अमेरिकाको मेरिल्यान्डमा प्रत्येक वर्ष आयोजना हुँदै आएको नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रदर्शन हुने चलचित्रहरूको सूची सार्वजनिक गरिएको छ।
गत वर्ष बर्लिन फिल्म फेस्टिभलको मुख्य प्रतिस्पर्धा रहेको मीनबहादुर भामद्वारा निर्देशित ‘शाम्बाला’, गत वर्षकै भेनिस फिल्म फेस्टिभलमा प्रिमियर भएको दीपक रौनियार निर्देशित ‘पूजा सर (राजागन्ज)’ र अमेरिकाको नेपाली डायस्पोरामा बनेको विनोद पौडेलद्वारा निर्देशित ‘भुठान–द वर्ल्ड हापिएस्ट म्यान’लगायतका चलचित्र महोत्सवमा प्रदर्शन हुनेछन्।
जुन २६ देखि २९ सम्म हुने महोत्सवमा नेपाल, अमेरिका, इरान, मेक्सिको, साउदी अरबलगायत १५ देशका फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र र एनिमेसन गरी ३१ चलचित्रहरू प्रदर्शन हुनेछन्। महोत्सवको उद्घाटन र समापन मेरिल्यान्डस्थित एएफआई सिल्भर थिएटरमा हुनेछ। चार दिनसम्म चल्ने महोत्सवका चलिचत्रहरू भने एएफआई सिल्भर थिएटरका साथै ग्रिनबेल्ट सिनेमा थिएटरमा समेत प्रदर्शन हुनेछ। महोत्सवमा प्रदर्शनका लागि आवेदन परेकामध्येबाट अमेरिका, नेपाल र दक्षिण अफ्रिकाका फिल्मकर्मीहरूको छनोट समितिले चलचित्रहरू छनाेट गरेको हो।
चलचित्र ‘शाम्बाला’को प्रदर्शनबाट एएफआई सिल्भर थियटर जुन २६ मा महोत्सवको उद्घाटन हुनेछ। महोत्सवको समापन ‘पूजा सर (राजागन्ज)’को प्रदर्शनसँगै जुन २९ मा सोही स्थानमा हुनेछ। चलचित्र ‘भुठान–द वर्ल्ड हापिएस्ट म्यान’को पनि रेड कार्पेटसहित निर्देशक, कलाकार, निर्माता तथा निर्माण टोलीका सदस्यहरूको विशेष प्रदर्शन हुनेछ।
ग्लोबल पिस फिल्म फेस्टिभल फ्लोरिडासँगको सहकार्यमा यो वर्ष अमेरिकी निर्देशक स्यामुएल जर्जको ‘लिथियम राइजिङ– द रेस फोर क्रिटिकल मिनरल’ र निर्देशक ओल्ह बर्लान्दिनोको ‘द वार ट्रायल’ गरी दुई चलचित्र प्रदर्शन हुनेछन्। सुबिना श्रेष्ठ निर्देशित अन्तर्राष्ट्रिय महोत्सवहरूमा प्रसंशा भएको वृत्तचित्र ‘देवी’ र अन्तर्राष्ट्रिय चर्चित निर्देशक फराह कस्सेम निर्देशित वृत्तचित्र ‘वि आर इनसाइड’ पनि महोत्सवमा प्रदर्शन हुनेछन्। प्रिन्स जर्ज काउन्टीका स्थानीय निर्देशक चका बलामानीको चलचित्र ‘अ क्रिस्टमस बोनस’लगायतका चलचित्रहरू डिएमभी–क्लोजअपअन्तर्गत प्रदर्शन हुनेछन्।
प्रदर्शन गरिएकामध्येबाट उत्कृष्ट चलचित्रहरूलाई विभिन्न अवार्डबाट पुरस्कृत गरिनेछ। पुरस्कार छनाेटका लागि निर्णायकमण्डलको नाम भने केही दिनमा सार्वजनिक गरिने आयोजकले जनाएको छ। महोत्सव अवधिमा चलचित्र र संस्कृति, प्यानल छलफलका साथै चलचित्र निर्माणबारे ‘मास्टर क्लास’ पनि हुनेछ। मेरिल्यान्ड राज्यको पार्क्स तथा योजना आयोगको सहयोगमा उक्त छलफल हुने जनाइएको छ।