सप्तकोशीमा डल्फिनको संख्यामा वृद्धि

बिहिबार, २३ जेठ, २०८२
डिजिटल संस्करण

कोशी टप्पु वन्यजन्तु आरक्षले सप्तकोशीमा डल्फिनको संख्यामा वृद्धि भएको जनाएको छ। आज वातावरण दिवसको अवसरमा आयोजित एक कार्यक्रममा आरक्षले चार दिनसम्म गरिएको गणनाको परिणाम सार्वजनिक गरेको छ । यस वर्षको गणनामा अघिल्लो वर्षको तुलनामा तीनवटा डल्फिनको संख्या बढेको पाइएको हो ।

आरक्षका वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादवका अनुसार हालको गणनामा १५ वयस्क, पाँच अर्धवयस्क र दुई बच्चा डल्फिन गरी जम्मा २२ वटा डल्फिन रेकर्ड गरिएको छ । उनले भने, ‘यो तथ्यांक सप्तकोशीका लागि सकारात्मक र परिवर्तनको एक संकेत हो, यसलाई संरक्षण र प्रचार गर्न आवश्यक छ ।’

यसअघि कोशी टप्पु वन्यजन्तु आरक्षले प्रत्येक वर्ष नियमित रूपमा डल्फिनको गणना गरेर संरक्षणका लागि आवश्यक कदम उठाउँदै आएको छ । यहाँ गंगेटिक प्रजातिको डल्फिन पाइन्छ । जुन दुर्लभ मानिन्छ । संरक्षण अधिकृत यादवले भने, ‘डल्फिन सफा र गहिरो पानीमा बाँच्न मन पराउँछ, जसले यहाँको जल स्वस्थ र गुणस्तर रहेको सन्देश पनि दिएको छ ।’

 गणनामा राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशी संरक्षण केन्द्र, श्री भीमकाली गुल्म तथा हिमाली प्रकृति संस्थालगायतले प्राविधिक सहयोग प्रदान गरेका थिए । सन् २०१२ मा ११ र २०१७ मा १७ वटा डल्फिन देखिएका थिए । त्यसपछि आरक्षले डल्फिनको संरक्षणमा प्राथमिकता दिएको थियो । त्यसपछि वार्षिक गणनाको अभ्यास थालिएको आरक्षले जनाएको छ । 

कोशी टप्पु वन्यजन्तु आरक्षले २०२२ मा १७ डल्फिन तथा २०२३ र २०२४ मा समान रूपमा १९ डल्फिनको गणना गरेको थियो । आरक्षले डल्फिनकोे संरक्षण र यसको प्राकृतिक आवासको रक्षा गर्न निरन्तर प्रयास गर्ने जानकारी दिएको छ ।

See More On

सुझावित समाचार