सांसद पदम परियारले बाढीबाट क्षति पुगेकालाई तत्काल राहत उपलब्ध गराउनुपर्ने र भत्किएका संरचना छिटोभन्दा छिटो पुनर्निर्माण गर्नुपर्ने बताए ।

‘हामीले विपतका घटनापछि मात्र होइन, विपत् कसरी न्यूनीकरण र व्यवस्थापन गर्ने भन्नेमा उत्तिकै प्राथमिकता दिनुपर्छ,’ उनले भने, ‘हाम्रो पूर्वतयारीको अवस्था निकै कमजोर छ । तसर्थ पूर्वतयारी र प्रतिकार्यमा लगानी बढाउनुपर्छ ।’

सांसद रुक्मिणी कोइरालाले उद्धार र राहत व्यवस्थापन समयमै गर्नुपर्ने तथा नाका खुलाउनुपर्नेमा जोड दिइन् । सांसद रेणु चन्दले विपत् व्यवस्थापन र पुनर्स्थापनामा ध्यान दिन सरकारलाई सुझाव दिइन् । सांसद मदनकुमारी शाहले जतिवेला मनसुनजन्य विपतकाे समस्या आउँछ, त्यतिवेलाभन्दा अग्रिम पूर्वतयारी आवश्यक रहेको बताइन् । ‘विपतपछि हामी उद्धार, राहत र पुनर्स्थापनामा त फोकस गर्छौँ, तर पूर्वतयारी कसरी गर्ने र विपतबाट हुने क्षति न्यूनीकरण गर्न सकिन्छ भन्नेमा ध्यान दिन सक्दैनौँ,’ उनले भनिन्, ‘पूर्वतयारी र पूर्वसूचनालाई प्राथमिकता दिँदै नीतिमा पुनर्विचार आवश्यक छ ।’

सांसद श्रीकृष्ण अधिकारी, नरबहादुर विष्ट, सुमित्रा विसीलगायतले विपतबाट पाठ सिक्नुपर्ने तथा पुनर्स्थापना र उद्धार समयमा गर्नुपर्नेमा जोड दिए । जल तथा मौसम विज्ञान विभागले हिमताल विस्फोटबाटै गत मंगलबार बिहान रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आएको प्रारम्भिक निष्कर्ष निकालेको छ । विभागले ‘सेन्टिनेल’ उपग्रहबाट गरेको अध्ययनले हिमताल फुटेर बाढी आएको जनाएको छ ।

विभागका बाढीविद् विनोद पराजुलीले सुप्राग्लेसियल लेक फुट्दा बाढी आएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिए । रासस

सुझावित समाचार