३१औँपटक सगरमाथा आरोहण गरेर कामिरिताले तोडे आफ्नै कीर्तिमान

बुधबार, १५ जेठ, २०८२
डिजिटल संस्करण

कामिरिता शेर्पाले सर्वाेच्च शिखर सगरमाथाको ३१औँपटक आरोहण गरेका छन् । मंगलबार बिहान ४ बजे सगरमाथामा पुगेर शेर्पाले गत वर्षको आफ्नै कीर्तिमान तोडेका हुन् । कामिरिताआबद्ध कम्पनी सेभेन समिटका अध्यक्ष मिङ्मा शेर्पाका अनुसार २२ जना भारतीय सैनिक र २८ जना गाइडको टोलीमा संलग्न भएर उनको टोली सगरमाथा पुगेको थियो । भारतीय सैनिक मनोज जोशीको नेतृत्वमा रहेको सेनाको एड्भेन्चर विंग एभरेस्ट अभियानका लागि कामिरिता शेर्पा प्रमुख गाइडका रूपमा थिए । 

गत वर्ष ९ जेठमा शेर्पाले ३०औँपटक सगरमाथा आरोहण गरेर नयाँ कीर्तिमानी कायम गरेका थिए । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेका ५५ वर्षीय कामिरिता कुशल पर्वतारोही पथप्रदर्शक हुन् । सन् १९९४ मे १३ मा पहिलोपटक सगरमाथाको चुचुरोमा पुगेका कामिरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ । सगरमाथा आरोहणको ७२ वर्षे इतिहासमा सर्वाधिक आरोहण गर्ने एक मात्र कीर्तिमानी आरोही कामिरिता शेर्पा हुन् । 

सेभेन समिटले सामाजिक सञ्जालमा उनलाई बधाई दिँदै भनेको छ, ‘कामिरिता शेर्पा कुनै परिचयको खाँचो नभएको नाम हो । उहाँ केवल नेपालको मात्र होइन, सम्पूर्ण विश्वका लागि सगरमाथाको प्रतीक हुनुहुन्छ ।’

विभिन्न कारणले गर्दा अधिकारीहरूले पर्वतारोहीका लागि हिमाल बन्द गरेको तीन वर्षबाहेक हरेक वर्ष उनले हिमाल आरोहण गर्दै आएका छन् । सन् १९५३ मा न्युजिल्यान्डका एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले पहिलोपटक सगरमाथा आरोहण गरेदेखि अहिलेसम्म आठ हजारभन्दा बढी आरोहीले चुचुरो चुमिसकेका छन् ।
कामिरितापछि अर्काे दोस्रोमा पासाङ दावाले २९ पटक आरोहण गरेर सबैभन्दा धेरै सगरमाथा आरोहण गरेका छन् । गैरशेर्पा पर्वतारोहीमा यो रेकर्ड ब्रिटिस गाइड केन्टन कुलको नाममा छ । उनले १९ पटक आरोहण गरेका छन् । त्यसपछि अमेरिकी पर्वतारोही डेभ हान र ग्यारेट म्याडिसनले १५–१५ पटक आरोहण गरेका छन् ।

विश्वका १४ अग्ला चुचुरामध्ये नेपालमा आठवटा छन् । आरोहण, पदयात्रा र पर्यटनका निम्ति नेपाल विदेशी मुद्राका लागि भरपर्दाे स्रोत हो । मार्चदेखि मेसम्म चल्ने आरोहण सिजनमा सगरमाथा आरोहणका लागि हालसम्म सरकारी अधिकारीहरूले चार सय ६८ आरोहीलाई अनुमतिपत्र जारी गरेका छन् । तीन सयभन्दा बढी पर्वतारोही र शेर्पाहरूले पहिले नै शिखर चढिसकेका छन् ।

सुझावित समाचार