अशोकको शतकसँगै द माइटीको जित

बुधबार, २९ जेठ, २०८२
डिजिटल संस्करण

सिन्धुपाल्चोक जिल्लास्तरीय पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगितामा अशोक पौडेलको शतक प्रेरित द माइटी साँगाचोक क्लबले जित निकालेको छ। बुधबार माइटीले पाँचपोखरी हिमालयन क्रिकेट क्लबलाई ४३ रनले हरायो। दिनको अर्काे खेलमा वर्षा बाधक बन्दा पाँचपोखरी क्रिकेट क्लब र साँगाचोक युथ क्लबबिचको खेल रद्द भएको छ।  

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको माइटीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७६ रनको लक्ष्य प्रस्तुत गरेको थियो। प्रत्युत्तरमा पाँचपोखरी हिमालयनले निर्धारित २० ओभरमा १० विकेट गुमाउँदा मात्र १३२ रन बनाएको हो। 

पाँचपोखरी हिमालयनको लागि सुमन सुनारले २८, राजु लामाले अविजित २६, कर्मा तामाङले २३ रनको योगदान गरेका थिए। माइटीका लागि उद्धव तिमल्सिनाले तीन तथा सविन गिरीले दुई विकेट हात पारे। 

यसअघि द माइटीको लागि ओपनर अशोकले शतकीय इनिङ्स खेलेका थिए। उनले ६५ बलमा १६ चौका र १ छक्कासहित १०१ रन बनाएका हुन्। प्रतियोगिताको यो पहिलो शतक हो। प्रतीक श्रेष्ठले ३७ रनको योगदान गरेका थिए। एकनाथ नेपालले १४ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।  

पाँचपोखरी हिमालयनको लागि दावा लामाले सर्वाधिक तीन विकेट हात पारेका थिए।  

पाँचपोखरी थाङपाल गाउँपालिका र सिन्धुपाल्चोक क्रिकेट संघको आयोजना भएको प्रतियोगिताको सातौँ संस्करणमा सात टोलीको सहभागिता छ। प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। 

सर्वोत्कृष्ट खेलाडीलाई ग्रेट हिमालय क्रिकेट एकेडेमीबाट ६ महिना निःशुल्क प्रशिक्षणको व्यवस्था गरिएको छ। यस्तै, उत्कृष्ट बलर र ब्याटरले तीन महिना निःशुल्क प्रशिक्षण पाउनेछन्। यसैगरी, आयोजकले छनोट गरेका उत्कृष्ट तीन खेलाडीलाई एन्जल्स स्पोर्टस् एकेडेमीले तीन महिना प्रशिक्षण दिने भएको छ। 

प्रतियोगिताको सुरुवाती तीन संस्करण पाँचपोखरी थाङपाल गाउँपालिका तथा पछिल्ला तीन संस्करण मूलपानी क्रिकेट मैदानमा भएको थियो।
 

सुझावित समाचार