एसिसी पुरुष यू–१६ इस्ट जोन कप–२०२५ को छनोटका लागि सञ्चालन हुने राष्ट्रिय प्रतियोगितामा सहभागी हुने सुदूरपश्चिम प्रदेशले टोली घोषणा गरेको छ । प्रादेशिक क्रिकेट संघले सचिन भट्टको कप्तानीमा आइतबार १४ सदस्यीय टोली घोषणा गरेको हो । टोलीको उपकप्तानमा अविरल विक रहेका छन् ।
खेलाडीमा भास्कर जोशी, हिमाल दौल्याल, रविन भण्डारी, आहन थलाल, रवि दमाईं, विक्रम बोहरा, लोकेश चन्द, सुबोध तिवारी, राहुल साउद, सुशील रावल, रितेश विष्ट र आयुष चन्द रहेको संघका सचिव लक्ष्मणदत्त भट्टले जानकारी दिए ।
वैशाखको अन्तिम साता बैतडीमा भएको प्रदेशस्तरीय छनोटमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी टोलीमा समावेश गरिएको भट्टले बताए । छनोट प्रतियोगितामा प्रदेशका आठ जिल्लाका खेलाडी सहभागी थिए । यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता कर्णाली प्रदेशको सुर्खेतमा १९ जेठबाट सुरु हुँदै छ ।
यसैबिच खेलाडी छनोटलाई लिएर डडेलधुरा जिल्ला क्रिकेट संघले आपत्ति जनाएको छ । संघका अध्यक्ष हरिप्रसाद उप्रेतीले खेलाडी छनोटमा आर्थिक चलखेल भएको आरोप लगाएका छन् । उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी टिममा पर्न नसकेको उनको दाबी छ ।