विषादीको मात्रा अत्यधिक पाइएपछि २,२६० किलो आँप जफत

विषादीको अवशेष ३५ भन्दा कम हुनुपर्नेमा ६२ भन्दा बढी पाइएपछि धनगढी उपमहानगरपालिकाद्वारा नष्ट

सोमबार, २० जेठ, २०८२
डिजिटल संस्करण

बजारमा बिक्री भइरहेको आँपमा विषादीको मात्रा अत्यधिक रहेको पाइएपछि धनगढी उपमहानगरपालिकाले दुई हजार दुई सय ६० किलो आँप जफत गरेर खाल्डोमा गाडेको छ । धनगढी सहिद गेटस्थित कृषि थोकबजारमा रहेको जयश्री माँ जानकी स्टोरमा राखिएको आँपको परीक्षण गर्दा अत्यधिक विषादी पाइएको उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरको उपभोक्ता हित संरक्षण शाखा प्रमुख महेश मल्लले विषादीको अवशेष ३५ अंकभन्दा कम हुनुपर्नेमा ६२ भन्दा बढी देखिएको बताए । ती आँप भारतबाट आयात गरिएको खुलेको उनले जानकारी दिए । यसरी अत्यधिक विषादी प्रयोग गरिएको वस्तुले स्वास्थ्यलाई गम्भीर असर गर्ने उनले बताए ।

बजार अनुगमनका क्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी र विषादी अवशेष द्रुत परीक्षण कार्यालय अत्तरियाको सहयोगमा विषादीको मात्रा परीक्षण गरिएको उपमहानगरले जनाएको छ । कृषि थोकबजारबाट भिन्डी, काँक्रो, टमाटर, केरा, अंगुर, स्याउको नमुना लिएर परीक्षण गर्दा ती वस्तुमा भने विषादीको मात्रा सामान्य पाइएको उपभोक्ता हित संरक्षण शाखा प्रमुख मल्लले बताए ।

सुझावित समाचार