मर्मतका क्रममा करेन्ट प्रवाह भएको तार खसेर लाग्दा एकै परिवारका तीन घाइते

मंगलबार, १७ असार, २०८२
डिजिटल संस्करण

हेटौँडामा मर्मतका क्रममा करेन्ट प्रवाह भएको तार खसेर लाग्दा सडकमा हिँडिरहेका तीनजना घाइते भएका छन् । हेटौँडा उपमहानगरपालिका–७, शान्तिटोल नागसोतीमा करेन्ट लागेर एकै परिवारका तीनजना घाइते भएका हुन् ।

घाइते हुनेहरूमा हेटौँडा–७ का ४६ वर्षीय सञ्जयकुमार पुडासैनी, उनकी श्रीमती ४४ वर्षीया लक्ष्मी पुडासैनी र नातिनी एक वर्षीया श्रीयाना पुडासैनी रहेका छन् ।

सोमबार साँझ करिब ५ः४५ बजेतिर विद्युत् प्राविधिकले पोलमा काम गरिरहेको वेला अचानक तार भुइँमा खस्दा उक्त सडक हुँदै हिँडिरहेका तीनजना करेन्ट लागी घाइते भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार घाइते सञ्जयकुमारको दुवै खुट्टा जलेर अवस्था गम्भीर छ । उनी बोल्न नसक्ने अवस्थामा रहेका छन् । यस्तै, लक्ष्मी पुडासैनीको दुबै खुट्टा र हात जलेको छ । उनको अवस्था मध्यम भए पनि नातिनी श्रीयानाको दुवै खुट्टा र हातमा गम्भीर जलन देखिएको छ ।

घाइतेहरूलाई सुरुमा हेटौँडा अस्पतालमा उपचारका लागि पुर्याइएकोमा प्राथमिक उपचारपछि भरतपुरस्थित नयाँ मेडिकल कलेजमा रिफर गरिएको र उपचार भैरहेको प्रवक्ता अर्यालले बताए।

सुझावित समाचार