मुख्य प्रशिक्षक वाइल्ड एन्फासँग असन्तुष्ट

बुधबार, २५ असार, २०८२
डिजिटल संस्करण
मुख्य प्रशिक्षक वाइल्ड एन्फासँग असन्तुष्ट

उज्वेकिस्तानमा गत साता लाओसविरुद्धको खेलअघि खेलाडीसँग छलफल गर्दै प्रशिक्षक प्याट्रिक डी वाइल्ड । फाइल तस्बिर

नेपाली महिला फुटबल टोली उज्वेकिस्तानबाट सोमबार स्वदेश फर्कँदा मुख्य प्रशिक्षक प्याट्रिक डी वाइल्ड भने फर्किएनन् । एसियन कप छनोटअन्तर्गत समूह ‘एफ’मा उज्वेकिस्तानसँग टाइब्रेकरमा पराजित हुँदा अर्को वर्ष अस्ट्रेलियाले आयोजना गर्ने एसिया कपमा नेपालले स्थान बनाउन सकेन । फिफा वरीयतामा आफूभन्दा माथिको उज्वेकिस्तानविरुद्ध उत्कृष्ट प्रदर्शन गरी नेपाली टोली सोमबार बिहान स्वदेश फर्किएको हो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खेलाडी र अफिसियल सबै फर्के पनि मुख्य प्रशिक्षक वाइल्ड भने देखिएनन् । छनोटमा असफल भएपछि टोलीभित्रको विवाद र कप्तान चयनको विषयप्रति असन्तुष्ट देखिएका वाइल्ड उज्वेकिस्तानबाट बेल्जियम हानिए । अखिल नेपाल फुटबल संघ (एन्फा)ले उनी व्यक्तिगत कारण घर फर्किएको जनाएको छ । एन्फा महासचिव किरण राईले प्रशिक्षक वाइल्ड केही समयका लागि घर गएको र उज्वेकिस्तानसँगको खेलपछि कुनै कुरा हुन नपाएको बताएका छन् । 

‘अहिले प्रशिक्षक घर गएका छन् । छनोट प्रतियोगितापछि उहाँसँग केही कुरा भएको छैन,’ राईले भने । एन्फा र वाइल्डबिच एक वर्षको सम्झौता छ । ‘प्रशिक्षक नेपाल आएपछि सबै विषयमा कुराकानी हुन्छ,’ उनले भने । नेपाली टोलीकी कप्तान सावित्रा भण्डारीले समेत विवादका विषयलाई लामो समयसम्म तान्न नहुने बताएकी थिइन् । ‘कप्तान चयन वा अन्य सामान्य विषयलाई विवादित बनाउनुहुँदैन,’ सावित्राले भनेकी थिइन् । 

यसअघि नेपाली टोली सम्हालेका मुख्य प्रशिक्षक विदेशमा प्रतियोगिता सकेपछि उतैबाट घर फर्किने उदाहरण छन् । यसअघिका मुख्य प्रशिक्षक घर फर्किंदा त्यति विवाद नआउने र खासै चासो हुँदैनथ्यो । तर, यसपटक वाइल्ड टोलीसँगै नआउँदा एन्फा र उनीबिचको सम्बन्ध राम्रो नभएको देखिन्छ । उज्वेकिस्तानमै रहँदा कप्तान चयनको विषयलाई लिएर प्रशिक्षक र व्यवस्थापनबिच नै विवाद भएको थियो । प्रशिक्षक वाइल्डले एन्फा नेतृत्वलाई पत्र लेख्दै आफ्नो विषयमा जानकारी गराइसकेका छन् ।

‘प्रशिक्षकको असन्तुष्टिबारे गम्भीर बन्नुपर्छ : उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले महिला फुटबल टोलीका मुख्य प्रशिक्षकको असन्तुष्टिबारे गम्भीर बन्न आग्रह गरेका छन् । सिंहले प्रशिक्षकले असन्तुष्टि जनाएको बारेमा ध्यान दिन जरुरी रहेको बताए । ‘प्रशिक्षणका लागि आएका अन्तर्राष्ट्रिय प्रशिक्षकहरूले असन्तुष्टि जनाउनुले खेलमा असर पर्छ,’ चौथो बागमती प्रदेशस्तरीय खुला लिग तेक्वान्दो प्रतियोगिताको उद्घाटन गर्दै सिंहले भने ।

सुझावित समाचार