साना विषयलाई मसला बनाएर संसद् अवराेध गर्न हुँदैन : महेश बर्तौला

शुक्रबार, १७ जेठ, २०८२
डिजिटल संस्करण
साना विषयलाई मसला बनाएर संसद् अवराेध गर्न हुँदैन : महेश बर्तौला

फाइल तस्बिर

सत्तारूढ दल नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले साना–साना विषयलाई मसला बनाएर संसद् अवरोध गर्न नहुने बताएका छन्।

शुक्रबार सभामुखले बोलाएको सचेतकहरूको बैठकपछि प्रतिक्रिया दिँदै बर्तौलाले संसदीय प्रणालीको सुदृढीकरणबारे दलहरूले सोच्नुपर्ने बताए।

बैठकमा संसद्को क्यालेन्डरबारे छलफल भएको जानकारी दिँदै उनले बजेट पारित गर्नेसम्मका कार्यतालिका बनाएको बताए।

बर्तौलाले भने, ‘हामीले उहाँहरूलाई आग्रह गर्याैँ– विशेष गरी संसद्को आगामी बैठकहरू सहज ढंगले लैजाने कुरामा तपाईंहरूको सहयोगी भूमिका हुनुपर्छ, हरेकपटक हाउस बन्द गर्नका लागि सानासाना विषयहरूलाई पनि मसला बनाउनु राम्रो हुँदैन, त्यसले संसदीय प्रणालीको सुदृढीकरणमा निकै ठुलो चुनौती सिर्जना गर्छ। तपाईंहरूले यो पाटोमा गम्भीरताका साथ सोच्नुपर्छ भन्यौँ।’

संसद् सहज रूपमा अघि बढाउन प्रतिपक्षी दलका सचेतकहरू सकारात्मक रहेको उल्लेख गर्दै उनले भने, ‘बैठकमा चाहिँ धेरै नकारात्मक उहाँहरूको प्रस्तुति थिएन। यहाँ (बाहिर) आएर त अलि कडै कुरा गर्नुपर्ने उहाँहरूको पनि बाध्यता होला।’
 

सुझावित समाचार