- नेपाल, भारत, बंगलादेश, भुटान, पाकिस्तान र माल्दिभ्सले आ–आफ्ना खेल गुमाउँदा श्रीलंकाले भने चाइनिज ताइपेईलाई हरायो
दुई वर्षपछि १९औँ एएफसी एसियन कप फुटबल प्रतियोगिता हुँदै छ । एसियन फुटबल महासंघ (एएफसी)ले प्रतियोगितामा सहभागी हुने राष्ट्रहरूबिच छनोट प्रतियोगिता सञ्चालन गरिरहेको छ । अहिले एसियन कपको छनोटअन्तर्गत तेस्रो चरणको खेल भइरहेको छ । तेस्रो चरणको खेल सुरु हुँदा दक्षिण एसियाली राष्ट्रले उत्कृष्ट नतिजा निकाल्न सकेनन् ।
प्रतियोगिताको मंगलबार तेस्रो चरणका खेल हुँदा श्रीलंकाबाहेक अन्य सबै राष्ट्रले खराब हारको सामना गर्यो । दक्षिण एसियाका ६ राष्ट्र आ–आफ्नो खेलमा पराजित भए । एक किसिमले तेस्रो चरण खेल भएको दिन दक्षिण एसियाका लागि खराब रह्यो ।
श्रीलंकाले समूह ‘डी’मा बलियो मानिएको चाइनिज ताइपेईमाथि ३–१ को सानदार जित निकालेको थियो । श्रीलंकाले मात्र स्पष्ट तीन अंक बटुल्यो । जितका साथ श्रीलंका तीन अंकका साथ तेस्रो स्थानमा रह्यो । समूह ‘एफ’मा नेपाल इतिहासमै पहिलोपटक लाओससँग २–१ ले पराजित भयो । एसियन कपको छनोटमा नेपालले तेस्रो चरणमा आफ्नो दुवै खेल गुमाएको छ । नेपाल पहिलो खेलमा मलेसियासँग २–० ले हारेको थियो ।
यसैगरी, समूह ‘सी’मा हङकङले भारतलाई १–० ले स्तब्ध पारेको छ । दुई खेलमा एक अंक जोडेको भारत चौथो स्थानमा छ । यही समूहमा बंगलादेशले पनि हार सामना गर्यो । समूहकै बलियो मानिएको सिंगापुरले बंगलादेशलाई २–१ ले हरायो । बंगलादेशले एक अंक मात्र जोडेको छ । सिंगापुर चार अंकका साथ शीर्ष स्थानमा छ । हङकङ गोलअन्तरमा दोस्रो स्थानमा रह्यो । समूह ‘इ’मा पाकिस्तानले पनि जित निकाल्न सकेन । सिरियाले पाकिस्तानलाई २–० ले पाखा लगायो ।
पाकिस्तानले तेस्रो चरणमा दुवै खेल गुमाएको छ । यस समूहमा अफगानिस्तान र पाकिस्तानले अंक जोडेका छैनन् । सिरिया र म्यानमारले समान ६ अंक बटुलेका छन् । गोलअन्तरमा सिरिया शीर्ष स्थानमा छ । समूह ‘ए’मा अप्रत्याशित रूपमा माल्दिभ्स इस्ट टिमोरसँग १–० ले पराजित भयो । माल्दिभ्सले पनि दुवै खेल गुमाएको छ । यसैगरी, भुटान ब्रुनाईसँग २–१ ले हार्यो । भुटानले आफ्नो समूहमा एक अंक जोडेको छ ।