२०औँ एसियन खेलकुद प्रतियोगिता २०२६ : मन्त्रालयले पठाएको खेल एसियाडमा दर्ता भएन

बिहिबार, १९ असार, २०८२
डिजिटल संस्करण

युवा तथा खेलकुद मन्त्रालयले २०औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड)का लागि पठाएको ३१ वटा खेलको सूची आयोजक जापानले दर्ता गर्न अस्वीकार गरेको छ । खेलकुद मन्त्रालयले सोमबार परराष्ट्र मन्त्रालय र नेपालस्थित जापानिज दूवातासको माध्यमबाट आयोजक जापान ओलम्पिक कमिटीलाई ३१ खेलको सूची पठाएको थियो । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले पनि ३० खेलको सूची आयोजकलाई पठाएको थियो । 

प्रतियोगितामा सहभागिता जनाउन नेपालका दुई फरक निकायले खेल संख्या र सूची एसियाडमा पठाएका हुन् । जापानले आधिकारिक रूपमा एनओसीबाट खेलको सूची दर्ता गर्नुपर्ने नियम रहेको र सोहीअनुरूप आउन जवाफ भनेको छ । ‘एसियाडमा सहभागिता जनाउन ओलम्पिक कमिटीमार्फत खेल दर्ता गराउनुपर्छ । अन्य माध्यमबाट आएका खेलको सूची दर्ता हुँदैन,’ युवा तथा खेलकुद मन्त्रालयलाई आयोजकले पठाएको इमेलमा भनिएको छ, ‘एनओसीबाट आएको खेलको सूची मात्र आधिकारिक मानिनेछ । यसबाहेकका संस्थाले पठाएको सूची आधिकारिक मानिनेछैन ।’ 

आयोजकले एनओसीले पठाएको ३० खेलको दर्ता नियमअनुसारै दर्ता भइसकेको जनाएको छ । ‘एनओसीबाट आएको खेलको सूची समावेश गरेका छौँ,’ इमेलमा भनिएको छ । एनओसीले आयोजकलाई पठाएको सूचीमा तेक्वान्दो, फुटबल, जिम्न्यास्टिक, इक्वेस्ट्रिन, फेन्सिङ, सुटिङ, ट्रायथलन, ह्यान्डबल र रोबिङ खेल समावेश थिएन । मन्त्रालयले पठाएको सूचीमा आर्चरी, ब्रेकिन एन्ड डान्स स्पोर्टस्, बेसबल तथा सफ्टबल, र्याफ्टिङ तथा क्यानोइङ, कुरास, मोडर्न पेन्टाथलन, स्केटबोर्ड तथा स्केटिङ र स्पोर्ट क्लाइम्बिङ थिएन । 

एनओसीमार्फत आउन आग्रह
अर्को वर्ष जापानका दुई सहर आइची र नागोयामा एसियाड हुँदै छ । प्रतियोगितामा जापानले ४३ खेल समावेश गरेको छ । आइची–नागोया एसियाडका डेपुटी डाइरेक्टर जनरल तोरु कावायासीले प्रतियोगितामा सहभागी हुन अनिवार्य रूपमा ओलम्पिक कमिटीमार्फत नाम दर्ता गराउन आग्रह गरेका छन् । ‘हामी यो सल्लाह दिन्छौँ कि एसियाडमा सहभागिता जनाउन ओलम्पिक कमिटीमार्फत आउनुस् । यसबाहेकबाट आएको सूची दर्ता हुनेछैन,’ डेपुटी डाइरेक्टर जनरल कावायासीले एनओसीलाई लेखेको इमेलमा भनिएको छ, ‘यसबारे तपाईं संघहरूलाई एनओसीले दर्ता प्रक्रियाबारे जानकारी दिइसकेको छ ।’ 

आइओसी र ओसिएको एउटै नियम
अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आइओसी) र ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए)ले पनि दर्ता प्रक्रियाको आधार एनओसीलाई नै दिएको कावायासीले जनाएका छन् । ‘आइओसी वा ओसिएले एनओसीबाट आएका खेल सूचीलाई मात्र मान्यता दिन्छ । अरूले मान्यता पाउनेछैन,’ उनले भने, ‘आइओसी र ओसिएले प्रतियोगितामा सहभागिता जनाउन एउटै नियम बनाएका छन् ।’

अन्तर्राष्ट्रिय अभ्यासअनुसारै मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद (राखेप)लाई एनओसीले खेल दर्ताका लागि दुईपटक पत्र पठाएको थियो । तर, दुवै निकायले एनओसीले पठाएको पत्रको जवाफ दिएका छैनन् । एसियाडको आयोजकले एनओसीले दर्ता गराएको ३० खेल दर्ता भएको अध्यक्ष जीवनराम श्रेष्ठले बताए । ‘मन्त्रालय र राखेपलाई एनओसीमार्फत आउन भनेको छ,’ उनले भने । एनओसीले १६ असारसम्म खेल दर्ता गर्नुपर्ने मिति रहेका कारण ३० खेलको जवाफ पठाएको उनको भनाइ छ ।

खेलकुदमन्त्रीले एनओसीसँग कुनै पनि सहकार्य नहुने अडान राख्दै आफ्नोतर्फबाट ३१ खेल दर्ता गराएको दाबी गरेका छन् । अन्तर्राष्ट्रिय प्रावधानअनुसार ओलम्पिकको छातामुनि हुने प्रतियोगितामा कुनै पनि देशको सहभागिता गराउने अधिकार एनओसीसँग मात्र रहने प्रावधान छ । ‘आयोजक कमिटीले सम्बन्धित देशको ओलम्पिक कमिटीबाहेक अरू कसैले गरेको अनुरोध वा दर्ता स्वीकार नगर्ने प्रस्ट छ,’ कावायासीले भने, ‘थप जिज्ञासा भए मलाई वा ओसिएको ठेगानामा सम्पर्क गर्नुहुन अनुरोध गर्छु ।’

सुझावित समाचार